
काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ। जिल्लाका मुख्य तथा सहायक नाकाबाट भारत–नेपाल आवतजावत हुने तस्करीलाई दुवै सुरक्षा निकायका घुमुवा प्रहरीमार्फत ‘लाइन मिलाएर’ सञ्चालन गरिँदै आएको स्थानीयको दाबी छ।
सीमावर्ती इलाका तथा पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने प्रत्येक इलाका प्रहरी कार्यालय (इप्रका) र प्रहरी चौकीले असुलीका लागि घुमुवा टोली नै परिचालन गरेको आरोप छ। कानूनतः घुमुवा प्रहरी परिचालन गर्न नपाइने व्यवस्था भए पनि झापामा भने सूचना संकलनको नाममा सशस्त्र र नेपाल प्रहरीले घुमुवा खटाई खुलेआम असुली गर्दै आएको जनाइएको छ।
आरोप अनुसार सशस्त्र प्रहरीका घुमुवाले पोके तस्करीदेखि ठूला कारोबारीसम्मबाट रकम असुल्ने गरेका छन् भने नेपाल प्रहरीका घुमुवाले डान्सबार, होटल, पोके तस्कर, गिटी–बालुवा, काठ तस्करी तथा विभिन्न अवैध धन्दाबाट नियमित असुली गर्दै आएका छन्।
भद्रपुर, काँकरभिट्टा, धुलाबारी, चारआली, बिर्तामोड, सुरुङ्गा, दमक लगायतका इलाकामा खटिएका घुमुवा प्रहरी र सशस्त्र प्रहरी बल नं. २ गण, सीमा सुरक्षा बल काँकरभिट्टा, भद्रपुर, जोरसीमल, नकलबन्दा र शनिश्चरेअन्तर्गतका बिओपीबाट समेत असुली आतंक मच्चाइएको आरोप छ। अचम्मको कुरा, सीमा सुरक्षामा खटिनुपर्ने सशस्त्रका गण, क्याम्प र प्रायः सबै बिओपीमा घुमुवा राखिएको बताइन्छ।
सशस्त्र प्रहरी नं. २ गणले असई लोकबहादुर पोखरेललाई घुमुवा खटाएको र उनी ‘कोड मास्टर’को भूमिकामा रहेको आरोप छ। त्यस्तै प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट वरिष्ठ हवल्दार केशव गुरुङ र हवल्दार इन्द्र खड्कालाई नाका केन्द्रित घुमुवा खटाइएको बताइन्छ।
नेपाल प्रहरीतर्फ इलाका प्रहरी कार्यालय काँकरभिट्टामा सहायक हवल्दारद्वय रमेश लुइँटेल र सुमन खत्री, धुलाबारीमा जवान शम्भु ठाकुर र सहायक हवल्दार पुष्प बाँस्कोटा, चारआली चौकीमा सहायक हवल्दार पविन्द्र तुम्बाहाम्फे, वडा प्रहरी कार्यालय भद्रपुरमा निर्मल श्रेष्ठ, इप्रका बिर्तामोडमा सहायक हवल्दारद्वय डम्बर दाहाल र भीम अधिकारी, इप्रका दमकमा सहायक हवल्दार टीका दाहाल र हवल्दार युवराज श्रेष्ठ घुमुवाको रूपमा परिचालित रहेको आरोप छ।
यस्तै, सुरुङ्गामा सहायक हवल्दार सन्तोष महतो, झिलझिलेमा सहायक हवल्दार मनीष लिम्बु, गौरीगञ्जमा हवल्दारद्वय डिकबहादुर कार्की र शंकर यादव तथा जिल्लास्तरमा सहायक हवल्दार मोती थेवे, वरिष्ठ हवल्दार सन्तोष राई, सहायक हवल्दार उत्तम कटुवाल र जवान राज फागो घुमुवा रहेको बताइन्छ।
हाल काँकरभिट्टा र भद्रपुर क्षेत्रमा दिन–रात तस्करी भइरहेको प्रत्यक्षदर्शीहरूको भनाइ छ। साइकल, मोटरसाइकल, सिटी रिक्सा र अटो प्रयोग गरी तस्करी गरिँदै आएको र मेची पुलबाट मात्र दैनिक एक ट्रकभन्दा बढी सामान अवैध रूपमा भित्रिने गरेको आरोप छ।
उषा, सीता, राजेश, सुनिता, काले, राम, उमेश, प्रदीप, श्याम, रञ्जीत, राजन, अनिता, कल्पना, भूमिका, पिन्टु, जिरे लगायतका तस्करहरूले प्रहरीसँग सेटिङमा कारोबार गर्दै आएको दाबी गरिएको छ। तस्कर तथा कारोबारीहरूले प्रत्येक इलाका, चौकी र जिल्लास्तरमा मासिक १० हजारदेखि २ लाख रुपैयाँभन्दा बढी रकम बुझाउने गरेको स्रोतको भनाइ छ।
भारतसँग सीमा जोडिएका झापाका प्रायः सबै नाकाबाट तस्करी हुने गरेको र हाल सबैभन्दा बढी तस्करी काँकरभिट्टा र भद्रपुर नाकाबाट हुने गरेको जनाइएको छ। ती नाकाबाट मोबाइल, कपडा, किराना तथा हार्डवेयर सामग्री बढी मात्रामा तस्करी भइरहेको बताइन्छ।