
रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना अस्पताल बन्न सफल भएको छ। न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनमा रंगेली अस्पतालले ८९ प्रतिशत अंक प्राप्त गरेको हो।
सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा, अस्पताल व्यवस्थापन तथा समग्र हस्पिटल सेवा सर्भिसका सूचकहरू अनुसार गरिएको मूल्यांकनमा रंगेली अस्पतालले उल्लेखनीय प्रगति गर्दै उच्च अंक हासिल गरेको हो। प्रत्येक ६–६ महिनामा हुने मूल्यांकन प्रक्रियाअन्तर्गत अघिल्लो ६ महिनाको मूल्यांकनमा अस्पतालले ८६ अंक प्राप्त गरेको थियो भने हाल ८९ अंकमा पुग्न सफल भएको हो। सहभागीहरूले आगामी दिनमा अझै सुधार हुँदै गए अंक थप वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले सबैको सामूहिक प्रयासका कारण अस्पताल नमूना र उदाहरणीय बन्न सफल भएको बताए। उनले नगरपालिकाको व्यवस्थापकीय भूमिका रहे पनि अस्पताललाई अझ व्यवस्थित र सुविधा सम्पन्न बनाउन चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे। साथै, आगामी ६ महिनामा हुने मूल्यांकनमा ९० अंकभन्दा माथि पुर्याउने लक्ष्यसहित काम गर्न अस्पताल परिवारलाई निर्देशन तथा आग्रह समेत गरे।
कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी डा. सव्यता पन्थी, अस्पताल नर्सिङ प्रशासन आस्था थापा, जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठ, एमएसएस कार्यान्वयन अधिकृत पशुपति खनाल, जनार्दन पाठक, रंगेली नगरपालिकाकी उपमेयर भुमा पराजुली, वडा अध्यक्ष रामचन्द्र मण्डल, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बसन्त साह, व्यवस्थापन समितिका अध्यक्ष देवमणि कटुवाल, सदस्यहरू पुरुषोत्तम काफ्ले र अजिम आलमलगायत अस्पतालका चिकित्सक, इन्चार्ज, कर्मचारी तथा विभिन्न वडाका वडा अध्यक्ष र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।