
विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले उक्त नाम प्रयोग नगरेको पाइएको छ। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका मेयर साम्पाङले आफ्नो लेटर प्याडमा अझै ‘प्रदेश नम्बर १’ उल्लेख गर्दै आएका छन्।
नेपालको संविधान २०७२ अनुसार प्रदेश सभामा रहेका सदस्यहरूको दुई तिहाइ मतबाट प्रदेशको नामकरण गर्न सकिने व्यवस्था छ। सोही प्रावधानअनुसार २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखिएको थियो। तर नामकरण भएको वर्षौँ बितिसक्दा पनि धरान उपमहानगरका मेयरले त्यसलाई स्वीकार नगरेको देखिएको हो।
मेयर साम्पाङ र उनको सचिवालयबाट जारी हुने सूचनाहरूमा प्रदेश नम्बर १ नै लेखिएको पाइन्छ। तर कर्मचारीतर्फबाट जारी हुने आधिकारिक सूचनामा भने कोशी प्रदेश उल्लेख गरिएको छ। उपमहानगरपालिकाको आधिकारिक वेबसाइटमा पनि प्रदेशको नाम कोशी नै प्रयोग गरिएको छ।
धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले नयाँ र पुराना दुवै किसिमका लेटर प्याड प्रयोगमा रहेको जानकारी दिए। उनका अनुसार पुराना लेटर प्याड बाँकी रहेकाले दुवै चलाइँदै आएको हो।
प्रदेशको नामकरणका क्रममा पहिचानको आधारमा नाम राख्नुपर्ने मागसहित आन्दोलनसमेत भएका थिए। सो आन्दोलनका क्रममा पदम लिम्बु लाजेहाङको मृत्यु भएको थियो भने त्यसपछि पहिचान पक्षधरहरूले विभिन्न पालिकामा राखिएका प्रदेशसम्बन्धी बोर्डहरू हटाएका थिए।