
काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक घटनाबाट आफू गहिरो पीडामा परेको बताएका छन्। सोमबार जाँचबुझ आयोगलाई दिएका बयानमा उनले भने, “युवाहरूको ज्यान गएको र धेरै घाइते भएको अवस्थाले मलाई मात्र मर्माहत बनाएको छैन, मेरो मन छियाछिया पनि भएको छ।”
लेखकले घटनापछि नैतिक जिम्मेवारीसहित तत्काल राजीनामा दिएको जानकारी पनि दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा उल्लेख गरे, “आजको दुःखद घटनाबाट पीडा भएर नैतिक आधारमा गृहमन्त्री पदबाट राजीनामा गरेको हुँ।”
उनले भदौ २४ को हिंसात्मक घटना राष्ट्र र लोकतन्त्रमाथि गरिएको पूर्वनियोजित आक्रमण भएको ठम्याएका छन्। सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र राष्ट्रपति भवन जलाइएका घटनाहरू सामान्य नेपालीले कल्पना गर्न नसक्ने प्रकारका रहेको उनले बताए। लेखकको ठम्याई अनुसार यी घटना राष्ट्र र लोकतन्त्रमाथि गरिएको नियोजित षडयन्त्र नै हो।