
विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई पार्टीको कुनै पनि जिम्मेवारीबाट निलम्बन गरेका छन्। प्रहरीले तामाङलाई बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर गर्दै पक्राउ गरेपछि पार्टीले यस्तो कदम उठाएको हो।
अध्यक्ष साम्पाङका अनुसार अनुसन्धानमा अवरोध नपरोस् भन्ने उद्देश्यले तामाङलाई निलम्बन गरिएको हो। अनुसन्धान सम्पन्न नभएसम्म तामाङ कुनै राजनीतिक गतिविधि गर्न नपाउने पनि उनले स्पष्ट पारे।
प्रहरीले तामाङमाथि २०६८ फागुन १५ मा बबरमहलस्थित आयल निगम गेटमा भएको बम विस्फोटको आरोप लगाएको छ। सो घटनामा ३ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए। तामाङ पाँचथरमा एक बालिकाको ज्यान जानेगरी भएको बम विस्फोट घटनासँग पनि जोडिएका थिए।
विगतमा पक्राउ परेर जेल चलान भएका तामाङलाई २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सरकारले आममाफी दिएको थियो।