News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • भैंसेपाटीमा अन्तर्राष्ट्रिय मूर्तिकला उद्यान !

    रवीन्द्र मिश्र
    ५६६ पटक

    ललितपुरको भैंसेपाटीमा विश्वमैं विशिष्ट पहिचान बोक्न सक्ने अन्तर्राष्ट्रिय मूर्तिकला उद्यान निर्माणका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षणको अपेक्षामा अहिले काठमाडौं ‘बिम्स्टेकमय’ भएको छ। स्तम्भ लेखनमा कूटनीति, अर्थनीति, राजनीति, शिक्षा, स्वास्थ्यजस्ता ठूलाठूला ठानिएका विषयबारे लेख्दालेख्दै कहिलेकाहीं ससाना लाग्ने तर सुन्दर विषय ओझेलमा पर्ने रहेछन्।

    स्तम्भकारका रूपमा यो मेरो व्यक्तिगत अनुभव हो। त्यसैले म बेलाबखत ठूलाबाट साना ठानिएका विषयमा फर्किने गर्छु। ती विषय कुनै वास्तविकतासँग र कुनै सपनासँग जोडिएका हुन्छन्। बिम्स्टेकले काठमाडौंमा जताततै टालटुल र छेकछाक गरिरहँदा म भने सँगै जोडिएको ललितपुरको भैंसेपाटी आवास क्षेत्रमा रहेको एक सय २३ रोपनी सफा र खुला जग्गामा वर्षौंदेखिको एउटा सपनामा सयर गरिरहेको छु। हरेक बिहान वरपरका रूखहरूमा घुरिरहेका ढुकुरहरू, चिरबिराइरहेका भँगेराहरू, कराइरहेका सारुङ र कौवाहरू, एक्लै गाइरहेका धोबीचराहरू अनि खेतबारीमा चरिरहेका परेवाहरू।

    यी सबैले सिर्जना गरेको लयात्मकताको पृष्ठभूमिमा जब सो क्षेत्रको फन्को लगाउँछु, म सधैं केही स्थानीयबासी साथीहरूसँग देखेको एउटा सपना कसरी पूरा गर्न सकिएला भनेर सोच्ने गर्छु। हाल हामी त्यो सपना पूरा गर्न सक्ने अवस्थामा छैनौं। त्यसैले देशको गौरव बढाउने, इतिहास निर्माण गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र कार्यरूपमा परिणत गर्न त्यति कठिन नहुने उक्त सपना प्रधानमन्त्री केपी ओलीले पूरा गरिदिऊन् भन्ने हाम्रो चाहना छ।

    उनले गरेनन् र राजनीतिमै भएका कारण कुनै दिन सो काम गर्न सक्ने अवस्थामा पुगें भने त्यो ठाउँमा म विश्वस्तरको विशिष्ट पहिचान बोक्ने एउटा अन्तर्राष्ट्रिय मूर्तिकला उद्यान (इन्टरनेसनल स्कल्पचर पार्क) निर्माण गरेरै छोड्छु। कैयौं अनौपचारिक छलफलका आधारमा सो कामका लागि स्थानीयबासीको लगभग पूर्ण समर्थन रहनेछ भन्नेमा म विश्वस्त छु।

    बेभर्लीहिल्स अफ काठमाण्डु
    भैंसेपाटी आवास इलाका काठमाडौं उपत्यकामा सबैभन्दा सुन्दर र व्यवस्थित क्षेत्र हो भन्दा फरक नपर्ला। चक्रपथबाट ठीक बाहिर, काठमाडौंको केन्द्रबाट न धेरै टाढा न धेरै नजिक। योजनाबद्ध बस्ती जसमा प्रशस्त त्रुटि पनि छन् तथापि उपत्यकाभित्र त्योभन्दा सुन्दर ठाउँमा अवस्थित व्यवस्थित बस्ती मैले अर्को देखेको छैन। पानीको अभाव छैन, धुलो-धुवाँ कम छ। अलि उचाइमा छ, दक्षिणपट्टि नजिकै हरिया पहाड र अलि सफा मौसम भएक‍ा बेला उत्तरपट्टि हरिया पहाडसँगै १८० डिग्रीमा हिमाल देखिन्छ। साँझ-बिहान वृद्धवृद्धा आरामले खुला बाटोमा टहलिरहेका हुन्छन्।

    अहिले पशुपतिनाथ क्षेत्रमा ढुंगा र इँटले निर्माण गर्न सकिने संरचनाहरूसमेत कंक्रिटमा निर्माण भइरहेको देख्दा दिक्क लाग्छ। भन्दा नमीठो सुनिएला तर हाम्रो पुस्ताले आफैं गरिआएका अधिकांश काम त्यस्तै प्रकृतिका छन्।

    युवायुवती आफ्नै सुरमा मस्त हुन्छन् भने केटाकेटी साइकलमा कुदिरहेका, फुटबल, क्रिकेट खेलिरहेका देखिन्छन्। सो क्षेत्रमा बस्ने विदेशी कूटनीतिज्ञ र अन्य विदेशीहरू छोराछोरीलाई ‘ट्रली’ मा घुमाइरहेका पनि भेटिन्छन्। राम्राराम्रा रेस्टुराँहरूले आकर्षण बढाएकै छ, घटाएको छैन। घरजग्गाको भाउ अकासिएको छ भने नेपालकै सबैभन्दा ठूलो र सुविधासम्पन्न निजी अस्पताल भैंसेपाटीमै निर्माण भएको छ। २२ मिटर चौडा बाटो भैंसेपाटी हुँदै हिँडेर पनि सजिलै पुग्न सकिने ऐतिहासिक महत्त्व बोकेका र नेवा कलाले पूर्ण दुईवटा बस्ती बुङमती र खोकनातिर जान्छ।

    ती सबैका कारणले होला एकपटक मलाई एकजना विदेशीले भनेका थिए, ‘इन फ्याक्ट, यु क्यान कल भैंसेपाटी दि बेभर्लीहिल्स अफ काठमाण्डु’ (वास्तवमा भन्ने हो भने तपाईं भैंसेपाटीलाई काठमाडौंको बेभर्लीहिल्स भन्न सक्नुहुन्छ)। अमेरिकाको क्यालिफोर्नियास्थित बेभर्लीहिल्स विविध कारणले जसरी उच्च महŒव राख्छ, भैंसेपाटी त्यस्तै हुन लागिसक्यो भन्ने उनको संकेत थियो।

    त्यही भैंसेपाटीको बीचमा अत्यन्तै सुन्दर रूपमा अवस्थित छ, एक सय २३ रोपनी खाली जग्गा। त्यसैसँग जोडिएको अर्को झन्डै १९ रोपनी खाली जग्गा पनि छ, जसमा धेरैको कुदृष्टि परिरहेको छ। तर कैयौं ऊर्जाशील स्थानीयले त्यसलाई जोगाउने पहल थालिसकेका छन्। सांसद आवास बनाउने भनेर निर्णय गरिएको उक्त एक सय २३ रोपनी जग्गा अहिले नेपाल सरकारको स्वामित्वमा छ। सौभाग्य भन्नुपर्छ- त्यस्तो विशिष्ट ठाउँ (प्राइम लोकेसन) धन्न सांसद आवासको नाममा कंक्रिटको जंगलमा रूपान्तरण भएन। सांसदहरूलाई आवास चाहिँदैन भन्ने होइन।

    तर सहरको सौन्दर्य र स्वस्थता बढाउन, पर्यटकीय र आर्थिक गतिविधि प्रवद्र्धन गर्न विरलै प्राप्त हुने राजधानीनजिकको त्यस्ता विशिष्ट ठाउँलाई कंक्रिटको जंगलमा रूपान्तरण गरेर हामीले यो सहर र यो देशमाथि धेरै पाप गरिसकेका छौं। त्यो पाप जारी नराखौं। सांसद आवासलाई अन्य प्रयोजनमा त्यति नआउने कुनै पनि स्थानमा राम्रो योजना बनाएर निर्माण गरे भइहाल्छ। तर कोहिनूर हिरालाई सामान्य ढुंगाको रूपमा प्रयोग नगरौं।

    सोचेजस्तो हुने भए
    काठमाडौं उपत्यका र सिंगो नेपालमै एउटा पनि स्तरीय पार्क छैन, अन्तर्राष्ट्रिय स्तरको त झन् परको कुरा भइहाल्यो। हुन त, स्तरीय र अन्तर्राष्ट्रिय स्तरको के कुरा गर्नु, हामी यति गिरिसक्यौं, कुनै काम गर्दा ‘न्यूनतम स्तर’ को मापदण्ड पनि पूरा गर्दैनौं। तर म र कैयौं स्थानीय साथीहरू यस्तो पार्कको कल्पना गरिरहेछौं, जुन अन्तर्राष्ट्रिय स्तरको मात्र हुने छैन, त्यसले अन्तर्राष्ट्रिय रूपमै विशिष्ट पहिचान पनि राख्नेछ।

    संसारमा भएका मूर्तिकला उद्यानहरू मूलतः राष्ट्रिय मूर्तिकला उद्यान हुन्, जहाँ त्यही देशका विशिष्ट मूर्तिकारहरूका काम प्रदर्शित छन्। तर भैंसेपाटीमा परिकल्पना गरिएको मूर्तिकला उद्यान भने अन्तर्राष्ट्रिय प्रकृतिको हुनेछ र त्यसले अन्तर्राष्ट्रिय रूपमै विशिष्ट पहिचान बनाउनेछ ताकि काठमाडौं आएका पर्यटकहरूको नेपाल भ्रमण अन्तर्राष्ट्रिय मूर्तिकला उद्यान नपुगी पूर्ण नै नहोस्। जसरी कलामा रुचि नै नभएको पर्यटकले पनि प्यारिस गएर लुभ कला संग्रहालय गएन भने त्यो भ्रमण अपुरो सम्झिन्छ।

    रानीपोखरी र धरहरा बनाउनको नाम आज पनि हामीले स्मरण गरेजस्तै अन्तर्राष्ट्रिय मूर्तिकला उद्यान निर्माण गरेको खण्डमा प्रधानमन्त्री ओलीको नाम शदीयौंसम्म स्मरण गरिनेछ। भन्नेले भन्नेछन्, भएकै विश्व सम्पदाको पुनर्निर्माण गर्न र संवद्र्धन गर्न सकिएको छैन, केको मूर्तिकला उद्यानको कुरा ? ती तर्क आफैंमा गलत होइनन् तर त्यस्तै तर्कहरू गरिएका भए आज विश्वका अधिकांश सांस्कृतिक, कलात्मक र अन्तर्राष्ट्रिय गौरवका केन्द्रहरू बन्ने नै थिएनन्, जसले ती देशका नागरिकको जीवनस्तर र राष्ट्रको गौरव बढाएको छ। ती सबै केन्द्रहरू तत्तत् देशका विविध तात्कालिक प्रतिकूलतामाझ नै बनाइएका हुन्।

    अन्तर्राष्ट्रिय मूर्तिकला उद्यान निर्माणका लागि त प्रधानमन्त्री ओलीले धेरै ठूलो ऊर्जा, समय र स्रोत खर्च गर्नै पर्दैन निम्न काम पूरा गरे हुन्छः

    क) सबभन्दा पहिले ‘म गरेरै छोड्छु’ भन्ने अठोट लिनुहोस् अनि मन्त्रिपरिषद्को बैठकबाट सो जग्गा अन्तर्राष्ट्रिय मूर्तिकला उद्यान निर्माणका लागि जुन निकायको नाममा नामसारी गर्नुपर्छ, त्यो गर्नुहोस्। त्यसरी नामसारी गर्दा अहिले केही व्यक्तिहरूले हडप्न खोजेका सँगैको झन्डै १९ रोपनी जग्गा पनि चलनचल्तीको मूल्यमा खरिद गरेर एक सय २३ रोपनीमै मिसाइदिनोस्, जसले गर्दा मूर्तिकला उद्यानको क्षेत्रफल अझ ठूलो हुनेछ।

    ख) माथि नै उल्लेख गरे झैं हामी स्तरीय त कुरै छोडौं, अधिकांश अवस्थामा न्यूनतम स्तरको काम पनि गर्न नसक्ने गरेर क्षयीकृत भइसकेका छौं। त्यसैले अन्तर्राष्ट्रिय मूर्तिकला उद्यानको डिजाइन र निर्माणका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गर्न लगाउनोस्। अथवा यस्ता काम विशिष्ट स्तरमा गर्न सक्ने युरोपका कुनै अथवा चीनजस्ता देशलाई सहयोग गरिदिन अनुरोध गरे पनि हुन्छ। हामीले आफैं गर्न खोज्यौं भने सिमेन्टको संरचना बनाएर त्यसमा इनामेल पोत्नेस्तरको काम हुनेछ। अथवा पशुपतिनाथ क्षेत्रजस्तो विश्व सम्पदा सूचीमा सूचीकृत केन्द्रमा गएर स्टिलको रेलिङ हाल्ने अनि देउता बस्ने होइन मान्छे बस्नेजस्तो ढलान गरेको घर बनाउने काम हुनेछ। अहिले पशुपतिनाथ क्षेत्रमा ढुंगा र इँटले निर्माण गर्न सकिने संरचनाहरूसमेत कंक्रिटमा निर्माण भइरहेको देख्दा दिक्क लाग्छ। भन्दा नमीठो सुनिएला, तर हाम्रो पुस्ताले आफैं गरिआएका अधिकांश काम त्यस्तै प्रकृतिका छन्। त्यसैले डिजाइन र निर्माणका विषयमा अत्यन्तै सावधान हुन जरुरी छ।

    ग) डिजाइनरहरूलाई यस्ता काम गर्दा पू्र्ण स्वतन्त्रता दिइनुपर्छ तर ‘मूल भाव’ बारे थोरै निर्देशन दिन भने सकिन्छ। त्यो के हो भने त्यहाँ बन्ने संसारका विविध देशका मूर्तिहरू र त्यसले ओगटेको ठाउँ त मूर्तिकारको परिकल्पनाअनुरूप नै हुने भयो तर त्यसबाहेक सम्पूर्ण पार्कमा निर्माण हुने संरचना र पार्कको डिजाइनले काठमाडौं उपत्यकाको नेवाः कला र वास्तुकलालाई प्रतिबिम्बित गर्नैपर्छ। पार्क अन्तर्राष्ट्रिय भए पनि त्यो अन्तर्राष्ट्रियपना नेवाः संस्कृतिभित्र अटाउनुपर्छ, अटाउन सकिन्छ। पार्कभित्र बन्ने ढुंगेधारा, चोकहरू, ससाना स्टलहरू, पोखरीहरू, त्यहाँ प्रयोग हुने इँट, काठ र धातुका कुनै पनि संरचना नेवाः कलाविहीन हुनु हुँदैन।

    घ) डिजाइनबारे मेरो अर्को एउटा सपना पनि छ। भैंसेपाटीमा उक्त पार्क बन्ने हुनाले पार्कको प्रवेशद्वारमा भैंसीको संसारकै सबैभन्दा ठूलो ढुंगेमूर्ति निर्माण होस्। न्युयोर्कको टाइम्स स्क्वायरको सानदार जीवन्त साँढेजस्तै तर त्योभन्दा धेरै ठूलो। खुसीको कुरा के भने नेपालका विशिष्ट प्रस्तर कलाकार चन्द्रश्याम डंगोल भैंसेपाटीनजिकै खोकनामा बस्छन्। अहिले उनले बनाएको ३३ फिट अग्लो मञ्जु श्रीको पूर्ण कदको ढुंगाको विशाल मूर्ति चोभारको मञ्जु श्री पार्कमा प्रतिस्थापन गरिएको छ। हामीसँग यस्तयस्ता कलाकार छन्, जसबारे हामीलाई नै थाहा छैन। केही वर्षअघिको कुरा हो, नेपालका मूर्तिकार राजकुमार शाक्यले भुटान सरकारको अनुरोधमा त्यहाँ विश्वकै सबैभन्दा ठूलो पद्मसम्भवको मूर्ति निर्माण गरेका छन्। तर हाम्रा त सोचाइहरू यति खुम्चिसके कि हामी ‘१२ फुटे बाटो’ भन्दा फराकिलो सोच विरलै राख्छौं। ‘विश्वको सबैभन्दा ठूलो’ त हाम्रो कल्पनामै कहिल्यै आउँदैन। छेउमै चीन छ, जसले यति धेरै काम संसारमै सबैभन्दा उत्कृष्ट, सबैभन्दा विशिष्ट र सबैभन्दा ठूलो गर्ने गर्छ। तर हामीले उसबाट कहिल्यै सिकेनौं। कुरा पैसाको मात्र होइन, मूलतः सोचाइको नै हो।

    ङ) कागजी र थ्री-डी डिजाइन तयार भइसकेपछि काठमाडौंमा दूतावास भएका छब्बीसैजना राजदूतलाई प्रधानमन्त्री कार्यालयमा बोलाउनोस्। सबै राजदूतलाई भन्नुहोस्, ‘हामी काठमाडौं उपत्यकामा संसारमै विशिष्ट पहिचान स्थापना गर्न सक्ने एउटा अन्तर्राष्ट्रिय मूर्तिकला उद्यान’ निर्माण गर्दैछौं तपाईंको देशका पाँचसातजना विशिष्ट मूर्तिकारमध्ये एकजनाले नेपाल आएर सो उद्यानमा एकएकवटा विशाल र भव्य मूर्ति बनाऊन् भन्ने मेरो चाहना छ। ती यस्ता मूर्ति हुन्, जुन हेर्दा मान्छेहरू एकछिन टोलाऊन्। तपाईंको देश, हाम्रो देश र मूर्तिकार सबैका लागि यो गर्वको विषय बनोस्। यति काममा तपाईंहरूले मलाई सहयोग गरिदिनुपर्‍यो।

    च) प्रधानमन्त्री स्वयंले बोलाएर आफ्नो देशको एकजना विशिष्ट मूर्तिकारलाई केही महिना नेपालमा राखी एउटा भव्य मूर्ति निर्माण गरिदिन गरेको तुलनात्मकरूपमा सानो अनुरोधलाई कुनै पनि राजदूतले टार्लान् जस्तो मलाई लाग्दैन। त्यसपछि ‘फलोअप’ गर्ने काम परराष्ट्र मन्त्रालयले गरिहाल्छ। काठमाडौंमा राजदूतावास भएको हरेक देशले गर्ने भनेको आफ्नो देशको एकजना विशिष्ट मूर्तिकारलाई आमन्त्रण गरेर केही महिना नेपाल राखी एउटा मूर्ति बनाउन सहयोग गर्ने हो। त्यति काम गर्न पनि आर्थिक व्यवस्थापनको प्रश्न उठ्यो भने दुइटा तरिका अवलम्बन गर्न सकिन्छ ः या त नेपाल सरकारले सबै या आंशिक खर्चको जिम्मा लिन सक्छ। या अमेरिकाको टेक्सासस्थित लिबर्टी हिलमा रहेको अन्तर्राष्ट्रिय मूर्तिकला उद्यान निर्माणका बेला अपनाइएको उपाय अपनाउन सकिन्छ। त्यतिबेला लिबर्टी हिलका स्थानीय बासिन्दाले कयौं महिना मूर्तिकारहरूलाई आफ्ना घरहरूमा निःशुल्क खाने, बस्ने व्यवस्था गरिदिएका थिए। आज उनीहरू त्यसबारे गर्व गर्छन्। यदि प्रधानमन्त्री ओलीले यो विषयलाई गम्भीरतापूर्वक लिने हो भने अर्को दुई वर्षभित्रमा अर्थात् नेपाल भ्रमण वर्षका बेला काठमाडौं उपत्यकामा भव्य अन्तर्राष्ट्रिय मूर्तिकला उद्यान तयार भइसकेको हुनेछ।

    छ) भैंसेपाटीबाट ऐतिहासिक सम्पदाले भरिपूर्ण दुुइटा नेवाः बस्ती बुङमती र खोकना धेरै पर छैनन्। आधा घन्टामा हिँडेरै पुग्न सकिन्छ। भैंसेपाटीमा अन्तर्राष्ट्रिय मूर्तिकला उद्यान बन्यो भने ती ठाउँको महŒव ह्वात्तै बढ्छ। उद्यान निर्माणकै बेला तिनलाई सम्पदा बस्तीका रूपमा विकास गर्न योजना बनाउन सकियो भने गज्जबै हुन्छ। दक्षिण कोरियाको राजधानी सोल अत्याधुनिक बन्दै गएपछि सोलको ऐतिहासिक बस्ती कस्तो थियो भनेर आधुनिक दक्षिण कोरियाली तथा विदेशी पर्यटकहरूलाई देखाउन एउटा क्षेत्रको जगेर्ना गरियो। नामसानगोल हनोक गाउँ गएपछि पहिलेका घरहरू, जनजीवन, बगैंचा, खानपान, नाटक मञ्चन गर्ने ठाउँ आदि कस्ता थिए, सबै हेर्न पाइन्छ। अचम्मको कुरा त त्यहाँ ठ्याक्कै हामीकहाँ जस्तै ढिकी, जाँतो, नाङ्लो, डोको पनि देख्न सकिन्छ। बुङमती र खोकनालाई परम्परागत बस्तीका रूपमा जगेर्ना गर्न सकियो भने त्यहाँ त देखाउने र अनुभव गराउने कुरा कति छन् कति। परम्परागत नेवारी पहिरन लगाएर नेवारी परिकार खाँदै फोटो खिच्ने रहर कुनचाहिँ पर्यटकलाई हुँदैन होला ? ती दुवै बस्ती ठूलो पर्यटकीय आकर्षणको केन्द्र बन्नेमा कुनै शंकै छैन। मूर्तिकला उद्यान र ती संरक्षित बस्तीले एकअर्कालाई अत्यन्त‌ै लाभदायीरूपमा परिपूरण गर्नेछन्।

    मूर्तिकला उद्यान कस्तो होला ?
    म कहिले आँखा चिम्लिएर त कहिले आँखा खोलेर कल्पना गर्छु। विविध प्रजातिका रूख-बिरुवा र फूलहरू, ती रूख-बिरुवा र फूलहरूमा रमाइरहेका विविध प्रजातिका चराचुरुंगीहरू, यत्रतत्र सानाठूला पोखरीहरू, ती पोखरीमा खेलिरहेका माछा र हाँसहरू, आफ्नै अनुहार पानीमा प्रतिबिम्बित भएको हेर्दै मुस्काइरहेका प्रेमिल जोडीहरू, पोखरीको छेउछाउका कलात्मक बेन्चमा बसेर सुस्काइरहेका वृद्धवृद्धाहरू, दौडिन मिल्ने हरियो चौरमा मस्त उफ्रिरहेका केटाकेटीहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति कमाएका विभिन्न देशका मूर्तिकारका संक्षिप्त परिचय पढ्दै मूर्तिहरू अगाडि उभिएर, बसेर, ढलेर, हाँस्दै, स्वाङ पार्दै फोटो र सेल्फी खिचिरहेका पर्यटकहरू, उद्यानपरिसरमा रहेको बाटोपारिका घरको छतमा बसेर ‘यो ठाउँ कस्तो स्वर्ग बन्यो, हगी ? ’ भन्दै गफिएका स्थानीयबासीहरू, साँझ परेपछि बिजुली-कलाले मनमोहक देखिएका रूख-बिरुवा, बगैंचा र मूर्तिहरू, मूर्तिकला उद्यानले बढाएको आर्थिक गतिविधिबाट राम्रो उन्नति गरेका स्थानीय व्यवसायीहरू, उद्यान प्रवेश शुल्कबाट उत्साहजनक आम्दानी गरिरहेका व्यवस्थापकहरू, काठमाडौं आएका अधिकांश पर्यटकले मूर्तिकला उद्यान भ्रमण नछुटाउँदा दंग परेका पर्यटन अधिकारी र व्यवसायीहरू- ती सबै, हरेक दिन, भैंसेपाटी आबासको फन्को लगाउँदा मेरा आँखाअगाडि जीवन्तरूपमा नाचिरहन्छन्। कहिलेकाहीं सानो ठानिएको कामले ठूलो सपनाको स्वरूप प्रस्तुत गर्दछ। प्रधानमन्त्रीज्यू, के यो काम सम्भव होला ?
    म र कयौं मेरा स्थानीय साथीहरू तपाईंलाई मन, वचन र कर्मले सघाउन तयार छौं।

    (पूर्वपत्रकार मिश्र विवेकशील साझा पार्टीका संयोजक हुन्।)

    प्रतिकृया दिनुहोस्

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...

    मंसिर ९ गते आईतबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ मंसिर ९ गते आईतबार || सन् २०२४ नोभेम्बर २४ तारिख || नेपाल...

    ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराज गुरुङको आरोप

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्। शुक्रबार...

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...

    तनहुँको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

    तनहुँ। धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव...