News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • अब शैक्षिक गुणस्तरका लागि बोल्न ढिला नगरौं

    अश्विन दुवाडी
    ९४ पटक

    नेपाली राजनीति जतिजति तरङ्गित हुन खोज्यो, या व्यवस्थामाथि प्रश्न उठे, परिवर्तनका स्वरहरू गुन्जिन थाले, सधैं अग्र मोर्चामा विद्यार्थी राजनीति नै रहँदै आएको छ। सात सालको प्रजातन्त्र स्थापनाका लागि सुरु गरिएको आन्दोलनदेखि गणतन्त्र स्थापनाका लागि भएको १९ दिने आन्दोलनसम्म, नेतृत्व जसले गरे पनि, जोश, हिम्मत र उर्जा बोकेर सडकमा आउने विद्यार्थी नै थिए। हरेक मोर्चामा अग्रपंक्तिमा रहने, आँट र साहस गर्न नडराउने भएकैले युवा विद्यार्थीहरू राजनीतिक दलका शक्ति केन्द्र बन्न थाले। फलस्वरूप, सबै राजनीतिक दलमा विद्यार्थी संगठनहरू क्रियाशील छन्, जसले दलका गतिविधिलाई चलायमान बनाउँदै आएका छन्।

    पछिल्लो सात दशकदेखि व्यवस्था परिवर्तनमै रुमलिएको नेपाली राजनीति अब विस्तारै अवस्था परिवर्तनको मुद्दामा केन्द्रित हुन थालेको छ। हिजो हरेक जमघटमा “कसरी जनताको शासन व्यवस्था ल्याउन सकिएला?” भन्ने बहस हुन्थ्यो, तर अहिले विकास र समृद्धिका शिर्षकमा कुराकानी हुन थालेका छन्। यो आजको नेपालका लागि सकारात्मक पक्ष हो।

    व्यवस्था परिवर्तन भई जनताले रोजेको प्रणाली स्थापित भइसकेपछि, जनताले नै निर्वाचित प्रतिनिधिहरूबाट बनेको नेपालको संविधान १० वर्ष पूरा गर्न लागेको छ। यसबीच, नेपाली समाजले जति तीव्र गतिमा विकासको अपेक्षा गरेको थियो, त्यो पूरा हुन नसकेको स्वीकार्नुपर्छ। तर, त्यसैगरी “केही भएन” भन्ने नैराश्यता पनि त्याग्न आवश्यक छ। पछिल्ला वर्षहरूमा हाम्रो युवा जनशक्ति भविष्य निर्माणका लागि भन्दै हजारौँको संख्यामा विदेशिँदै छन्, तर सोही अनुपातमा शिक्षा हासिल गरेर नेपाल फर्किने दर निकै न्यून छ। यसले “देशको भविष्य के होला?” भन्ने गम्भीर प्रश्न खडा गरेको छ। आज गाउँहरू सुनसान छन्, विश्वविद्यालयमा विद्यार्थी घटिरहेका छन्, बजारमा नयाँ उद्यमीहरू पातलिँदै छन्, विद्यालयमा शिक्षक अभाव छ, अनि आयोजनाहरूमा दक्ष र अदक्ष जनशक्ति दिनप्रतिदिन कम हुँदै गइरहेका छन्। यो अवस्था निश्चित रूपमा राम्रो संकेत होइन।

    अब, हाम्रा विश्वविद्यालयहरूले आजको विश्व सुहाउँदो वैज्ञानिक र बजारमैत्री जनशक्ति उत्पादन गर्नेतर्फ सोच्न जरुरी छ। वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरू पाँच वर्षको अवधिमा सिप सिक्छन्, ज्ञान आर्जन गर्छन्, बजारमा बिक्ने प्रमाणपत्र प्राप्त गर्छन्, र केही पूँजी पनि संकलन गर्छन्। तर, नेपालका विश्वविद्यालयहरू पुरानै शैलीमा अघि बढिरहे भने विद्यार्थीहरू आकर्षित हुन सक्दैनन्। दशौँ वर्ष लगाएर प्रमाणपत्र मात्र थुपार्ने तर त्यो ज्ञान बजारमा प्रयोग गर्न नसक्ने अवस्थाले नै आजको निराशा जन्माएको हो। अब, हाम्रा विद्यार्थीले अनुसन्धानलाई बजार सुहाउँदो, समाजको आवश्यकता र मागअनुसार अघि बढाउनु पर्छ। अध्ययन केवल पुस्तक केन्द्रित होइन, समाज र बजारको माग केन्द्रित पनि हुनुपर्छ। हाम्रो क्षमताले विश्वबजारसँग प्रतिस्पर्धा गर्नसक्नुपर्छ। शैक्षिक गुणस्तरमा व्यापक सुधारको खाँचो छ। सैद्धान्तिक पाठ्यक्रमलाई व्यवहारिक बनाउनुपर्छ, प्रयोगात्मक अध्ययनको दायरा बढाउनुपर्छ, र विश्वका नवीनतम आविष्कार तथा खोजहरूसँग हाम्रा विश्वविद्यालयहरूलाई जोड्नुपर्छ।

    आजको विश्व ए.आई. र डिजिटल दुनियाँमा प्रतिस्पर्धा गरिरहेको छ, तर हामी अझै टेस्टट्युब र बिकर बोकेरै रमाइरहेका छौँ। हाम्रा विश्वविद्यालयका प्रयोगशालामा आधुनिक उपकरणहरूको अभाव छ। पुरानो र कार्यक्षमता कम भएका प्रविधि प्रयोग गर्दा हाम्रा अनुसन्धानको विश्वसनीयतामा प्रश्न उठ्छ। जबसम्म हाम्रा शैक्षिक संस्थाहरूलाई “झोला बोकेर धाउने” र “किताब घोकेर प्रमाणपत्र लिने” केन्द्रको रूपमा मात्र हेर्ने प्रवृत्ति अन्त्य हुँदैन, तबसम्म उत्पादित जनशक्ति गतिविहीन नै हुन्छ।

    अतः, अब विश्वविद्यालयहरूमा सैद्धान्तिकभन्दा प्रयोगात्मक अभ्यासमा जोड दिनुपर्छ। प्रयोगशालाहरूलाई स्तरीय बनाउनु पर्छ। विद्यार्थीहरूको प्रयोगशालामा पहुँच सुनिश्चित गर्नु पर्छ। आधुनिक उपकरणहरू उपलब्ध गराउनु पर्छ। पुस्तकालयहरूमा आवश्यक पुस्तकहरूको सुनिश्चितता गर्नुपर्छ। अनुसन्धान कार्यहरू केवल औपचारिकताका लागि नभई, साँच्चै नयाँ उपलब्धि हासिल गर्ने लक्ष्यले अघि बढाउनुपर्छ। यदि हाम्रा प्राध्यापक र विद्यार्थीहरू दृढताका साथ काम गर्न तयार भए, भने हाम्रो अनुसन्धानको विश्वसनीयता पनि बढ्नेछ।

    यी सबै समस्याहरूका बाबजुद, यदि हामीले हाम्रो शैक्षिक नीतिमा सुधार ल्यायौँ भने, गुणस्तर बढाउन सकिन्छ। अब, केही नीतिगत, केही व्यवहारिक, र केही प्रणालीगत सुधार आवश्यक छ। त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव नजिकिँदै छ। चैत ५ गते हुने निर्वाचनमा दुई वर्षका लागि विद्यार्थी नेतृत्व चयन हुँदैछ। अबको विद्यार्थी नेतृत्वले विश्वविद्यालय सुधार, शैक्षिक गुणस्तर, र वैज्ञानिक शिक्षामा जोड दिनुपर्छ। राजनीतिक दलका विद्यार्थी संगठनहरू, स्वतन्त्र समाज, विद्यार्थी, प्राध्यापक, कर्मचारी—सबैको साझा लक्ष्य विश्वविद्यालय सुधार हुनुपर्छ। यदि सबै पक्ष एकै लक्ष्यमा अघि बढे, सकारात्मक सोच बनाए, र निष्ठाका साथ लागे, भने विश्वविद्यालयलाई शैक्षिक हब बनाउन धेरै समय लाग्ने छैन।

    अब, हामी सबैको ध्यान यसतर्फ जान जरुरी छ!

     

    प्रतिकृया दिनुहोस्

    ढल्यो लुटतन्त्रको साम्राज्य

    वि.सं.२०४६ सालको झल्को स्मरण गराउदै ०८१ फाल्गुन २५ गते नेपाली जनताले फाल्गुन ७ गते प्रजातन्त्र...

    नेप्से सूचकांकमा सुधार, ८ अर्ब २३ करोडको कारोबार

    काठमाडौँ, २८ फागुन – सात दिनको लगातार गिरावटपछि आज सेयर बजारमा सुधार आएको छ। आज...

    बालेन शाहको भारतीय चलचित्र प्रतिबन्धसँग सम्बन्धित रिट सर्वोच्च अदालतमा हेर्न नपाउने

    काठमाडौँ, २८ फागु – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको अदालत अवहेलनासम्बन्धी रिट सर्वोच्च अदालतमा हेर्न...

    बलूचिस्तानमा पाकिस्तान रेल हाइज्याक: १५५ यात्रुको उद्धार, २७ अतिवादी मारिए

    फाल्गुन २८, पाकिस्तान – बलूचिस्तान प्रान्तमा भएको एक भयंकर रेल हाइज्याकको घटनामा सुरक्षा अधिकारीहरूले १५५...

    शिवपुरी जंगलमा १८ दिनपछि हराएको व्यक्तिको शव फेला

    काठमाडौँ, फागुन २८ – १८ दिनदेखि हराइरहेका ५८ वर्षीय कान्छा महर्जनको शव आज शिवपुरी जंगलमा...