आज : २०२६-०७-०९, बिहीबार

शिवरात्रीको अवसरमा कटगरामा भजन कीर्तन हुँदै

मोरङ, फाल्गुन १४ – रतुवामाई–४, कटगरा स्थित गडिमहराजमा तीन दिने शिवरात्री विशेष पूजा–पाठ हुनुका साथै श्री श्री १०८ अष्याम महायज्ञ अन्तर्गत ३८ घण्टाको भजन कीर्तन हुने भएको छ। शिवरात्रीको अवसर पारेर आज कलश यात्रा समेत निकालिएको छ। नुना बक्राह खोलाको जल लिएर गडिमहाराज थानमा चढाई कार्यक्रमको शुभारम्भ गरिएको थियो।

गत पुस २३ गते, स्थानीय तिलो देवी गिरिको खेतमा रहेको पुरानो बरको रुखमा दिउँसो खेतमा काम गर्न गएका केही स्थानीयले वरिपरि एक जोडी नाग देखेपछि उक्त स्थानमा भगवानको बास हुन सक्ने अनुमान गर्दै पूजापाठ सुरु गरिएको थियो। त्यसपछि, तिलो देवीले सोही स्थानमा रहेको बरको रुख सहितको १० धुर जग्गा दान दिएपछि स्थानीयले चन्दा संकलन गरी सामान्य रूपमा मन्दिर निर्माण गरेका थिए।

तीन दिने मेलाको आयोजना गरिएको र रात्रीकालीन भजन कीर्तन समेत हुने भएकाले शान्ति सुरक्षाका लागि प्रहरीको सहयोग तथा स्थानीय युवाहरूको समूह परिचालन गरिएको शिव मुरमुले जानकारी दिए। साथै, मन्दिर निर्माणका लागि वडा कार्यालय र नगरपालिकासँग आग्रह गरी सहयोग प्राप्त गर्ने योजनामा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमराज गिरिले बताए।