News Portal

छाेराकाे बाटाे हेर्दै गुरुङ दम्पती

हिमालीसंचार संवाददाता
३९० पटक

नवलपुर। छरिछमेकमा हर्षोल्लासका साथ दसैँ मनाइरहेका बेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानस्थित बोटे टोलका गुरुङ दम्पतीको आँखा भने आँगनमा तेर्सो पारेर छाेराे आउने बाटो हेर्दै बितिरहेको छ।

स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गत साउन २३ गते साँझ घरबाट निस्किएपछि अहिलेसम्म फर्किएका छैनन्। छोरा बेपत्ता भएपछि गुरुङ दम्पतीको घर सुनसान छ।

विगत तीन वर्षदेखि मिर्गौलाको डायलासिस गराइरहेकी उत्तमकी ५० वर्षीया आमा राजकुमारी गुरुङ छोराको चिन्ताले झनै थलिएकी छन्।

‘घरबाट केही नभनी निस्किएको छोराको अवस्था थाहा छैन’, गहभरि आँसु पार्दै राजकुमारीले भनिन्, ‘कहाँ गएको हो, आफन्त गाउँलेहरु मिलेर धेरै ठाउँमा खोज्नुभयो। तर छोराको बारेमा केही थाहा पाउन सकिएन।’

जेठा छोरा बेपत्ता भएपछि दसैँ खल्लो भएको छ। दसैँ मनाउने उत्साह नभएको उनले बताइन्। ‘हिँड्ने बेलामा मोबाइल यहीँ छोडेर हिँडेको रैछ’, उनले भनिन्, ‘गाउँमा कतै गयो होला भनेर सोचेका थियौँ। एक दिन, दुई दिन गर्दै यत्रो दिन बित्यो छोरा घर फर्किएन।’

छोरा जहाँ जस्तोसुकै अवस्थामा भए पनि चाँडो घर फर्किन उनले बिन्ती गरिन्। उत्तमका ५८ वर्षीय बाबु नन्दे गुरुङलाई छोराले किन घर छाडेर हिँड्यो भन्ने पनि थाहा छैन।

‘हामी बाउछोरा भएर तरकारीखेती, कुखुरापालन तथा बाख्रा व्यावसायिक रुपमा पाल्दै आएका थियौँ’, उनले भने, ‘दिनभरि सँगै काम गरेका थियौँ, त्यस्तो नराम्रो केही भएको पनि थिएन, बेलुकी घरबाट बाहिर निस्केको छोरा अझै फर्किएन।’

छोराको खोजी गर्न धेरै ठाउँ पुगेको र प्रहरी, संघसंस्थासँग गुहार माग्दासमेत नभेटिएको गुरुङको भनाइ छ। नन्देका बाबुछोरा नै वैदेशिक रोजगारका लागि पाँच वर्ष दुबईमा बसेर स्वदेश फर्किएपछि व्यावसायिक पुशपालन गर्दै आएका थिए। पत्नी बिरामी आएपछि वैदेशिक रोजगारी छोडेर दुवै जना फर्किएका थिए।

‘घरको हरेक कामकाजमा सघाउँदै आएको जेठो छोरो बेपत्ता भएपछि कुन खुसीले दसैँ मनाउनु खै?’, मलीन मुद्रामा नन्देले भने, ‘अझै पनि छोरा आउँछ कि भनेर बाटो हेर्दैमा दिनरात कटाउने गरेका छौँ।’ छोरा घर फर्किएमा सबै खुसी फिर्ता आउने र चाडपर्व रमाइलो हुने आशा गुरुङ दम्पतीको मनमा अझै रहेकाे छ। रासस।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...