साढे ६ लाख ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारको प्रलोभन देखाएर युवाहरुलाई ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक महिलालाई पक्राउ गरेको छ।
आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत चिङगाड गाउँपालिका-३ घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका- १४ कलंकी बस्ने ३६ वर्षीया बिमला जिसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिसीले मौरिसस पठाइदिन्छु भन्दै ५ जना युवाबाट ६ लाख ५० हजार रूपैयाँ असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी रकम लिएर सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए।
सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कलंकीबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।















