काठमाडौं : नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो कार्यक्रममा बोल्दै नेता महतले वर्तमान सरकारले काम गर्नुको साटो बढी गफ गरिरहेको आरोप लगाए । ‘गफ गरेर समृद्धि आउँछ? समृद्धि हाँसिल गर्न त काम गर्नुपर्छ । हामी गफ होइन, काम गर्छौं’, उनले भने ।
वर्तमान सरकारले मुलुकमा लगानीको वातावरण बनाउन नसकेको र शान्ति, सुरक्षा कायम गर्न नसकेको भन्दै उनले सरकारलाई असफलताको संज्ञा दिए । उनले भने, ‘ओली सरकारले दुईतिहाइको महत्व बुझ्न सकेन । सरकारकै कारण मुलुकमा लगानीको वातावरण बनेको छैन ।’
उनले आगामी दिनमा आफ्नो पार्टी एक ढिक्का भएर मुलुक र जनताको हितमा लाग्ने विश्वास दिलाए । उनले भने,‘कांग्रेसले काम गरेर जनताको मन जित्छ । समृद्धि कसरी आउँछ भन्ने कुरा हामीलाई थाहा छ।’
उनले सबै जनताको घरदैलामा समृद्धिको पाइला पुगोस भन्दै तिहारको शुभकामना दिए । ‘कांग्रेस लोकतन्त्रमा आधार रहेर अग्रसर हुन्छ’, महतले भने, ‘बिपीले भने जस्तो सबै नेपालीलाई समृद्ध बनाउन चाहन्छौं । विपक्षमा रहेरपनि हामी नडगमगाई आफ्नो भूमिका निर्वाह गर्छौं ।’ अन्नपूर्णमा खबर छ।