कोठामा सुत्केरीजस्तै बनेर बसेकी थिइन् ‘शिशु’ चोर्ने महिला

काठमाडौं। काठमाडौंको थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट चोरिएकी बालिका फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २६ दिने बालिकालाई काठमाडौँको काँडाघारीबाट शुक्रबार राति ११ः४५ बजेतिर उद्धार गरेको हो।
बच्चा चोरीमा संलग्न आरोपमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। बच्चा चोर्ने महिला दैलेखकी मनीषा सिंह रहेको खुलेको छ।
उनीसँगै उनकी दिदीलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ। काँडाघारीस्थित डेराबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालिकालाई उद्धार गरेर उपचारको लागि अस्पतालमा राखिएको छ। बच्चा नभएकाले चोरी गरेको ती महिलाले प्रहरीसमक्ष स्वीकार गरेकी छन्।
प्रहरी स्रोतले भन्यो ‘ती महिलाले आफू सुत्केरी भएको भनेर घर परिवारलाई भनेकी रहेछिन्।’ आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको रहर पूरा गर्न शिशु चोरी गरेको उनले प्रहरीसँग बताएकी छन्।
‘घरमा महिलाले बाटोमा बच्चा जन्माएर ल्याएको भनेको पाइयो, उनले परिवारलाई आफू गर्भवती रहेको भनेकी रहेछिन्। हामी उनको घरमा पुग्दा सुत्केरीजस्तै कोठामा गाउन लगाएर बसेकी थिइन्,’ प्रहरीले भन्यो।
विवाह गरेको लामो समय भए पनि बच्चा नभएपछि उनले बच्चा चोरेर सन्तानकै रूपमा हुर्काउने योजना बनाएर प्रसूति गृह पुगेको पाइएको छ। आरोपीहरूबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काभ्रेको चौरीदेउराली गाउँपालिका-३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन्। ‘सहयोग’को बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले प्रहरीलाई बताएकी छन्।
अस्पतालमा अपरिचित महिलाले ‘एकछिन म लिइदिन्छु’ भनेर बालिका लिएर फरार भएपछि पीडितले अस्थायी प्रहरी बिट थापाथलीमा खबर गरेपछि प्रहरीले खोजी थालेको थियो।
बच्चा हराएको खबर प्राप्त हुन साथ जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खोजीमा खटिएको थियो।
सिसिटिभीमा देखिएको हुलिया अनुसार रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको देखिएको थियो।

















