News Portal

  • चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्काे

    हिमालीसंचार संवाददाता
    २७३ पटक

    बाँके। बर्दियाको बढैयाताल गाउँपालिका–२ का खटकराज बुढा शनिबार दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए। बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिमला जान लागेको उनले बताए।

    ६० वर्ष पार गरिसकेका उनले बर्खे बाली लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउन भारतको सिमला जाने गरेको सुनाए। ‘परिवार एक्लैले बर्खा खेती लगाउन सक्दैनन् भनेर म लगाउन आउँछु। खेती लगाइसकिएपछि पैसा कमाउनका लागि फेरि भारतको सिमलामै जान्छु,’ उनले भने, ‘मिले दसैँ–तिहारमा घर फर्कन्छु, नमिले साथीभाइ आउँदा उहाँहरूसँगै चाडबाड मनाउने पैसा पठाइदिन्छु।’

    बुढा विगत ३५ वर्षदेखि खेती लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउनका लागि भारत जाने गर्दै आएका छन्। नेपालमा जति काम गरे पनि राम्रो पारिश्रमिक नपाउने र पाए पनि ठेकेदारले पैसा नै नदिने उनले गुनासो गरे।

    ‘नेपालमै केही गरौँ भन्ने सोच र जाँगर भए पनि कामको उचित व्यवस्थापन छैन, न त मूल्य नै छ,’ उनले भने, ‘घरपरिवार छाडेर अर्काको देशमा काम गर्न जाने रहर त मलाई पनि कहाँ छ र ? तर, गुजाराका लागि पनि जानैपर्ने बाध्यता छ।’

    बुढाजझैँ सुर्खेत, मेलकुनाका हरि ओली पनि असारे खेतीबाली लगाएर परिवारको छाक टार्न भारतमा मजदुरीका लागि जाँदै गर्दा जमुनाहमा भेटिए। घरमा स्कुल पढ्ने छोराछोरी छन्। पढाउनलाई र दसैँ–तिहारको जोहो गर्न आफू भारत जानुपर्ने बाध्यता भएको उनले बताए।

    उनले भने, ‘हाम्रो देशमा व्यवसाय गर्न पनि लगानी चाहिन्छ। लगानी लगाएर व्यवसाय गर्न मेरो हैसियतले भ्याउँदैन। रहरले भन्दा पनि बाध्यताले भारतमा मजदुरी गर्न जानुपरेको छ।’ उमेरले ५६ वर्ष पार गरिसकेका ओलीले भारत गएर कमाउन थालेको २२ वर्ष भएको बताए।

    यसैगरी रोजगारीका लागि भारत जाँदै गरेका दैलेखका विनय क्षेत्रीको पनि कथाव्यथा बुढा र ओलीको जस्तै छ। उनी पनि बर्खे खेती लगाउनका लागि घर आएको र खेती लगाएर दसैँ–तिहारको जोहो गर्न भारतको सिमला जान लाग्दै गर्दा जमुनाह नाकामा भेटिए।

    उमेरले ४८ वर्ष लागेका क्षेत्रीले नेपालमा रोजगारीको अभावसँगै स्वरोजगारका लागि सीप र लागतको पनि अभावले आफू वर्षैपिच्छे भारत जानुपरेको बताए।

    ‘आफूसँग हातमा सीप छैन, व्यापार–व्यवसाय गर्न लगानी छैन, अनि महिना दिन ढुक्कले काम गर्ने रोजगारी पाइँदैन,’ उनले भने, ‘भारतमा त जस्तो भन्यो त्यस्तै काम पाइन्छ अनि दाम पनि। त्यसैले मजदुरी गर्न भारतको सिमला जान लागेको हुँ।’

    बुवा र काकाको साथमा सानै उमेरदेखि भारतमा गएर मजदुरी गर्दै आएको विनयले बताए। विगत १८ वर्षयता उनी भारतमा गएर काम गरिरहेका छन्।

    ‘पहिलोपटक काम गरेर पैसा कमाउन बुवा र काकासँग भारत गएको थिएँ। त्यति बेला यही नाकामा म मनैमन रोएको पनि थिएँ। साह्रै नमज्जा लागेको थिए। अहिले त बानी परिसक्यो,’ उनले भने, ‘आफ्नै गाउँठाउँमा बस्ने रहरलाई मारेर अर्काको देशमा खुनपसिना बगाउन मलाई मन छैन, तर यो बाध्यता हो।’

    प्रत्येक वर्ष नेपालगन्जस्थित जमुनाह नाका हुँदै दसैँ–तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को लाग्ने गर्छ। यो वर्ष पनि असारे खेतीबाली सकेर दसैँ–तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को सीमानाकामा देख्न सकिन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...

    आज २०८२ साल असोज १५ गतेको राशिफल

    आज असोज १५, २०८२ (अक्टोबर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...