News Portal

कर्णाली नदी तर्न अझै पनि डुंगाको भर

हिमालीसंचार संवाददाता
३०८ पटक

परमानन्द पाण्डे, टीकापुर। कर्णाली नदीको दौलतपुरघाटमा पक्की पुल नहुँदा स्थानीय डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। सुदूरपश्चिम प्रदेशको टीकापुर नगरपालिका र लुम्बिनी प्रदेशको राजापुर नगरपालिका जोड्ने दौलतपुरघाटमा पुल नभएकै कारण वर्षौंदेखि दुबै ठाउँका स्थानीय जोखिमपूर्ण डुंगाबाट वारपार गर्दै आएका हुन्।

हिउँदेयाममा नदीमा पानीको बहाव केही कम हुने भए पनि बर्खामा उर्लदो भेलमा भने स्थानीय ज्यानकै बाजी थापेर आउजाउ गर्छन्। कैलालीको टीकापुर बजार राजापुर नगरपालिकाको दौलतपुर, टिहुनीलगायतका दर्जनौं गाउँको मुख्य बजार हो।

दौलतपुरघाट भएर दैनिक हजार बढी स्थानीय डुंगाबाट बजारसम्म पुग्छन्। ‘जोखिमपूर्ण डुंगा चढ्नु हाम्रो बाध्यता हो, टीकापुर नगरपालिका वडा नं. ५ का स्थानीय मीना चौधरीले भने, ‘हामी जन्मेदेखि नै यसरी नै वारपार गर्दै आएका छौं, हिउँदमा त पानी कम हुन्छ, सजिलै हुन्छ तर बर्खामा कर्णालीको भेलमा निकै डर लाग्छ।’

कर्णाली नदीले दुबै प्रदेश र दुबै जिल्लाको सीमाना छुट्याएको भए पनि यहाँका स्थानीयहरुको सम्बन्ध घनिष्ट छ। टीकापुरका सयौं बासिन्दाको खेत राजापुरमा छ भने, राजापुरका लागि टीकापुर नजिकको व्यापारिक केन्द्र हो।

‘हाम्रो खाने खेत नै राजापुरको दौतलपुरमा छ, धान ल्याउनेदेखि खेति लगाउनसम्म दिनमै ३/४ पटकसम्म ओहोरोदोहोरो गर्नुपर्छ’ टीकापुरका खेम धमालाले भने, ‘ज्यान जोखिममै राखेर जानुपर्छ, समय पनि धेरै लाग्छ।’ नदीमा सञ्चालन हुँदै आएका डुंगा (स्टिमर)बाट स्थानीय आवतजावत गर्छन्।

बर्दियाको दौलतपुर उब्जनीका लागि उर्वर भूमि हो। टीकापुरमा बसोबास गर्नेहरू पनि दौलतपुरमै खेतीपाती गर्छन्। दौलतपुरमा उब्जाएको खाद्यान्न बाली डुंगाबाटै टीकापुर भित्र्याउँछन्। कर्णाली नदीको तीव्र बहावका कारण बेलाबेलामा दुर्घटनासमेत हुने गरेको छ।

‘दुई वर्षअघि साउनको महिनामा २१ जना सवारी बोकेको स्टिमरमा समस्या आउँदा मुस्किलले एक किलोमिटर तल डुंगा पार लगायौं,’विगत ३३ वर्षदेखि दौलतपुरघाटमा डुंगा सञ्चालन गर्दै आएका गौरी चौधरीले भने, ‘के गर्नु यात्रुलाई तार्नैपर्छ अझ रातिको समयमा कयौं बिरामीलाई टर्च बालेर नदी तार्नुपर्छ।’

स्थानीयले लामो समयदेखि दौलतपुरघाटमा पक्की पुलको माग गर्दै आएका छन्। उनीहरुले संघर्ष समितिसमेत गठन गरेका थिए। समितिका सदस्य भरत साउँदले पुलका लागि धेरै निकायमा धाएपनि सम्बोधन हुन नसकेको बताए।

‘अब त आशा पनि मरिसक्यो,’साउँदले भने, ‘सबै तहका सरकारसँग पक्की पुल माग गरेका थियौं, सबैले पहल भइरहेको छ भन्छन् तर हाम्रो समस्या उस्तै छ।’ वर्षौंदेखि डुंगाको जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीयहरुले पक्की पुल निर्माण हुनुपर्ने बताउँदै आएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...