उहिल्यै,
कुनै एक दिन
दरबारका तीखा खुरहरूले
याम्बुको निधारमा कुल्चिएपछि
सेती नदीहरू
भसिँदै–भासिँदै बग्न थालेछन् !
र फरफराइरहेको लुङ्दरको छायाँमुनि
फुलिरहेका सेता फूलहरू
अक्करतिर बसाइँ सर्दै गएछन् !
मेरो जीवनको रङ
र यो फूलको रङ
किन म फरक देख्दैछु आज ?
यो झ्याम्के फूललाई
कसले भनिदियो राष्ट्रिय फूल
रगतको आँसुले भिजेर
भीरमा फक्रिएको फूल
के तिमीलाई मन पर्छ, म्हेन्दोमाया ?
अब म,
निस्किन्छु बाहिर
उमेरको पर्खाल नाघेर
र खोज्छु जीवनको रङ !
कसले गाडिदियो
यो झण्डा मेरो चिहानमाथि
र आज हम्किरहेछ— मलाई आतङ्क ?
झिक र लैजाऊ आफुसँगै
अब म उठ्ने बेला भएको छ !
भन त,
तिमीलाई देश मन पर्छ कि फूल ?
म अब हिँड्छु
मेमेदुङ छेम्बोको तरबार बोकेर
र कबड्डी खेल्छु— मातेको बन्दुकसित !
म ल्याउँछु अब
त्यो सेतो फूल टिपेर
र सिउरिदिन्छु— तिम्रो चुल्ठोमा !
आखिरी यो मन त तिम्रै हो, म्हेन्दोमाया !
– प्रथा