News Portal

  • अहिले मेलम्चीको पानी आएको छैन, पाइप परीक्षण मात्र गरिएको हो : केयूकेएल

    काठमाण्डौ उपत्यकालाई मेलम्चीको पानी धान्दैन

    हिमालीसंचार संवाददाता
    ३५६ पटक

    काठमाण्डौ – लमजुङका अर्जुन भुजेल काठमाडौं सुकेधारामा कोठा लिएर बस्न थालेको १० वर्षभन्दा बढी भयो । कोठामा बस्दा उनलाई सधैं पानीकै समस्या हुन्छ । त्यसैले पानी आउने दिन कुरेर बस्नुपर्ने बाध्यता छ । साताअघि भने अचानक धारामा अघिपछिभन्दा ठूलो पानी आयो ।

    पानी नियमित आएपछि पाँच जनाको उनको परिवार आश्चर्यमा पर्‍यो । ‘काठमाडौं आएर बसेको लामो समय बित्यो,’ उनले भने, ‘अहिलेसम्म यति ठूलो र धेरै पानी आएको थाहा थिएन ।’ पानी लगातार आएपछि उनी मात्र होइन, छिमेकसमेत चकित बने ।

    जति बेलै धारामा पानी आएपछि प्रायःले मेलम्चीको पानी आएको लख काटे । पानी धेरै भएपछि केहीले त नालीतिर तर्काइदिए पनि । काठमाडौंमा जीवन गुजार्न जति संघर्ष गर्नुपर्छ, पानी पाउन त्यति नै कठिन छ । यही बेला धारामा कलकल पानी आएपछि उपत्यकाका प्रायः सर्वसाधारण दंग बने । केही दिनअघि कोटेश्वरस्थित सूर्यकोटमा त पाइपबाट फोर्ससहित पानी आयो । घर जलमग्न अनि पाइप भएको सडक हिलाम्मे बन्यो । पर्खाल भत्कियो भन्दै खिचिएको भिडियो सामाजिक सञ्जाल ट्विटर, फेसबुकमा भाइरल बन्न पुग्यो । उच्च फोर्समा पानी आउँदा मेलम्चीबाट आएको भनिए पनि त्यो वास्तविकता नभएको मेलम्ची खानेपानी आयोजनाले प्रस्ट्याएको छ ।

    सुरुङ सञ्चालन परीक्षणका लागि पानी हालिएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । अहिले पानी सुरुङमै छ । ‘परीक्षण सञ्चालनको एउटा कार्यविधि छ, जसमा दुई महिना परीक्षणको समय लाग्ने उल्लेख छ,’ उनले भने, ‘हरेक अडिट बेसमा सीसी क्यामेरा राखिएको छ, त्यसबाटै पानी कहाँ पुग्यो भनेर हेर्ने गरिन्छ ।’ अहिले अम्बाथानबाट पानी अगाडि बढिरहेको उनको भनाइ छ ।

    ‘सुन्दरीजलसम्म पानी आइपुग्न परीक्षण थालिएको मितिबाट करिब १७ दिन लाग्नेछ,’ उनले भने, ‘सुरुङले राम्रोसँग काम गर्न सक्छ/सक्दैन भनेर यकिन गर्न समय लाग्नेछ ।’ सुरुङको परीक्षण गत फागुन १० मा गरिएको हो । यसको समय दुई महिनाको हो । यसमा विज्ञहरूले हेरिरहेका छन् । ‘सुरुङले राम्ररी काम गरे यसलाई नियमित रूपमा अगाडि बढाउँदै लगिनेछ,’ पन्तले भने, ‘तर वितरण गर्ने जिम्मेवारी हाम्रो होइन, सुन्दरीजलसम्म पानी ल्याइदिने र प्रशोधन गरिदिने मात्र हो ।’ त्यसपछि पानी थोक वितरण प्रणालीमा जानेछ । उनका अनुसार त्यसपछि मेलम्ची उपआयोजना–२ र काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले बनाएको पाइपलाइनमा पानी पुग्नेछ । पानी ट्यांकीमा जम्मा गरिनेछ । जम्मा भएको पानी वितरण गर्ने कार्यक्रम काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को हो ।

    ‘दुई महिनासम्म सबै कुरा हेरिनेछ,’ उनले भने, ‘विज्ञहरूले सबै हेरेर सुरुङ सञ्चालन गर्न लायक छ भन्ने भयो भने सुन्दरीजलबाट उपलब्ध गराइनेछ ।’ अहिले उपत्यकामा मेलम्चीको पानी आएको कुरा गलत रहेको पन्तको दाबी छ । ‘भर्खर सुरुङमा परीक्षण गर्दै गरेको पानी कसरी काठमाडौं आइपुग्छ,’ उनले भने, ‘मेलम्चीको पानी आयो भनेर गलत प्रचार गरिएको छ, त्यसो होइन ।’

    अहिले मेलम्चीको पानी वितरण सञ्जाल परीक्षणको काम भइरहेको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए । ‘पानीका लागि बिछ्याइएका पाइपको ज्वाइन्ट ठीक छ/छैन भनेर हेर्न परीक्षण गरिन्छ,’ उनले भने, ‘यसले पानीको प्रेसर थाम्छ/थाम्दैन, त्यो पनि हेरिन्छ ।’ कतै ज्वाइन्टमा फल्ट भए पानी लिकेज भएर निस्किने गरेको उनको भनाइ छ । त्यसलाई पुनः मर्मत गरिनेछ । ‘त्यही उद्देश्यका लागि परीक्षण गरिएको हो,’ उनले भने, ‘मेलम्चीको पानी अहिले आइसकेको छैन ।’ मेलम्चीको पानीका लागि विस्तार गरिएको पाइपको परीक्षण गर्दा पानी आएकाले सबैलाई मेलम्चीको पानी आएको भान भएको उनले जानकारी दिए । पाइप बिछ्याउँदै र बिछ्याइसकेपछि पानी हालेर परीक्षण गर्ने नियम नै हुन्छ । मेलम्चीबाट नै पानी आएपछि त्यसको भोल्युम ठूलो हुने राईको भनाइ छ ।

    उपत्यकामा दैनिक पानीको माग ४३ करोड लिटर छ । ‘तर ग्राहकको धारामा सुक्खा सिजनमा पनि करिब १० करोड लिटर पानी पुर्‍याउन सकिन्छ,’ उनले भने, ‘पहिलो फेजमा मेलम्चीबाट प्राप्त हुने १७ करोड लिटर पानी हो ।’ जुन जोडेर सुक्खा सिजनमा २७ करोड लिटर पानी पुग्नेछ । ‘यसलाई हेर्दा जति माग छ, फुलफिल गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘तर पनि प्रतिदिन १७ करोड लिटर पानी थपिँदा यसले पहिलाको भन्दा स्थिति धेरै सहज बनाउनेछ ।’

    काठमाडौं, भक्तपुर र ललितपुरका करिब ५० लाख जनसंख्याले मेलम्चीको पानी उपभोग गर्न पाउने राईले बताए । अहिले कतै दिन बिराएर त कतै सातामा मात्र पानी वितरण हुने गरेको छ । मेलम्ची खानेपानी आयोजना २०५५/५६ बाट सुरु भएको हो । राष्ट्रिय गौरवको रूपमा रहेको यो आयोजना आर्थिक वर्ष २०७१/७२ मै सकिनुपर्ने हो । तर अहिलेसम्म निर्माण सकिएको छैन । विमल खतिवडाले आजको कान्तिपुरमा लेखेका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...