कुवेतमा बिहीबारदेखि कोरोनाविरुद्धको खोप दिईदै

कुवेत सिटी – कुवेतमा पनि कोरोनाभाइरस विरुद्धको खोप दिन थालिने भएको छ। भोलि बिहीबारदेखि खोप लगाउने अभियान नै चलाइने कुवेतका स्वास्थ्य मन्त्री बसेल अल सबाहले बताएका छन।
खोप अभियानअन्तर्गत सबैभन्दा पहिला वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने भएको छ। उनले एक वर्षभरी १/१ महिनाको अवधिमा खोप ल्याइने पनि जानकारी दिए। खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाइदिने योजना बनाइएको पनि उनले बताएका छन।
पछिल्ला महिनाहरुमा कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न र खोप ल्याउनका लागि स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाप्रति उनले सबैलाई धन्यवाद पनि व्यक्त गरेका छन। “उहाँहरुकै कडा मेहनतका कारण खोप ल्याएर लगाउन पाइने भएको हो,” मन्त्री सबाहले भने।
खोप लगाएसँगै मानवीय क्षति कम हुने र सङ्क्रमितहरुको सङ्ख्यामा पनि कमी आउने सरकारी अधिकारीहरुले आशा गरेका छन्। कुवेतले कोरोनाभाइरस विरुद्धको पहिलो चरणको खोप बुधबार स्वदेश ल्याएको अधिकारीहरुले जानकारी दिएका छन्।
















