News Portal

सूर्यको पूजाअराधना गरिने छठपर्व आजबाट शुरु

हिमालीसंचार संवाददाता
३८८ पटक

काठमाण्डौ – धार्मिक एवम् लोकआस्थाको पर्व छठ आजबाट शुरु भएको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ छठ पर्व शुरु हुने गर्दछ । विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना कहरका कारण केही समस्या देखिएको छ । तर पनि छठ विधिवत् रुपमा मनाउन शुरु गरिएको छ ।

ग्रामीण क्षेत्रलगायत विभिन्न ठाउँमा छठ मनाउन शुरु भइसकेको छ । कोरोनाका कारण उच्च जोखिमका हुने भएको हुदा कतिपय आफ्नै घरको परिसरमा चारकुने खाल्डो खनी त्यसमा पानी भरेर छठ पर्व मनाइरहेका छन् ।

सूर्यको पूजाअराधना गर्ने यो पर्व विधिवत् रुपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात आजदेखि शुरु भएको हो। अत्यन्त निष्ठा एवम् पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने वर्तालुले कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात आज शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरुवा अरुवाइन खाने प्रचलन रहेको छ।

पञ्चमी तिथिमा दिनभर उपवासमा बसेर साँझको समयमा नयाँ माटोको चुल्होमा मिष्ठान्न परिकार खीर पकाएर खाने प्रचलन रहेको छ। त्यसपछि घरको देवीदेवताको पूजामा चढाइएको खीर प्रसादका रुपमा वर्तालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ । तराईमा यस विधिलाई खरना भनिन्छ । भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्ने वर्तालुले पञ्चमी तिथिभर उपवास बसी साँझ मात्र सो प्रसाद ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिन्छन् । त्यसपछि सप्तमी तिथिको बिहानसम्म अर्थात् कम्तीमा ५० घण्टासम्म उपवास बस्नुपर्ने हुन्छ ।

त्यसपछि षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरिन्छ । भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरेपछि विधिवत् रुपमा पर्व सम्पन्न हुन्छ ।

यस पर्वमा सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गरिन्छ । यो पर्व एकपल्ट शुरु गरेपछि प्रत्येक वर्ष गर्नुपर्ने हुन्छ । खासगरी मनोकामना पूर्ण भएपछि यो पर्व शुरु हुन्छ।

‘आरोग्यं भास्करदिच्छेत’ मूल उद्देश्यका साथ मनाइने गरिएको यस पर्वमा कतिपय वर्तालुले परिवारको कल्याण र सन्तान प्राप्तिका साथै विभिन्न प्रकारका भाकल पूरा भएपछि पर्व शुरु गरेका हुन्छन् ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...