अमेरिकी रास्ट्रपति ट्रम्पद्वारा महाभियोगमा साक्षी बसेका २ अधिकारी बर्खास्त
एजेन्सी : आफूविरुद्धको महाभियोगमा साक्षी बसेका दुई अधिकारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्खास्त गरेका छन। माथिल्लो सदनमा पेस भएको महाभियोगबाट सफाइ पाएको दुई दिनपछि ट्रम्पले आर्मीका लेफ्टिनेन्ट जर्नेल अलेक्जेन्डर भिडम्यान र युरोपियन युनियनका लागि अमेरिकी राजदूत गार्डन सोडल्यान्डलाई बर्खास्त गरेका हुन।
ह्वाइटहाउसले सुरुमा भिडम्यानलाई बर्खास्त गरेको जनाएको थियो तर, त्यसको केही समयपछि ट्रम्पले सोडल्यान्डलाई पनि फिर्ता बोलाएका छन। बर्खास्तमा परेका भिडम्यान युक्रेन मामलाका जानकार मानिन्छन। राष्ट्रपति पदको दुरुपयोग गर्दै आफ्ना प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनी समकक्षीलाई दबाव दिएको अभियोगमा ट्रम्पविरुद्ध तल्लो सदनमा महाभियोग दर्ता भएको थियो।
यो प्रकरणबारेको अनुसन्धानमा अमेरिकी तल्लो सदनले दुवै अधिकारीसँग वयान लिएको थियो। साथै उनीहरू महाभियोगको दौरानमा साक्षीका रूपमा प्रस्तुत भएका थिए। विपक्षीहरूको बहुमत रहेको तल्लो सदनले ट्रम्पविरुद्ध महाभियोग लगाएको थियो तर, रिपब्लिकनहरूको बोलवाला रहेको माथिल्लो सदन सिनेटबाट भने ट्रम्पले सफाइ पाएका छन।
लामो समयदेखिको महाभियोगको रस्साकस्सी समाप्त भएसँगै ट्रम्पले आफूविरुद्ध खडा भएका अधिकारीलाई बर्खास्त गरिदिएका हुन। ट्रम्पले आफ्ना सल्लाहकार तथा सहयोगी बर्खास्त गरिदिएको यो पहिलो घटना भने होइन। यसअघि उनले गत भदौमा आफ्नो सहायक म्याडलिन वेस्टराउटलाई पदमुक्त गरिदिएका थिए।
ट्रम्प पारिवारसँग सम्बन्धित सूचना चुहाएको आरोपमा उनलाई पदमुक्त गरिएको हो। त्यसअघि उनले आफ्नो कार्यकारी आदेशको आलोचना गर्ने कार्यवाहक महान्यायाधिवक्ता स्याली येट्सलाई पनि बर्खास्त गरेका थिए।










