आज : २०२६-०७-०८, बुधबार

एनआरएनएमा कम्युनिस्टहरुले खोजे कुल आचार्यको साथ

कार्तिक ३, २०७६ काठमाडौं : गैर आवसिय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा निर्वाचित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहका कुमार पन्तले नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहबाट अध्यक्षमा पराजित कुल आचार्यलाई सल्लाहकारमा नियुक्त गरेका छन्।

संघको नयाँ कार्यसमितिको काठमाडौंमा शनिबार बसेको बैठकले नेपाली कांग्रेस निकटका आचार्यलाई सल्लाहकारमा नियुक्त गरेको हो।

आचार्यसँग संघको सल्लाहकारमा अध्यक्ष पन्तले विभिन्न देशका ११ जनालाई सल्लाहकारमा नियुक्त गरेका छन्। सल्लाहकारमा नियुक्त हुनेमा समाजसेवी तथा उद्यमी अमेरिका निवासी हरिबोल भण्डारी पनि छन्।

संघले विश्व आदर्श पण्डित, जानकी गुरुङ, सोमप्रसाद सापकोटा, रामेश्वर शाह, पुस्कर तिमिल्सिना, सपिला राजभण्डारी, एसी शेर्पा, त्रिलोक गुरुङ र टीबी कार्कीलाई सल्लाहकारमा नियुक्त गरेको छ।

सत्तारुढ नेकपा र नेपाली कांग्रेस निकटका एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेसहितका अन्तरघातीले एनआरएनएको अध्यक्षमा कम्युनिस्ट निकटका कुमार पन्तलाई साथ दिँदा कांग्रेस निकटका कुल आचार्यसहितको अधिकांश टिम पराजित भएको थियो।