News Portal

असार १५ को महत्त्व !

ओम पाण्डे
५०५ पटक

असार १५ नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने परम्परा छ । उक्त दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वासअनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खान पछि पर्दैनन् । दोहोरी रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो । असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत गर्‍हामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुन्छन् ।

असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरी वाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् । राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो राख्छ । कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसार प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्व छ ।

सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरू हुन्छ । देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुन मै भर पर्नुपर्ने स्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन् । असार महिनाभित्रै रोपाईं गर्न नपाइएमा धान पाक्ने संभावना कम हुनाले पनि रोपाईंमा व्यस्त हुनुपरेको हो । साता पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको मिचो भएकाले वास्तवमा सबै कृषकका लागि असारको पन्ध्र महत्वको हुन्छ ।

लासलाई एकछिन घुमले छोपेर भएपनि असारे भेल छोप्नु पर्दछ भन्ने बुढापाकाको भनाइले पनि यसको महत्व दर्शाउँछ । त्यस्तै ‘असारमा डुल्ने पजनीमा भुल्ने’ अर्थात् असारमा काम गर्ने बेलामा त्यसै डुल्ने र सरकारको काम इमान्दारीपूर्वक नगरी पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरिखाँदैन भन्ने बुढापाकाको अर्को उखानले पनि असारको महत्वलाई पुष्टी गर्छ । रोपाईं कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ ।

रोपाईंको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाईंको श्रीगणेश गरिन्छ । रोपाईंमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाईं गरिने भएकाले यस्ले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पुर्‍याउँदै आएको छ । कतैकतै ठूला खेती भएकाले रोपाईं गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ । एक आँकडाअनुसार धान खेतीको करिब ६० प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर हुनुपर्ने बाध्यता छ । पानी धेरै नपर्ने स्थानमा एकप्रकारको घैया धान लगाउन सकिन्छ, तर वर्षे धान भन्दा यस्को उत्पादन भने कम हुन्छ ।

नेपालमा ८५ प्रतिशत मनसुन जुनदेखि सेप्टेम्बरसम्ममा र १० प्रतिशत हिउँदमा हुने गरेको छ। नेपालमा समुद्री सतह भन्दा ७० मीटर उचाईमा रहेको झापाको केचनादेखि २ हजार ७८० मीटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती गरिंदै आएको छ । जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धानखेती भएको मानिन्छ । पहिला पहिला मार्सी, तौली, थापचिनिया, वासमती खट्टेखानी आदि जातका धानखेती गरिन्थ्यो भने हाल ताईचुङ्ग, विन्देश्वरी, खुमल, मन्सुली, राधा चार आदि विकासे जातका धान लगाइन थालेको छ ।

एक आँकडाअनुसार धान खेतीको ७९ प्रतिशत क्षेत्रफल विकासे जातका धानखेतीले ओगटेको बताइन्छ । धान रोपाईं गर्ने बेलामा बेर्ना नडुब्ने गरी खेतमा दुई/तीन से.मी. पानी जम्ने गरी तयार गरिए पनि बेर्ना बढ्दै गएपछि नपसाउन्जेलसम्म पाँचदेखि १० से.मी. पानी हुनु उपयुक्त हुन्छ । अन्तमा देश बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाई १५ असार अर्थात धान दिवसको शुभकामना ।

प्रतिकृया दिनुहोस्

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको...

आज २०८२ साल फागुन ६ गतेको राशिफल

आज फागुन ६, २०८२ ( फेब्रुअरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...