बेल्चाले हिउँ हटाइँदै सिस्ने गाउँपालिका
सिस्ने गाउँपालिका–३, को गाउँभन्दा माथि हिमपात भएको छ भने अन्य ३० वडाका सबै बस्तीमा हिउँ परेको छ । ‘गाउँसम्म बाक्लो हिउँ परेको छ,’ भूमे गाउँपालिका–२, का जयबहादुर बुढा मगरले भने, ‘यो वर्ष तलतलका गाउँसम्म पहिलोपल्ट हिउँ झर्यो ।’
अघिल्लोपटक हिमाली गाउँमा धेरै हिउँ परेको थियो भने औलतिरका गाउँमा हिउँ झरेको थिएन । हिउँका कारण जनजीवन कष्टकर बनेको छ । सर्वसाधारण घर बाहिर निक्लन सकेका छैनन् भने पशुवस्तु पनि गोठभित्रै राखेका छन् ।
हिमपात भएपछि चिसो धेरै बढेको छ । बाक्लो हिमपातले गहुँ, जौं, आलुलगायतका हिउँदेबालीमा क्षति पुगेको किसानले बताएका छन् ।
पुथाउत्तरगंगा गाउँपालिकाको मैकोटमा हरेक घरको छतमा बाक्लो हिउँ परेको छ । घरबाहिर निस्कन पनि बेल्चाले हिउँ फाल्नुपर्ने अवस्था छ । सर्वसाधारणहरु आँगनको हिउँ हटाउन विहानैदेखि लागि परेका छन् । घाम नलागे पछि आँगन, बरन्डा र छतको हिउँ पग्नल मुस्किल छ ।









