News Portal

‘साइकलमन्त्री’सँग गाडीको लस्कर

हिमाली संचार संवाददाता
६२६ पटक

काठमाडौं -संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरण पेस गर्दा लेखेका थिए– सवारीसाधनका नाममा पुरानो साइकलमात्र ।

त्यतिबेला ‘सादगी नेता’ भनेर उनको प्रशंसा भयो । यतिबेला तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ ।

मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराएका हुन् । उनको घरायसी काममा समेत सरकारी गाडी, इन्धन र चालक छन् ।

उनी मन्त्रालयले उपलब्ध गराएको फोर्डको सुविधायुक्त गाडीमा हुँइकिन्छन्, जसको चालक रमेश लम्साल छन् । यसबाहेक उनलाई गृह मन्त्रालयले बा २ झ १०७५ नम्बरको कार पनि दिएको छ । गृहले मन्त्रीको शपथ लिएकै दिन ३ फागुनमा सशस्त्र प्रहरीका एक चालकसहित यो गाडी उपलब्ध गराएको थियो । यो गाडी अधिकांश समय मन्त्री निवासमै हुन्छ

पत्नी विमला महतका लागि मन्त्रालयकै नाममा रहेको बा १ झ ९८४७ नम्बरको गाडी तानेका छन् । यसअघि उक्त गाडी तत्कालीन स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही चढ्थिन् ।

सशस्त्र प्रहरीका सहायक हवल्दार कृष्ण भण्डारीले चलाउने यो गाडीलाई हरेक दिन मन्त्रीपत्नी विमलाले व्यक्तिगत काममा प्रयोग गर्छिन् । मन्त्री पण्डितकै आग्रहमा उक्त गाडीको रातो–नीलो प्लेट हटाएर सेतो राखिएको मन्त्रालयका अधिकारीले बताए ।

मन्त्री पण्डितले आफूले प्रयोग गर्ने दुइटासहित निवासमा थप दुई गाडी प्रयोग भएको स्विकारे । ‘सुविधाले पाउने गाडीबाहेक मसँग अरू छैन,’ उनले भने, ‘क–कसले कुन–कुन चढ्छन्, मलाई थाहा छैन ।’ उनको निजी सचिवालयले तत्कालीन स्थानीय विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को बा २ झ ५५५ नम्बरको हाइलक्स गाडीसमेत दुरुपयोग गरिरहेको छ ।

‘यो गाडी मन्त्रीकै मान्छे/कार्यकर्ताले प्रयोग गर्छन्,’ मन्त्रालयका एक अधिकारीले भने, ‘चालक र इन्धन अनावश्यक काममा प्रयोग भएको देखेर पनि मन्त्रीज्यूले चाल नपाएजस्तो गर्नुभएको छ ।’ कार्यकर्ता र निजी सचिवालयले निवास र मन्त्रालय आउजाउ गर्न यो गाडी प्रयोग गर्दै आएका छन् ।

साढे तीन महिना पहिले यसलाई मन्त्री पण्डितका निजी सचिव होम लुइँटेलले प्रयोग गर्थे । उनको दिल्लीस्थित नेपाली दूतावासमा सरुवा भए पनि गाडी सचिवालयमै छ । स्वकीय सचिव मनोज राईका लागि फोर्डको बा २ झ ३९६३ नम्बरको गाडी उपलब्ध छ ।

यसका चालक शंकर घले हुन् । यसअघि मोरङका ओसिम आलम स्वकीय सचिव हुँदा पनि यही गाडी प्रयोग गर्थे । पण्डितले उनलाई गत असारमा हटाएर आफ्नै क्षेत्रका राईलाई स्वकीय सचिव बनाएका हुन् ।

मन्त्रीका निजी सचिव रमेश अधिकारीका लागि पनि मन्त्रालयले अलग्गै गाडी दिएको छ । यो गाडी अधिकारी आफै हाँक्छन् । ‘मन्त्री निवासका लागि केही आयोजनाका गाडी प्रयोग भएको सुनेको छु’ संघीय मामिला मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने, ‘मन्त्रीले दुइटा झन्डावाल गाडी नियमानुसार पाउने भए पनि अरू निकायबाट तानेर अनावश्यक प्रयोग भएको छ ।’

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...