News Portal

  • मुद्दाको पेसी चढ्यो कि भन्दै अदालत धाइरहेकी ‘सिस्ने हिमाल’

    हिमालीसंचार संवाददाता
    ४३८ पटक

    शोभा शर्मा,
    काठमाडौं। मेरो मोबाइलमा हरेक महिनाको एक दिन उनको फोन आउँछ। सोमबार पनि आयो। ‘म सर्वोच्च अदालतमा आएकी छु। कर्मचारी खाजा खान गएका रहेछन्। मुद्दा कहाँ पुग्यो भनेर सोध्न आया हुँ,’ मैले फोन उठाउन नपाउँदै उनले भनिन्। ‘के हुन्छ भन्नुस् है’ भनेर मैले फोन राखेँ।

    उनी मानव बेचविखनमा परेकी महिला हुन्। मुद्दामा उनको परिवर्तित नाम छ- सिस्ने हिमाल। २०७१ साल वैशाख १ गते उनलाई रूकुमकै ज्ञानेन्द्र चनरा र उनकी पत्नी रेणुका, काठमाडौंका श्याम डंगोल र सुनिता मुरमुरले रूकुमबाट काठमाडौं ल्याएर विराटनगर, काकडभिट्टा हुँदै भारत पुर्‍याएका थिए।

    भारतको कलकत्ताबाट दुबई हुँदै सिरिया पुर्‍याएर बेच्न भने सुनसरीका भक्ते परियार, टोपेन्द्र अधिकारी (टोपलाल अधिकारी) र कल्पना सार्कीले पनि भूमिका खेलेको भन्दै सिस्ने हिमालले जाहेरी दिएकी थिइन्। जिल्ला अदालत र उच्च अदालतले दोषीलाई कारबाही गर्ने फैसला गरिसकेको छ।

    तर उच्च अदालतको उक्त फैसलाविरूद्ध डंगोलले सर्वोच्चमा पुनरावेदन दिएका छन्। उनी हाल जेलमा छन्। यही मुद्दा खेप्न झन्डै चार वर्षदेखि उनी कर्णाली प्रदेशको आफ्नो गाउँबाट काठमाडौं आएकी छन्। आफूलाई सिरिया पुर्‍याएर बेच्नेहरूले मार्ने धम्की दिएपछि उनी गाउँबाट भागेर काठमाडौं आएकी थिइन्। मुद्दा कहिले सकिएला र आफूलाई बेच्नेहरूलाई जेल जालान् भन्ने प्रतीक्षामै उनका चार वर्ष काठमाडौंमा बिते।

    उनको मुद्दा भने झन्डै दुई वर्षदेखि सर्वोच्चमा झुलिरहेको छ। सोमबार कार्यालय समय सकिएपछि मैले उनलाई सोधेँ, ‘के भएछ?’ जिल्ला अदालतले दस वर्ष कैद गरेको फैसला उल्ट्याएर उच्च अदालतले बीस वर्ष कैद सुनाएपछि डंगोलले सर्वोच्चमा पुनरावेदन हालेका थिए। अरू प्रतिवादीलाई पनि पुनरावेदन गर्ने मौका दिन सर्वोच्चले म्याद काटेको रहेछ। त्यही म्याद तामेल भएको पत्र नआएकाले उनको मुद्दा पेसीमा नचढाएको जवाफ पाएपछि उनी छक्क परिन्।

    ‘सुनिता मुरमुर भन्ने प्रतिवादी यहाँ पुनरावेदन गर्न आएपछि बल्ल तपाईंको मुद्दामा सुनुवाइ हुन्छ,’ कर्मचारीले दिएको जानकारी उनले मलाई बताइन्। अदालतका कर्मचारीलाई उनले भनिछन्, ‘पत्र लिन र ल्याउन कहाँ जानुपर्ने हो म जान्छु नि त!’ तर ती कर्मचारी फिस्स हाँसेर भनेछन्- तपाईं गएर हुँदैन।

    प्रतिवादीहरूलाई पुनरावेदन गर्ने सूचना बुझाएको सय दिनभित्र पुनरावेदन नगरे बल्ल मुद्दा पेसीमा चढ्ने प्रक्रिया छ। कर्मचारीका कुरा सुनेपछि उनी फर्किइन्। यसरी सर्वोच्च धाउन थालेको झन्डै दुई वर्ष हुन आँट्यो। कर्मचारीबाट उस्तै खाले जवाफ सुन्छिन्, फर्किन्छिन्। उनको मुद्दाको फलोअप गर्नु सरकारी वकिलको जिम्मेवारी हो भन्ने उनलाई थाहा छ। तर उनलाई आफूले विश्वास गर्न सक्दिनन्।

    ‘जाहेरी दर्तै गर्ने बेला पुलिसले त नमानेर महिनौं लगाएको थियो। हामी जस्ता गरिब र कोही नभएका मानिसको दुःख सुन्ने वा बुझ्ने कोही हुन्न,’ उनले भनिन्, ‘यो मुद्दा मलाई पो ठूलो कुरा हो। सरकारी वकिललाई त एउटा मुद्दा मात्रै हो। उसले मैले झैं कसरी बुझ्ला र? त्यसैले म बुझ्न आइरहन्छु।’

    बीचमा लकडाउन भएकाले पनि उनको मुद्दा प्रक्रियामा ढिलाइ भयो। मुद्दा लड्न काठमाडौंमा उनी भौतारिँदा आफूले दु:ख पाएको बताउँछिन्। उनले जसविरूद्ध मुद्दा दिएकी थिइन्, उनीहरूले केही गर्छन् कि भन्ने डर छँदैछ। लकडाउनमा उनको मुद्दा मात्र ढिलो भएन, जीवन धान्न पनि सकस भयो।

    ‘म एक-दुई ठाउँमा घरसरसफाइको काम गर्थेँ र एउटा घरमा भाडामा बस्थेँ। लकडाउन सुरू हुनेबित्तिकै घरबेटीले निकाले,’ उनले भनिन्, ‘म कैयौं दिन भद्रकाली मन्दिर अघि बसेँ।’ उनी केही समय आफ्नो गाउँ पनि गएकी थिइन्। तर उनलाई त्यहाँ बस्न गाह्रो भयो।

    ‘धम्कीका खबरहरू आइरहन्छन्। आमा दिदीबहिनीहरू डराउँछन्। म भइनँ भने बरू कसैले केही भन्दैन। गाउँमा पनि बस्न नसकेपछि फेरि म काठमाडौं आएँ,’ उनले भनिन्। उनकी एउटी किशोर उमेरकी छोरी पनि छन्। पछिल्ला दुई वर्ष छोरीलाई एउटा गैरसरकारी संस्थाले आश्रय दिएको थियो। अहिले भने आमाछोरी सँगै बस्छन्। उनीहरू दुवै कामको खोजीमा भौंतारिरहेका छन्।

    दुई वर्षअघि उच्च अदालत, पाटनले सिस्ने हिमालको बेचबिखन गर्नेलाई कैद सुनाएको थियो। कतिपय कसुरदारलाई अभियोगबाटै छुटकारा दिने अनुसन्धान अधिकृत, सरकारी वकिलका साथै मुद्दा लागेका अभियुक्तलाई सफाइ दिने जिल्ला न्यायाधीशमाथि टिप्पणी पनि उठाएको थियो। ज्ञानेन्द्र, सुनिता र श्यामलाई प्रहरीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयले मुद्दा चलाएको थियो। जसमध्ये जिल्ला अदालतबाट श्यामलाई दस वर्ष कैद भए पनि ज्ञानेन्द्र र सुनिताले सफाइ पाएका थिए।

    जिल्ला अदालतले कम सजाय गरेका श्याम डंगोल र सफाइ पाएका ज्ञानेन्द्र चनरा र सुनिता मुरमुरलाई जनही बीस वर्ष कैद, दुई लाख जरिवाना र पीडितलाई दुई लाख नै क्षतिपूर्तिको फैसला गर्दै न्यायाधीश यज्ञराज भट्ट र टेकनारायण कुँवरको इजलासले यस्तो टिप्पणी उठाएको थियो। यो फैसला असार ३१ गते भएको थियो।

    सिस्ने हिमालले भने आफूलाई बेचविखन गर्ने कार्यमा यी तीनबाहेक भक्ते परियार, कल्पना सार्की र टोपेन्द्र अधिकारी पनि थिए भन्दै जाहेरी दिएकी थिइन्। जाहेरीमा उल्लेखित परियार, सार्की र अधिकारी तथा पीडितलाई प्रलोभन पार्नेदेखि सिरियासम्म पुर्‍याउने रेणुका चनरालाई अनुसन्धानको दायरामा नल्याउने र अभियोजन पनि प्रहरी र सरकारी वकिलको कार्य बदनियतपूर्ण  देखिएको टिप्पणी उच्च अदालतले गरेको छ। उनीहरूलाई मुलुकी अपराध संहिता अन्तर्गत कारबाही गर्नुपर्ने देखिएको उक्त टिप्पणीमा उल्लेख छ।

    उक्त दफामा बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुने भनिएको छ। यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ। पीडित सिस्ने हिमालले भने उच्च अदालतको फैसलाले न्याय दिएको बताइन्। तर आफूलाई सिरिया पठाउने भक्ते परियार, कल्पना सार्की र टोपराज अधिकारीलाई पनि कानुनी कठघरामा ल्याएपछि मात्र आफ्नो मन शान्त हुने उनको भनाइ छ।

    ‘अदालतले तीन जनालाई गरेको सजाय त ठीक लाग्यो। तर मलाई बेच्ने अझ तीन जना त अहिले पनि खुलेआम घुमिरहेका छन्। उनीहरू जेल नपुगी मलाई पूरै न्याय हुँदैन,’ उनले भनिन्, ‘उनीहरू जेल नजाउन्जेल म सुरक्षित हुन्छुजस्तो पनि लाग्दैन।’

    २०७१ साल वैशाख १ गते ज्ञानेन्द्र, सुनिता र श्याम डंगोलले उनलाई रूकुमबाट काठमाडौं ल्याएर विराटनगर काँकडभिट्टा हुँदै भारत पुर्‍याएका थिए। पाँच दिनपछि भारतको कलकत्ताबाट दुबई हुँदै सिरिया पुर्‍याएर उनलाई बेचिएको थियो।

    सिस्ने हिमाललाई डंगोलले कम्पनीमा काम लगाइदिने लोभ देखाएका थिए। डंगोलसँग भने ज्ञानेन्द्र चनराले भेटाएका थिए। सिस्ने हिमाललाई कलकत्ता पुर्‍याएर उनीहरूले भक्ते परियार र टोपराज अधिकारीको जिम्मा लगाएका थिए। ती दुबैले सिस्ने हिमालसहित पाँच जना केटीलाई कलकत्तादेखि दुबई पठाए। त्यहाँबाट उनीहरूकै च्यानलका एक व्यक्तिले सिरिया पठाएका थिए।

    सिरिया पठाएपछि मात्र आफूलाई सात हजार अमेरिकी डलरमा बेचिएको थाहा पाएको सिस्ने हिमालले अदालतमा बयान दिएकी थिइन्। सिरियामा भएको यो समूहको अफिसले उनलाई एउटा घरमा काम गर्न भन्दै पठाएको थियो। त्यहाँ आफूलाई खान नदिने, यौन शोषण गर्ने, कुटपिट गर्ने, काम गरेको पैसा नदिनेलगायतका शोषण गरेको सिस्ने हिमालले अदालतसमक्ष बयान दिएकी थिइन्।

    तीन महिना काम गरेपछि उनी बिरामी परिन्। त्यो परिवारले उनलाई अफिस फर्काइदिएको थियो। त्यो अफिसका कर्मचारीले आफूलाई दिनदिनै यातना दिने गरेको सिस्ने हिमालले बताइन्। सिरियाको दमास्कसस्थित उक्त अफिसमा दुई महिना बसेपछि उनले लुकेर परिवारसँग सम्पर्क गरेकी थिइन्।

    परिवारले अफिसमा दुई लाख पैसा पठाइदिएपछि उनलाई फर्काइएको थियो। फर्केर आएलगत्तै उनले ज्ञानेन्द्र, श्याम डंगोल, सुनिता मुरमुर, भक्ते परियार, टोपराज अधिकारी र कल्पना भन्ने एक महिलाले मिलिजुली आफूलाई बेचेको भन्दै जाहेरी दिएकी थिइन्।

    सुरूमा प्रहरीले उनको जाहेरी लिएन। चार महिनापछि विभिन्न संघसंस्थाको सहयोगमा बल्ल उनले प्रहरीमा जाहेरी दर्ता गराउन सफल भइन्। जाहेरी दर्ता भएको एक वर्षपछि ज्ञानेन्द्रलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि  श्याम र सुनितालाई पक्राउ गर्‍यो।

    प्रहरीले सबैविरूद्ध मुद्दा लगे पनि सरकारी वकिलले भने भक्ते परियार, टोपराज अधिकारी र कल्पनालाई फरार रहेको र ठेगाना नमिलेको भन्दै मुद्दा चलाएन। जबकी सिस्ने हिमालले सिरियाको अफिसबाट फेला पारेर ल्याएको ६ जनाकै ठेगाना र पासपोर्टको फोटोकपी प्रहरीलाई बुझाएकी थिइन्।

    सिस्ने हिमालले प्रहरीमा उजुरी दिएपछि ज्ञानेन्द्र र श्यामको समूहले उनलाई मुद्दा फिर्ता लिन धम्की दिएका थिए। रूकुम घर भएकी सिस्ने हिमाल तीनवर्षदेखि काठमाडौंमा छिन्। ज्ञानेन्द्रलाई अदालतले छोडिदिएपछि उनले ज्यान मार्नेसम्मका धम्की दिएकाले घर छोड्नु परेको उनले बताइन्।

    ‘उनीहरूले मलाई नसकेपछि छोरीलाई मार्ने धम्की दिए अनि मैले घर छोड्नुपर्‍यो,’ सिस्ने हिमालले सेतोपाटीसँग भनिन्, ‘मुद्दा काठमाडौंमै भएकाले म यहीँ आएकी हुँ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर १६ गतेको राशिफल

    आज मंसिर १६, २०८२ (डिसेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सार्क क्षेत्रमै चौथो स्थानमा नेपाल: १ लाख १५ हजारभन्दा बढी यौनकर्मी

    काठमाडौं – विश्व एड्सविरुद्धको दिवस–२०२५ का अवसरमा सार्कको एचआईभी–एड्स केन्द्र, काठमाडौंमा आज आयोजित विशेष कार्यक्रममा...

    एनआरएनए एउटा संगठनको उदय, उत्थान, पतन र पुनःएकताको कथन

    कुवेत – गैरआवासीय नेपाली संघ एनआरएनए,नेपाली प्रवासीहरूको अन्तर्राष्ट्रिय पहिचान, सामूहिक आवाज र असल उद्देश्य लिएर जन्मिएको...

    अनियन्त्रित सामाजिक सञ्जाल: नेपालको राजनीति, समाज र राष्ट्रहितमाथि बढ्दो अदृश्य युद्ध

    काठमाडौं -नेपाल आज एउटा अनौठो मोडमा उभिएको छ ,जहाँ लोकतन्त्रका नाममा खुला छाडिएका सामाजिक संजालहरू...

    सुदन गुरुङको पोखरा भ्रमणमा अवरोध प्रयासको आरोप

    पोखरा, मंसिर १५ – हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले आफ्नो पोखरा भ्रमणलाई लिएर नेकपा...