लाइक लुकाउन मिल्ने फिचर थप्दै इन्स्टाग्राम

एजेन्सी – सामाजिक सञ्जाल फेसबुकको स्वामित्व रहेको कम्पनी इन्स्टाग्रामले अब प्रयोगकर्तालाई लाइक लुकाउन मिल्ने विकल्पसहितको फिचर दिने भएको छ। कम्पनीले मानिसहरुलाई दबाब नहोस् भनेर यस्तो विकल्प दिनलागेको हो।
यो फिचर ‘इनेबल’ गरेका प्रयोगकर्ताले लाइक गर्ने फलोअरको युजरनेम देख्न पाउनेछन्। त्यसमा लाइक गर्ने संख्या देखिनेछैन। यो टुल सन् २०१९ मै धेरै देशमा परीक्षण गरिएको थियो। तर अब भने यो विश्वभर लागू हुने कम्पनीले जनाएको छ। इन्स्टाग्रामका मालिक आदम मोसेरीले यो फिचर आउन समय लागे पनि आफू निकै उत्साहित भएको बताएका छन्।
यो फिचरको परीक्षण र अनुसन्धानको क्रममा इन्स्टाग्रामले लाइक हटाउँदा व्यवहारमा सानो प्रभाव पर्ने बताएको थियो। किनकी कतिपय प्रयोगकर्ताले थोरै लाइक पाउँदा मानसिक चिन्ता गरेको भन्दै केही असन्तुष्टि आएको थियो।
भर्खरै भएको अक्सफोर्डको इन्टरनेट इन्स्टिच्युट स्टडीले सामाजिक सञ्जाल र किशोरावस्थाका युवायुवतीको मानसिक स्वास्थ्यबीच थोरै सम्बन्ध देखिएको पाएको थियो। यसका बाबजुद इन्स्टाग्रामले मानिसहरुलाई असल अनुभव होस् भनेर यो फिचर ल्याएको मोसेरीले बताएका छन्। बीबीसीबाट










