News Portal

आजभोलि खै किन हो

हिमालीसंचार संवाददाता
५६३ पटक

विश्वासका रैथाने थाङ्ग्राहरूमा
भ्रमका काउछोहरू
अपव्याख्या लहरिँदै गर्दा
निम्बस फुलेको आकाशमुनि
भाग्यको कुंडो उग्राइरहेका आमाहरू
आजभोलि
खै किन हो कुन्नि ?
निथ्रुक्कै भिजेको समयलाई
विचारका टपरीहरूमा निचोरेर
विद्रोहका सङ्गिनीहरू पो गाउन थालेछन् !

उकालो चढ्दै गरेको डोकामा
पशुपतिको खप्पर बोकेर
दर्शनका प्रमाण जुटाउने च्याक्सुलीहरू
वयस्क बुद्धको लाज ढाकेर
जोवनको फरिया च्यातिएका मुजुरीहरू
सायद,
मृत सपनाहरू बौरिएर होला
क्रान्तिका भैलिनीहरू पो खेल्न थालेछन् !

विज्ञानको निधारमा
हाउगुजीका अक्षताहरू टाँसिएको बेला
विवेक निभेको आरनमा
रुढीवाद मगमगाइरहेका हजुरआमाहरू
आजभोलि
खै किन हो कुन्नि ?
क्यानभाषभित्रको अमूर्त तस्विरलाई
रछ्यानहरूमा मिल्काएर
मुक्तिका आयामहरू पो कोर्न थालेछन् !

यो भुइँको उदास पुर्पुरामा
दुःखहरू खनेर
आफ्नै अस्मिता बटुल्ने कम्लरीहरू
सिर्जना ब्यूँझिएर पनि
पाठशालामा बोक्सी डामिएका चाँचरीहरू
सायद,
सपनाका रङहरू फेरिएर होला
जनयुद्धका गर्भहरू पो राख्न थालेछन् !

जीवनको हरियो मैदानमा
अफिमको डढेलो सर्लक्कै सल्केपछि
मनुका कोठरीहरूमा
अन्धविश्वासी भरोसा टेकाइरहेका जिजूआमाहरू
आजभोलि
खै किन हो कुन्नि ?
आफ्नै डसाहा चेतनालाई
द्वन्द्ववादका कार्यशालामा गालेर
स्वाभिमानका पूर्णाङ्कीहरू पो लेख्न थालेछन् !

चुल्ठामा राष्ट्रिय फूल सिउरिएर
जिन्दगीका ताप्केहरूमा
आफैंलाई शरणार्थी उसिनिरहेका राइझुमाहरू
पोल्टामा संस्कृति बेरेर
कोठेबारीमा गर्भ तुहाइएका झिन्झिनीहरू
सायद,
मूल्यबोधका उदात्त छालहरूले होला
जीवनको मूल्य खोज्न
छापामार छोराहरू पो हुर्काउन थालेछन् !

प्रथा

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...