News Portal

विदेशबाट फर्किएर भैँसीपालन, परिवारसँग रमाउँदै मनग्य आम्दानी

हिमालीसंचार संवाददाता
५३० पटक

जनार्जन खत्री,
सर्लाही – दश वर्ष वैदेशिक रोजगारीमा गएर फर्किनु भएका सर्लाहीको हरिवन नगरपालिका वडा नं. ५, घुर्कौलीका सतनकुमार महतो अहिले गाउँमै भैँसीपालनमा रमाइ रहनुभएको छ। कृषि विकास बैङ्क हरिवन शाखाले सहुलियत कर्जा प्रदान गरेपछि खुसी हुँदै २ वर्ष अघिदेखि भैँसीपालन सुरु गर्नुभएका महतो राम्रो आम्दानी हुन थालेपछि दङ्ग हुनुहुन्छ।

३२ वर्षीय महतो आफैले भैँसी पालेर दूध बेच्दै आउनुभएको छ भने घरमै दूध सङ्कलन केन्द्र खोली दूध खरिद गरिदिँदा गाउँका किसानहरु पनि खुसी छन्। विदेशबाट फर्किएपछि आफूले कमाएको पैसाले गोठ निर्माण गरी कर्जा माग्न बैङ्कमा पुग्नु भएका महतोलाई बैङ्कले सजिलै कर्जा दियो। ‘म दश वर्ष कतार र मलेसिया बसेर फर्किएको हुँ, गाउँमा आएपछि अब यहीँ भैँसीपालन गर्ने सोँच बनाएर गोठ निर्माण गरे।

तर आफूले कमाएको पैसाले गोठ बनाउन मात्रै पुग्यो, भैँसी किन्ने पैसा भएन्’ महतोले भन्नुभयो, ‘बैङ्कमा गएर कुरा राखेपछि उहाँहरु (बैङ्क) का कर्मचारीले आएर हेर्नासाथ कर्जा दिनुभयो। त्यही कर्जाले जीवन नै बद्लिएको छ। महतोको गोठमा अहिले सानाठूला गरी १९ वटा भैँसी छन्। गाउँका किसानबाट उहाँले दैनिक साँढे ४ सयदेखि ५ सय लिटर दूध खरिद गर्दै आउनुभएको छ।

आफ्नै गोठ र गाउँका किसानबाट उठाएको दूध महतो आफैले हरिवन बजारमा खोल्नु भएको डेरीबाट सजिलै बिक्री हुन्छ। दूध सङ्कलन गर्ने क्रममा दुधमा पानी हाले/नहालेको पत्ता लगाउने मेसिन जडान गरेकाले महतोले बजार पु-याउने दूध ग्राहकले पनि असाध्य रुचाउँछन्। सतनकुमारले घरमै दूध चिस्यान मेसिनसमेत राख्नुभएको छ।

विदेशमा रहँदै भैँसीपालन गर्ने सोँच बनाउनुभएका महतोले आफ्नै भाईलाई जेटिए पढाएकाले पशु प्राविधिकको समस्या छैन। विदेशमा बस्दै भाई रामप्रवोधलाई जेटिए पढाएको थिए, अहिले उसैले भैँसीहरुको हेरविचार गरिरहेको छ, बुवाआमा र श्रीमतीले पनि साथ दिइरहनु भएको छ,’ महतोले भन्नुभयो,‘सबै मिलेर काम गरिरहेकाले राम्रो आम्दानी भइरहेको छ, महिनामा लाख रुपियाँको हाराहारीमा कमाइ गर्दै आएका छौँ।

सहुलियत कर्जामा ५ प्रतिशत सरकार आफैले ब्याज तिरिदिने गरेको छ भने, किसानले ४ प्रतिशत मात्रै तिर्नुपर्छ। कृषि विकास बैङ्क हरिवन शाखाका प्रबन्धक शैलेन्द्र घिमिरेले महतो र उहाँका परिवारले अत्यन्त मेहनत गरेर लोभलाग्दो किसिमले भैँसीपालन गरिरहेका बताउनुभयो। ‘गोठ निर्माण गर्दा नै उहाँको मेहनत र लगाब देखेर हामीले ऋण प्रवाह गरेका हौँ, बैङ्कले कर्जा प्रवाह गरेको मध्येकै मनग्य आम्दानी पनि गरिरहनुभएको छ,’ घिमिरेले भन्नुभयो।

वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई सरकारले बजेटमा उल्लेख गरेको र नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीति अनुसार कृषि विकास बैङ्कमार्फत सहुलियत कर्जा प्रदान गरिरहेको प्रवन्धक घिमिरेले बताउनुभयो। उहाँले भैँसीपालन, गाईपालन, तरकारी खेती, दूध डेरी, बाख्रपालना, बंगुरपालन लगायतमा क्षेत्रमा बैङ्कले लगानी गरिरहेको जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...