News Portal

चोटिला दश मुक्तकहरू – प्रथा

हिमालीसंचार संवाददाता
७६७ पटक

मुक्तक – १

सुनसान छ सागर पनि छाल हरायो कि
पेरूङ्गो नि रित्तो भा’छ जाल हरायो कि
आज किन उदास छ जिन्दगीको डाली
मादलुको घिन्ताङबाट ताल हरायो कि !

मुक्तक – २

धनको लोभ मस्त चढ्यो बास यतै छुट्यो
गाउँ घर छोडी शहर छिरें तास यतै छुट्यो
चुच्चे ढुङ्गो उही टुङ्गो हुँदोरहेछ जिन्दगानी
आखिरमा त लाश जल्दा सास यतै छुट्यो !

मुक्तक – ३

कति भर्थे भकारीमा रास बोकी मर्ने भए
कति धर्थे गोजेरोमा सास रोकी भर्ने भए
लोभैलोभले निलिसक्यो के नै बाँकी छ र
कति छर्थे चितामाथि लास उठी चर्ने भए !

मुक्तक – ४

दरिलो भए बायाँ पाङ्ग्रो दायाँ उस्तै हुन्छ
जसरी लाग्छ घाम चर्की छायाँ उस्तै हुन्छ
शङ्काले नै टुट्छ हेर जीवनको तार पनि
जति गाढा मनको नाता मायाँ उस्तै हुन्छ !

मुक्तक – ५

अलिनो भो खा’को गाँस नुन कसले चोर्यो
बेइमानी भो जोवन मेरो धुन कसले चोर्यो
उडिरहेछन् डालीबाट एक-एक गरी खुसी
सुनसान भो मनको बाग जून कसले चोर्यो ?

मुक्तक – ६

लुछ्ने जति लुछेपछि खरानीको कुरा गर्छौ
इमान जमान गुमाएर घरानीको कुरा गर्छौ
विचित्र यो संसारको विचित्रै छ चाला पनि
किलकिलेमा रेटेपछि परानीको कुरा गर्छौ ?

मुक्तक – ७

शहर हिँड्यौ छोडी मुना धनले डोर्यायो कि
भन्तु भयौ जीवन त्यागी वनले डोर्यायो कि
कहाँ कहाँ पुग्छ प्यारा यो जिन्दगीको बाटो
कुटीमै पस्यौ आज फेरि मनले डोर्यायो कि !

मुक्तक – ८

चुनाब आ’छ गाउँमा हजुर भोट पनि लैजाऊ
घरमा तलो थप्नु पर्ला हजुर नोट पनि लैजाऊ
देशकै लागि सोच्दासोच्दै फुर्सद नमिल्ला कि
चिसो छिर्ला गाथमा हजुर कोट पनि लैजाऊ !

मुक्तक – ९

कसरी भरमा पर्नु हजुर मुखिया नै जाली भा’छ
के को लाली भर्नु हजुर अनुहार नै काली भा’छ
सकुनीहरूको बैठकमा पासाको नै खेला चल्छ
कसको विश्वास गर्नु हजुर बगरे नै माली भा’छ !

मुक्तक – १०

जति काट्छौ उति लाग्छु चुलेसीको धार म हुँ
जहाँ घोट्छौ त्यहीँ बज्छु सारङ्गीको तार म हुँ
कहाँ उड्दछ र फूलको रङ पत्रपत्र सुके पनि
जति चुँड्छौ उत्ति बढ्छु विचारको झार म हुँ !

प्रथा
~ काठमाडौँ, नेपाल।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...