कर्णालीका ४ जिल्ला कोरोना मुक्त

२०७७ साउन १६, शुक्रबार
वीरेन्द्रनगर – कर्णालीमा कोरोना भाईरसलाई जित्नेको संख्या १७ सय नाघेको छ। आज सुर्खेत, सल्यान र रुकुमपश्चिमका विभिन्न आईसोलेसन सेन्टरबाट १८ जना निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा १८ जना निको भएसंगै कर्णालीमा कोरोना जित्नेको संख्या १७ सय १५ पुगेको मन्त्रालयले जनाएको छ। कर्णालीमा अव २ सय १७ जनाको विभिन्न आसोलेसनमा उपचार भईरहेको स्वास्थ्य महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो।
यस्तै पछिल्लो २४ घन्टामा दैलेखमा एक जनामा कोरोना भईरसको संक्रमण पोजेटिभ देखिएको छ। दैलेख अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा नरायण नगरपालका २ का एक पुरुषमा संक्रमण देखिएको छ।
पछिल्लो २४ घन्टामा १ सय ७१ जनामा गरिएको परिक्षणमा १ जनामा कोरोना पुष्टि भएको हो। यस्तै हालसम्म पिसिआर विधिमार्फत ४० हजार ७ सय १२ जनाको परिक्षण गरिएको मन्त्रालयले बताएको छ।
यसैबीच सुर्खेतमा अहिले ४० जना संक्रिय कोरोना संक्रमितहरु रहेका छन। यस्तै दैलेखमा १२९, सल्यानमा ९ कालिकोट र जाजरकोटमा १२/१२ र मगुमा एक जना रहेका छन।
यस्तै कर्णालीका ४ जिल्ला कोरोना मुक्त भएका छन। रुकुम पश्चिम, जुम्ला, डोल्पा र हुम्लामा अहिले एक जना पनि कोरोना संक्रमित छैनन्।










