आज : २०२६-०६-०७, आइतबार

सांसदबाट सरिता गिरी निष्कासित, सचिवालयद्वारा सूचना जारी

काठमाण्डौ । संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद पदबाट गरिएको निष्कासन गरेको सार्वजनिक सूचना जारी गरेको छ।

सचिवालयले बिहीबार सूचना टाँस गरी पार्टीले गरेको कारबाही जानकारीका लागि सार्वजनिक गरेको हो। सांसद गिरी समाजवादी पार्टीकी समानुपातिक तर्फकी सांसद हुन्। अघिल्लो महिना भएको संविधान संशोधन विधेयक सम्बन्धमा उनले पार्टी ह्विप उल्लंघन गरेकी थिइन्। 

सोही कारण उनलाई पार्टीले सांसद र साधारण सदस्यबाट निष्कासन गरेको थियो। बुधबार मात्रै पार्टीका तर्फबाट संसद सचिवालयमा कारबाहीको पत्र पठाएको थियो। 

राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा कारबाहीको सूचना प्राप्त भएपछि सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्षले त्यस्तो सूचना दर्ता भएको मितिले पन्ध्र दिनभित्र त्यस्तो सूचनाको जानकारी सम्बन्धित सदन वा सभामा दिने र सभाको अधिवेशन चालु नरहेको अवस्थामा त्यस्तो सूचना सम्बन्धित सचिवालयको सूचना पाटीमा टाँस गर्नु पर्ने व्यवस्था छ।