News Portal

मेरो कथा : बुरूको देश

हिमाली संचार संवाददाता
८३४ पटक
२०७७ असार १७, बुधबार

जीवनका आदिम रङ हरू भरेर
जब सुस्तरी फुकेथ्यौ
साकुहाचीमा आफ्नै विश्वासको
प्राण
तब निस्किन थालेथ्यो
तिम्रो यो लुरू गीतमा प्रेमिल धुन !
हो नियाम्बा बुरू,
बम्बाला नदीको धारै-धार भएर
आज पनि बगिरहेछ
त्यही धुन तिम्री प्रेमीकाको मनसम्म !
सायद,
यतै कतै छ होला
इतिहासको त्यो खाली पाना पनि
जहाँ लेख्नु छ – तिमीले स्वाधीनताको कथा !
पुतली नाच्ने फूलबारीमा
मालीहरू बहुलाएर
फूलको नै हत्या गर्न थालेपछि
भविष्यको ककून बोकेर
म आएको छु
गाईगोठ छोडेर – यो कङ्गारूको पठारमा !
केही सम्झनाहरू
आमाको पटुकाको फेरोमै छोडिए
त केही सम्झनाहरू
सुरूवालको इँजारमा झुण्डिएर
सपनाको उडान भर्दै
म सँगसँगै आज यतै आएका छन् !
यति ठुलो सम्भ्रान्त शहर
पेटीमा बसेर
चुपचाप मेरो पसिना काढिरहेछ
यस्तो लाग्छ
गाउँको भरिलो रनवन छोडेर
म एउटा फिरङ्गी माहुरी आएको छु !
आफ्नै मष्तिस्क निचोरेर
अब मैले बनाउनुछ – घारभरि आलो
मह !
र हरेक दिन बुझाउनु छ
जिन्दगीका सबै उर्जाशील
खुसीहरू !
जब बिस्तारै सेलाउने छ
मेरो धमनीमा दौडिरहेको तन्नेरी
रगत
र मेटिदै जानेछन्
रेष्टुराँको टेबलबाट मेरा हातका चक्रहरू
तब काटिने छ होला
यो शहरको बहिखाताबाट मेरो तस्वीर !
थाहा छैन मलाई,
कुन बाटो हो गाउँसम्म फर्केर जाने ?
कसैले त खबर देऊ
यतिखेर बग्दैछ कि सुकिसक्यो होला
भोकको आँसु रोएर
कहिल्यै नथाक्ने माईखोलाको पानी पनि ?
ठिक यो बेला,
कस्मेटिक घुम्टो ओढेर
मस्त निदाइरहेको छ – क्विन्स्ल्याण्ड वीच !
भन नियाम्बा बुरू
तिमीले टेकेको जमिन लुछेर
कसले टाँचा मारिरहेछ – सुनखानीमाथि ?
चराहरूको स्वर भरेर
तिमीले गाउने गरेको लुरू गीत
कुन सङ्ग्रालयमा बन्दी बनेको छ होला ?
र आफैले झोडा फाँडी
सम्याएको खेतबारीको आँटी छोडेर
यो किम्बर्ले मैदानमा
यतिखेर तिमी किन एक्लै भेडा चराइरहेछौ ?
कहाँ छ होला
तिम्रो माटोको आदिम सुगन्ध
कति छ होला
तिम्रो नदीको उन्मुक्तिको परल मूल्य
र कस्तो छ होला
तिम्रो जङ्गली बतासको मुस्कानको तरेली ?
जीवनको लय गुमेर
भोकको डढेलोले खर्लप्पै निलेपछि
दुष्टहरूले पासो थापेर
तिम्रो स्वाधीनता जालमा पारेको हुनुपर्दछ !
थाहा छैन मलाई
यो आदिम देशको बडापत्रवाट
कसरी मेटियो होला
टोटेम (totem)ले दिएको तिम्रो प्रिय नाम ?
म त फिरङ्गी हुँ
देश त उतै कतै छोडेर आएको छु !
र यो एकलास किनारामा
आफ्नै सपनाहरू आफैँ जलाइरहेछु !
प्रिय नियाम्बा बुरू !
कुनै दुष्टले लुटेर
आज लगेको छ – तिमीबाट तिम्रो माटो !
सायद,
यो धर्तीमा कुनै त्यस्तो शब्द छैन
जसले व्यक्त गर्न सकोस्
देशभित्रै देश हराएर
शरणार्थी बाँच्नुको पिडाको त्यो गहिराई ?
मलाई नै सिरानी हालेर
निदाएको छ
यो सम्भ्रान्त शहर यति ढुक्कले चौखटमा !
जति चुसाउनु थियो
सबै-सबै रसहरू चुसाएर
यतिखेर म ढोडको खोस्टो बनेको छु
र ड्रिम गार्डेनमा बसेर
पिजाको सेक्सी अनुहार हेरिरहेछु !
म सम्झिरहेछु
पटुकाको घुर्मैलो फेरो खोलेर
आमाले दिएको सिलाम-चामलको फ्वाँक !
जहाँ अविरल बग्ने गर्थ्यो
योभन्दा झन मीठो स्वादको सुनकोसी !
हो आमा !
अब म गाउँ फर्किन्छु
र उसै गरी निदाउँछु – आर्यघाटमा
जसरी निदाएको छ
त्यो सुनखानीको गोरे साहु
यो सिमेटरी पार्कको शान्त ओछ्यानमा !
भन नियाम्बा बुरू !
यो धर्तीको धनीपूर्जाबाट
नाम काटिएर
गुमनाम पारिएकाहरू
निदाउने अन्तिम ओछ्यान कहाँ छ ?

– प्रथा

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...