News Portal

  • नेपालमा अब डिजिटल कारोबार हुनुपर्छ – सीईओ शाह

    हिमाली संचार संवाददाता
    २९० पटक

    काठमाडौं – देशमा लकडाउन भएको एक महिना नाघिसकेको छ। लकडाउनका बेला पनि बैङ्कहरू सुचारु छन्। नागरिकहरूले बैङ्क पुगेर सेवा लिन भने पाएका छैनन्। यस्तोबेला डिजिटल कारोबार गर्न केन्द्रीय बैङ्कले आग्रह गर्दै आएको छ।प्रविधिमा धेरै पछाडि रहेको नेपालका लागि कोभिड-१९ एउटा अवसरको रुपमा आएको नबिल बैङ्कका सीईओ अनिल केसरी शाह बताउँछन्।

    केन्यामा चोरी र लुटपाट धेरै बढेपछि डिजिटल कारोबार बढेको उदाहरण दिँदै उनले नेपालमा पनि कोरोनाका कारण डिजिटल कारोबार बढ्ने बताए। अब हेरौ बैङ्किङ प्रविधिका विविध पक्षमा सीईओ शाहसँग अनलाइनखबरका रोयल आचार्यले गरेको कुराकानी:

    लकडाउनका बेला कसरी सेवा प्रदान गरिरहनुभएको छ ?

    मान्छेले बिर्सिरहेको जस्तो लाग्छ, अहिले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूले राम्रो काम गरिरहनु भएको छ। म उहाँहरूलाई सलाम गर्छु।

    अहिले धेरै मान्छेहरूलाई अस्पताल नगए पनि भएको छ। तर, वित्तीय संस्थामा त जानै परेको छ। पैसा त सबैलाई चाहिन्छ नै। बैङ्क तथा वित्तीय संस्थाहरू अनिवार्य आवश्यकताका क्षेत्रहरू हुन्। दाल, तरकारी किन्न पैसा नभई हुन्न। पैसाका लागि बैङ्क जानैपर्छ।

    लकडाउनका बेला सेवा दिन हामीले एउटा रणनीति बनाएर कार्यान्वयन गर्यौँ– यथासम्भव प्रविधि प्रयोग गर्ने। एटीएम जस्तो प्रविधि प्रयोग गर्न अप्ठ्यारो ठाउँमा बैङ्कको शाखा नै खोलेर सेवा दिने। परिणाम, अहिलेसम्म बैङ्कको पैसा निकाल्न नपाएको गुनासो आएको छैन। ग्राहकहरू बैङ्क तथा वित्तीय संस्थाहरूले दिएको सुविधाबाट सन्तुष्ट हुनुहुन्छ।

    लकडाउनपछि बैङ्किङ प्रविधि प्रयोग बढेको हो ?

    हो, बढेको छ। डिजिटल कारोबार गर्ने लिडिङ बैङ्कको रुपमा नबिल बैङ्क छ। नबिलको प्राथमिकता पनि डिजिटल बैङ्किङमा छ। वर्ल्ड बैङ्क, एडीबी, आईएमएफ लगायतबाट हामीले बारम्बार सुन्नपर्थ्यो– तिमीहरूले मोबाइलबाटै कारोबार गर्ने प्रविधि किन नअपनाएको, केन्यालाई हेर न !

    डाँडाकाँडा भएको नेपालमा पनि प्रविधि प्रयोग बढाउनुपर्ने सुझावहरू आउँथ्यो। हामीले बुझ्दा केन्यामा चोरी लुटपाट धेरै भएपछि डिजिटल कारोबार बढेको रहेछ। केन्यामा क्राइम भएजस्तै नेपालमा डिजिटल बढाउने कोरोना बनेको छ। अहिले एटीएम कार्डमात्र नभई मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङसमेत बढेको छ।

    बैङ्कहरूले प्रविधि प्रयोग बढाउन खोजेकै थिए। त्यसअनुसार ल्याएका प्रोडक्टहरू बिकेको भने थिएन। कोरोनाले यसको महत्व बढाएको छ। कोरोनापछि नेपालमा डिजिटल कारोबार बढ्छ।

    नेपालमा बैङ्किङ प्रविधि असुरक्षित छ भनिन्छ नि ?

    प्रविधिमा केही चुनौती हुन्छ नै। यसको अर्थ असुरक्षित भन्ने हुँदैन। फेरि प्रविधि असुरक्षित भएर मेरो खाताको पैसा गयो, म खत्तम भएँ भन्ने सुनेको छैन। इन्टरनेट ह्याकिङ भएर कुनै ग्राहकले एक रुपैयाँ पनि गुमाउन परेको छैन भने असुरक्षित कसरी भन्ने ?

    केही समयअघि एटीएम ह्याक गर्ने विदेशी समूह पैसा चोरेर भाग्न पाएन, पक्राउ परिहाले। त्यसलाई नै आधार मानेर नेपालमा बैङ्किङ प्रविधि असुरक्षित छ भनेर लेखेको मैले पनि पढेँ। म यहीँ प्रश्न सोध्न चाहन्छु– कुन देशमा एटीएम ह्याक हुँदाहुँदै बैङ्कले थाह पाएर ह्याक गर्ने समूहलाई नै समातेको छ ? कति देशमा त यति मिलियन डलर लिएर भागेको खबर सुनेका छौँ। तर, नेपालमा त्यस्तो भएको छैन।

    प्रविधिमा चुनौती हुन्छ, त्यसमा लगानी बढाउँदै जानुपर्छ। कसैले चोर्न खोज्छ भन्दैमा असुरक्षित छ भन्नु ठिक होइन। चोर आएर चोर्ला कि भनेर हामी घरमा ताला लगाउँछौँ। ताला लगाएको घरै असुरक्षित छ भन्न त मिल्दैन नि।

    भनेपछि कोभिड-१९ प्रविधि प्रयोग बढाउने अवसर नै हो त ?

    बैङ्कहरूले अवसरका रुपमा लिएका छन्। यो रहरले होइन, बाध्यताले भएको हो। लकडाउनमा पनि ग्राहकलाई सेवा चाहिएकै छ। हामी भएका प्रोडक्टबारे बुझाउने र नयाँ प्रोडक्ट ल्याउने काम गरिरहेका छौँ। नबिलले भर्खरै नयाँ प्रोडक्ट लञ्च गरेको छ। अन्य बैङ्कहरूले पनि गरेका छन्।

    नबिलको नयाँ प्रोडक्ट कस्तो हो ?

    पहिलो कम्प्युटरराइज बैङ्किङ ल्याउने बैङ्क नबिल नै हो। ३५ वर्ष अघि पहिलो ज्वाइन्ट भेन्चरको रुपमा नबिल नेपाल आउँदा नै हामीले कम्प्युटर भित्र्यायौँ। त्यो बेला कागजमा लेखेर बैङ्किङ कारोबार हुन्थ्यो। रेकर्डहरू पनि कागजमै हुन्थे।

    नबिलले एटीएम ल्याउँदा असुरक्षित हुन्छ कि ? अर्को कार्डवालाले मेरो खाताबाट पैसा निकालिदिन्छ कि भन्ने डर थियो। अहिले त कसैलाई त्यस्तो छैन। हजुरबुबा/आमाहरूले पनि मजाले प्रयोग गर्न थाल्नुभएको छ। प्रविधि प्रयोग बढ्दै गयो, हामीले कार्डमा पनि चिप बनायौँ। चिप बेस कार्ड धेरै सुरक्षित हुन्छ।

    योभन्दा सुरक्षित बनाउनुपर्छ भनेर हामीले ट्याप कार्ड ल्याएका छौँ। घरमै बसेर कारोबार गर्न सजिलो होस् भनेर मोबाइल एपमा थप सुविधा दिन थालेका छौँ।

    ईएटनविल ([email protected]/CIBS) पनि सुरु गरेका छौँ। व्यक्तिगत खातामा एक जनाको हस्ताक्षर हुन्छ, एकजनाले चलाउन सक्नुहुन्छ। यस्तो बेलामा कम्पनीको खाता कसरी चलाउन सहज होस भनेर सुविधा ल्याएका हौँ। यसबाट सबै कम्पनीहरूले घरमै बसेर कारोबार गर्न सक्नुहुन्छ।

    हामीले एउटा कल सेन्टर पनि खोलेका छौँ। त्यो चौबिसै घण्टा सुचारू रहन्छ। अर्को ‘नबिना’ भन्ने च्याट बक्स छ, जसले तपाईंलाई चाहिएको सामान्य जानकारीहरू च्याटबाटै दिन्छ। जस्तो– एटीएम कहाँ छ ? शाखा कहाँ छ ? अहिले अनलाइनबाटै खाता खोल्न सकिन्छ। अनलाइनबाटै केवाइसी भर्ने व्यवस्था पनि मिलाउँदैछौँ।

    नेपालमा डिजिटल बैङ्किङ हुँदैन भन्ने थिएन तर, कहिले हुन्छ भन्ने थियो। कोरोनाले त्यो अवसर सिर्जना गरेको छ। अब बैङ्कहरूले नयाँ नयाँ प्रविधि भित्र्याउनुपर्छ।

    अहिले क्यूआर कोडबाट कफी खाएको बिल तिर्न सकिन्छ। चीनमा त धेरै कामहरू क्यूआर कोडबाटै हुने गरेका छन्। हामी पनि यसको विकास गरिरहेका छौँ। त्यसपछि हरेक नेपालीको हातमा डिजिटल सेवा पुग्छ। हामी चाहन्छौँ– नेपालमा तरकारी किन्न जाँदा पनि डिजिटल कारोबार होस्। साइकलमा तरकारी बेच्ने भाइसँग पनि क्यूआर कोड होस्।

    दोस्रो पटक सहुलियत घोषणा गर्दै राष्ट्र बैङ्कले २ प्रतिशत छुट दिने बताएको छ, यसलाई कसरी लिनुहुन्छ ?

    कुनै बैङ्कको सीईओले बैङ्कका लगानीकर्ता, ग्राहक र कर्मचारीबारे मात्र सोच्ला तर, राष्ट्र बैङ्क र अर्थमन्त्रालयले समग्र अर्थतन्त्रलाई हेर्ने हो। मैले यसलाई सकारात्मक नै लिएको छु।

    राष्ट्र बैङ्कले ल्याएको प्याकेजका विषयमा छलफल भइरहेको छ। बैङ्कर्स संघका अध्यक्षज्यूले पनि छलफल चलाउनुभएको छ। यो नै पर्याप्त नहोला। बैङ्कको ब्याजमात्र ठूलो कुरा होइन। घरभाडा, बिजुलीको महसुल लगायतका धेरै कुरा छन्।

    उपप्रधानमन्त्रीको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिले कोरोनाका विषयमा धेरै काम गरेको छ। अर्थतन्त्रका लागि यस्तो छुट्टै समिति चाहिन्छ। अर्थमन्त्रीज्यूको संयोजकत्वमा एफएनसीसीआई, चेम्बर, सीएनआई, बैङ्कर्स संघ लगायत समेटिएर छुट्टै समिति बनोस् र अर्थतन्त्र जोगाउन आवश्यक कामहरू गरोस्।

    समूद्रको आइसवर्ग १० प्रतिशत मात्र पानीमाथि देखिन्छ बाँकी ९० प्रतिशत देखिँदैन। अर्थतन्त्रमा अहिले देखिएका समस्याहरू पनि १० प्रतिशत मात्र हुन्। अर्थतन्त्रलाई शतप्रतिशत समस्याबाट जोगाउन छुट्टै उच्चस्तरीय समिति बनाउनैपर्छ।

    प्रतिकृया दिनुहोस्

    कर्णाली प्रदेशको नेपाल टेलिकमको कार्यालय प्रदेश ५ बाट संञ्चालित

    २०७७ साउन २१, बुधबार सुर्खेत – नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशको कार्यालय लामो समय...

    एनआरएनए मकाउले पठाएको स्वास्थ्य सामाग्री ट्राफिक प्रहरी बग्गी खानालाई सहयोग

    मकाउ । गैरआवसीय नेपाली संघ मकाउले संकलन गरी पठाएको स्वास्थ्य सामाग्री सर्जि माक्स काठमाण्डौ प्रहरी...

    सुनसरीमा लकडाउन, जिल्लाका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा

    दिलीप राई, धरान । सुनसरीमा कोरोना न्यूनीकरण गर्नका लागि समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि जिल्ला...

    नेपाल ट्रेड युनियन महासंघको मजदुर युवा कमिटी सुदुरपश्चिम प्रदेशको भेला अत्तरियामा सम्पन्न

    २०७७ साउन २१, बुधबार प्रकाश योगी/कैलाली – अखिल नेपाल ट्रेड युनियन महासंघ मजदुर युवा कमिटी...

    हेर्नुहोस आज साउन २१ गते बुधबारको राशिफल

    वि.सं.२०७७ साल साउन २१ गते बुधवार | सन् २०२० अगस्ट ५ तारीख नेपाल संवत ११४०...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।