News Portal

प्रधानमन्त्रीलाई भेट्दा पनि विश्वस्त हुन सकेनन् डा.केसी, १६ औं अनसन बस्ने चेतावनी

हिमाली संचार संवाददाता
७७६ पटक

काठमाडौं – शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बालुवाटारबाट बाहिरिँदै गर्दा प्रा.डा.गोविन्द केसी खासै उत्साहित देखिएनन् । हातमा रहेको झोला काँधमा भिर्दै निराशाको हाउभाउ (थोरै कुम उचाले, औठ लेप्राए) देखाउँदै भने, ‘म यहाँ आउँदा जे सन्देश पाउँछु भन्ने सोचेको थिएँ, त्यति फरक परेन ।’

प्रा.डा.केसी आफ्नो तत्कालीन वार्ता टोलीका सदस्यहरुलाई लिएर बालुवाटार पुगेका थिए । झण्डै एक घन्टा भएको कुराकानीका क्रममा डा.केसीले ढिलै भएपनि आफूसँग सहमति गरेर २७ दिन लामो अनसन तोडाएकोमा धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले आफूहरुको चाहना एउटै भएको भन्दै सम्वादबाटै अगाडि बढ्नुपर्ने धारणा राखे ।

डा.केसीका अनुसार उनी बालुवाटार प्रवेश गर्दैगर्दा ठूलो महत्वकांक्षा थिएन । किनकी केपी शर्मा ओली अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा पनि भेटेर आफ्ना माग राखेका थिए तर, सुनुवाई नभएपछि अनसन बस्नुपर्‍यो, सहमति पनि भयो । केही वर्षपछि फेरि ओली प्रधानमन्त्री भए तर, सहमति पालना भएन ।

त्यसैले उनलाई प्रधानमन्त्रीलाई भेट्दैमा सबै समाधान हुन्छ भन्ने लागेको रहेनछ । नभन्दै शनिबार भयो त्यस्तै । प्रधानमन्त्री ओलीले ‘तपाईले जे माग राख्नु भएको हो, हाम्रो पनि त्यही हो’ भने ।

यो पटक भएको सहमतिअनुसार संशोधन दर्ता भएको बताए । ‘जुन कुरा हामीलाई थाहा छ, त्यही उहाँले पनि भन्नुभयो’ डा.केसी भन्छन्, यताउता भन्नुभयो । ठोस हुन्छ नि २ र २ जोड्दा ४ हुन्छ भने जस्तो भएन । भेटियो, कुरा भयो, हाम्रो कुरा राखियो, तर यही स्थितिमा छौं ।’

संसदमा चिकित्सा शिक्षा विधेयक र त्यसमा परेका संशोधनलाई संसदीय समितिमा लगिएको छ । डा.केसीका अनुसार त्यसलाई संसदबाटै पारित गर्न पनि सकिन्थ्यो । उनले भने, ‘यसमा हामीलाई आपत्ति छैन तर, तोडमोड नगरी पास हुनुपर्छ ।’

यस्तै ९ बुँदे सहमति मन्त्रिपरिषद्बाट अनुमोदन समेत भएको छैन । यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री ओलीले भने संसदमा पेश भइसकेपछि नगरेपनि हुन्छ, सम्झौता गरेका छौं, कार्यान्वयन गरिहाल्छौं भनेका छन् ।

डा.केसीले सञ्चारकर्मीहरुलाई भने, म यहाँ आउँदा जे म्यासेज पाउँछु भन्नु सोचेको थिएँ, त्यति फरक परेन । सँगै रहेका डा.सुरेन्द्र भण्डारीले सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीले बचन दिएको बताए ।

तर, डा.केसीले भण्डारीलाई रोक्दै भने, बचन नभनौं, संकेत मात्र हो । आशा गर्छु, विश्वास राख्छु उहाँहरुले सहमति कार्यान्वयन गर्नुहुन्छ । मन्त्रिपरिषद्बाट अनुमोदन गर्नुहुन्छ ।’

उनले अघि भने, ‘विश्वास गर्दा गर्दै पनि यदि सम्झौता कार्यान्वयन भएन भने १६ औं सत्याग्रह बस्न पछि पर्दिन । मलाई विश्वास छ, त्यस्तो स्थिति नआउँला ।’ ‘ठोस उपलब्धि वा प्रतिवद्धता मैले पाएको जस्तो लागेन । तर, अझै पनि आशा गर्छु । हाम्रो एजेण्डा हो भन्नु भएको छ । मलाई लाग्छ, ऐन बन्छ होला र अरु बुँदा पनि कार्यान्वयव हुन्छ होला । नभए १६ औं अनसन बस्न पछि हटि्दनँ ।’

कहिलेसम्म भन्ने प्रश्नमा डा. केसीले भने, ‘धर्य गरौं । अर्को चोटीलाई तंग्रिनु पनि पर्‍यो मैले ।’

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...