
धरान – धरान उपमहानगरपालिका धरानका मेयर तिलक राईले मदन भण्डारी राजमार्गको धरान खण्डका लागि आवश्यक गिट्टी, बालुवा उपलव्ध गराउन दिइएको ठेक्काको निर्णयबारे प्रष्ट्याउदै बजारमा आएको जस्तो चलखेल नभएको बताए।
धरान उपमहानगरपालिका धरानद्वारा आइतबार आयोजित सार्वजनिक सुनवाईमा कार्यक्रममा उनले उपमेयर मञ्जु भण्डारी (सुवेदी) ले भनेजस्तो धरान–५ स्थित अँधेरी खोलाबाट ढुङ्गागिटी निकाल्न नगर प्रमुखस्तरीय निर्णयबाट लगाइएको ठेक्का, ऐनबमोजिम भएको र यसमा कुनै दुराशय नभएको बताए ।
यसअघि अँधेरी खोलाबाट गिट्टी, बालुवा उपलव्ध गराउन दिइएको ठेक्काबारे गएको शुक्रबार पत्रकार सम्मेलन गर्दै एमाले पार्टीको तर्फबाट नगर उपमेयर मञ्जु भण्डारीले आपत्ति जनाएकी थिइन् । उनले मदन भण्डारी राजमार्गको सडक खण्डका लागि चाहिने ढुंगा, गिटी निकाल्दा चलखेल भएको आरोप लगाएकी थिइन् ।
उनले धरान उपमहानगरपालिकाको आम्दानी मारेर २ करोड रुपैयाँ चलखेल समेत भएको पत्रकार सम्मेलन गरेरै जानकारी दिएकी थिइन् । अँधेरी खोलामा चरम दोहन भइरहेको र करिब दुई करोडभन्दा बढी रकम चलखेल भएको आरोप लगाएकी थिइन् ।
मेयर राईले भने ‘कार्यपालिकाको बैठक नबसेको अवस्थामा नगरसभाले गरेका निर्णयहरुको कार्यान्वयन ऐनअनुसार नगर प्रमुखले गर्नुपर्ने हुन्छ, त्यसै अनुसार काली खोलाको ठेक्का लगाइएको हो ।’ उनका अनुसार प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी दस्तुर संकलन स्थानिय सरकार सञ्चोलन ऐन २०७४ को दफा ११ बमोजिम नगरपालिकाको अधिकार रहेको र दफा १६ को ४ (क) बमोजिम नगरसभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रणको अधिकार नगर प्रमुखलाई हुने भए अनुसार नगर प्रमुख स्तरिय निर्णयबाट सो कार्य भएको हो ।’
धरानका खोलाहरु ठेक्का लगाउने र ठेक्काको दररेट कबोल अंक नगरसभाको निर्णय गरेअनुसार भएको बताए । धरानका खोलाबाट निकालिने खनिजको गुणस्तर अनुसार कुनैमा थोरै परिमाणको धेरै रकम र कुनैमा धेरै परिमाणको थोरै रकममा कबोल हुँदै आएको तथ्यांक पनि सार्वजनिक गरे । तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा ठेक्का आव्हान भएको ४ वटा खोलाको परिमाण र कबोल अंक फरक फरक छन् ।
सार्वजनिक जानकारी दिइएको तथ्याङ्कअनुसार सेहरा खोलामा ८० हजार ७८३ घनमिटरका लागि कबोल अंक २ करोड १५ लाख रुपया तोकिएको छ । सेउती खोलामा ७३ हजार ९१२ घनमिटर, ३ करोड ९९ लाख, सर्दुखोला ६७ हजार ३०३ घनमिटर २ करोड ५० लाख र पटनाली खोला १८ हजार २४० घनमिटरको लागि ६९ लाख रुपया कबोल अंक तोकिएको छ ।
उपमहानगरपालिकाले ई–टेण्डर मार्फत आव्हान गर्ने ठेक्काहरु कतिपय ठेकेदारहरुको मिलेमतोको कारण ठेक्का स्विकृत भएपनि सम्झौता गर्न नआउने गरेका छन् । त्यस्तो अवस्थामा घटी अंकका ठेकेदारलाई दिनुपर्ने बाध्यताको सामना गर्नुपरेको पनि उनले बताए । मेयर राईका अनुसार गएको आर्थिक वर्ष २०७६–७७ मा सेहरा, सर्दु र पटनाली खोलालाई एकमुष्ट प्याकेज बनाई न्यूनतम ३ करोड ३२ लाख रुपैयाँ कबोल अङ्क कायम गरी ठक्का आव्हान गरिएको थियो ।
सो ठेक्का सबैभन्दा बढी ५ करोड ९१ लाख रुपयामा एक ठेकेदारले टेण्डर हालेका थिए । सो अंकको टेण्डरलाई उपमहानगरपालिकाले स्वीकृति दिएको थियो । ठेक्का स्वीकृत गरिएकालाई सम्झौता गर्न बोलाइएकामा ती ठेकेदार सम्झौता गर्नै आएनन् । दोश्रो ठेक्का अंक २ करोड ४१ लाख रुपया थियो । पहिलो रकम अंक र दोश्रो अंकबीच ठूलै रकमको अंक फरक भएकोले दोश्रो कबोला अंकलाई पनि ठेक्का नदिई पूनः ई–टेण्डर आव्हान गरिएको थियो ।
दोश्रो पटक आव्हान गरिएको टेण्डरमा कसैले पनि टेण्डर नहालेकोले ठेक्का नै लाग्न नसक्दा उपमहानगरपालिकाले ठूलो राजश्व गुमाउनुपरेको थियो । यस्तो अवस्था पुनः दोहोरिने सम्भावना भएकाले मदन भण्डारी राजमार्गको लागि माग भईआएकाले कालिखोलको ठेक्का नगर प्रमुख स्तरीय निर्णयबाट दिइएको हो । उनले भने ‘ठेकेदारहरुको मिलेमतोको कारण उपमहानगरापलिकालाई आउने आम्दामीमा ‘भुईको टिप्न खोज्दा पोल्टाको पनि पोखिने’ अवस्था आउनबाट जोगिने काम गरिएको हो ।’
धरानमा नियम र कानुनको दायरामा रहेर उपमहानगरपालिकाले लगाउने खोला ठेक्कालाई खोला दोहनका रुपमा मात्र हेर्ने गरिएको कुरा अवैज्ञानिक भएको बताए । खोलामा वर्सेनी आउने बाढीले किनारको धरानबासीको नम्बरी जग्गा, उर्वरभूमि, बसोबास क्षेत्र कटान गर्दै आएको सबैलाई थाहा भएको बताउँदै बाढीले ढुंगामाटो थुप्राएर खोलाको बीच भाग ५ मिटरसम्म अग्लने बनाउने गरेको पाइएकोमा ध्यानाकर्षण गराए । विचभाग अग्लो भएपछि किनारमा बग्ने खोलाले जमिन कटान गर्दै आएको बताउँदै उनले भने ‘खोलाई बग्दै आएको बाटोमा फर्काउन पनि विचभाग बाट ढुङगागिट्टी निकाल्ने व्यवस्थापन गर्नुपर्दछ ।’ खोला ठेक्का सुरक्षाको व्यवस्थापन पनि हो भनेर बुझिदिन उनको आग्रह थियो ।
पहाडी क्षेत्रबाट बगाएर ल्याई नदीजन्य उत्पादनको धरान मुख्य केन्द्र भएकोले यसको उचित उपयोगको व्यवस्थापन उपमहानगरपालिकाले गर्नुपर्ने उनले बताए । वर्षेनी आउने बाढीले ल्याउने ढुंगा, गिट्टीको उपयोग नभए नदीजन्य वस्तु बगेर तलतिर जाने, थुप्रिएमा किनार कटान गरेर फराकिलो बगर बढ्ने तथ्यलाई विर्सन नहुने उनको भनाइ छ । उनले भने ‘धरानले उपयोग गरेन भने बगेर जाने तल्लो क्षेत्रले यसको उपयोग गर्ने नै हो ।’ तसर्थ खोलाजन्य वस्तुको उपयोगका बारेमा वैज्ञानिक धारणा बनाउन जरुरी भएकोमा उनले जोड दिए ।