सय वर्षभन्दा लामो जीवनकालमा मैले थुप्रै महत्वपूर्ण मानिससँग नजिकिने मौका पाएँ। राष्ट्रप्रमुखदेखि सरकार प्रमुखसम्म, पण्डितदेखि महात्मासम्म, कविदेखि प्राज्ञसम्म, उच्च कर्मचारीदेखि कुटनीतिज्ञसम्म।
लामो यात्रामा भेटिएका जतिबाट केही न केही प्राप्त गर्दै आएँ, जसका निम्ति म सबैप्रति अनुगृहित छु। तर, मेरो जीवनकालमा सबभन्दा बढी प्रभाव पार्ने व्यक्ति भने दुई जना रहे- काजी हंसमान र पण्डित जयदेव। उनीहरूको प्रसंग सुरू गर्नुअघि म मेरो कलेज जीवनतिर जान्छु। करिब ८० वर्षअघिको कुरा हो। म त्रिचन्द्र कलेजमा बिए पढ्थेँ।
त्यो समयमै कलेजमा पढाउन बंगालबाट क्षितिशचन्द्र चक्रवर्तीलाई नेपाल ल्याइएको थियो। कोलकातादेखि आएका ती प्राध्यापक त्योबेला यहाँभरिमै सबभन्दा धेरै तलब खाने व्यक्तिका रूपमा चर्चित थिए।
उनको आफ्नै तौरतरिका थियो। हरेक शनिबार बिहान सफा धोती पहिरिएर उनी एउटा हातले धोतीको टुप्पो समात्दै र अर्को हातले किताब च्याप्दै घरबाट निस्कन्थे। यसरी निस्केपछि उनको गन्तव्य पशुपतिनाथको मन्दिर हुन्थ्यो। त्यहाँ पुगेपछि देउताथानभित्र गएर ढोग्ने–पुजा गर्ने नभई मन्दिरको चक्कर लगाउँथे। एक परिक्रमापछि बासुकी मन्दिर पुगेर छेउको छेँडो हुँदै ढुंगाको गुफासम्म जान्थे।
मेरा सहपाठी नरकान्त अधिकारीको चक्रवर्तीसँग राम्रो सम्बन्ध थियो। आफ्ना प्राध्यापक के–के गर्दा रहेछन् भन्ने बारेमा हामीलाई जिज्ञासा पनि थियो। त्यसैले नरकान्तकै सल्लाहमा त्यो दिन हामी उनको पछिपछि पशुपति पुगेका थियौं। बासुकी मन्दिर छेउको त्यो ढुंगाको गुफामा पुगेपछि अचम्मको दृश्य देखियो। गुफामा एकजना बालब्रह्मचारी भनेर चिनिने दृष्टिविहिन वृद्ध बाबा बस्थे। बाबालाई उनका दुई-चार चेलाहरूले घेरेका हुन्थे।
हाम्रा गुरुवर सरासर हिँड्दै तिनै बाबाको अघिल्तिर थामिए। उनले गोजीबाट एक रुपैयाँ दाम निकाले र ‘बाबा’ भन्दै ढोगे। त्यसपछि ती बाबाले अगाडि बसाएर केही सुनाए। त्यतिबेला ती बाबाले प्राध्यापक क्षितिशचन्द्र चक्रवर्तीलाई योगवाशिष्ठको प्रवचन सुनाएका रहेछन्।
क्षितिशचन्द्र विद्वान थिए। उनले २००७ सालपछि यहाँ ‘अद्वैत विश्वविद्यालय’ नै खडा गरे। राणाजीहरूसँग लिएको जग्गामा त्यसरी खडा गरेको विश्वविद्यालयबाट धेरै नेपालीलाई पढाए पनि। पुरानो बसपार्कनिर अद्वैत भवन बनाए। भारतमा चार ठाउँमा पीठ भएजस्तै यो विश्वविद्यालयको पनि चार ठाउँमा पीठ तयार पारेका थिए।
उनको मुख्य उद्देश्य नै वेदान्तको प्रचार थियो। पशुपतिस्थित गुफामा बस्ने दृष्टिविहिन बाबाले सुनाएको योगवाशिष्ठको आधारमै क्षितिशचन्द्रले ‘अद्वैत वेदान्त’ तयार पारेका थिए। नेपालको प्राज्ञिक इतिहासमा क्षितिशचन्द्र आफैंमा एक महत्वपूर्ण पात्र हुन्। म भने उनले सुनेको त्यो योगवाशिष्ठको कथालाई लिएर अत्यन्तै जिज्ञासु थिएँ। त्यस्तो मौका मेरो जीवनमा कहिले र कसरी आउँछ भन्ने थाहा थिएन।
यस्तै अवस्थामा मेरो जीवन अगाडि बढ्दै गयो। त्रिचन्द्रको पढाइ चल्दाचल्दै मैले सरदार भिमबहादुर पाँडेको नेतृत्वमा जागिरे जीवन सुरू गरेँ। त्यतिबेलै म खटिएका पहाडी जिल्लाहरूबाट संकलन गरेको लोकगीतका आधारमा पहिलो मदन पुरस्कार पाएँ। लगत्तै प्रथम जननिर्वाचित सरकारले २०१६ सालमा मलाई पुरातत्व तथा संस्कृति विभागको निर्देशक नियुक्त गर्यो। तर ‘डाइरेक्टर’ भएको दुई वर्ष पूरा नहुँदै राजनीतिक घटनाको चपेटामा मेरो जागिर खोसियो।
राजा महेन्द्रले ‘कू’ गरेलगत्तै प्रधानमन्त्री बिपी कोइरालालाई लगेर थुने। संसद भंग भयो। पार्टीहरूमा प्रतिबन्ध लगाइयो। त्यस्तैमा म पनि कार्यभारबाट मुक्त भएपछि केही सीप नलाग्ने देखेर त्यत्तिकै बसेको थिएँ। मभन्दा कत्रा कत्रा उबेलाका प्रशासकहरू हिमालय शम्शेर, भिमबहादुर पाँडे, कुलनाथ लोहनीदेखि लिएर हुलाकका जीवनलाल सत्यालसम्मको जागिर खोसिएका बेला मेरो मात्र के कुरा थियो र!
घरमा त्यत्तिकै बसिरहनु सम्भव थिएन। आफूलाई व्यस्त राख्ने उपाय खोज्न थालेँ। मलाई पहिल्यैदेखि मुद्राको विषयमा रूचि थियो। पुरातत्व विभागमा हुँदा यस विषयमा पोख्त पनि बनेको थिएँ। काम गर्ने क्रममा मुद्राहरूको इतिहास र त्यसको विकासक्रमबारे विस्तारमा जानकारी पाएको थिएँ। हरेक मुलुकका आ–आफ्ना मुद्रा हुन्छन्। त्यो मुद्रा इतिहासको रूप पनि हुन्छ। मुद्राको अध्ययनबाटै धेरै जानकारी संकलन गर्न सकिन्छ।
मुद्रामार्फतै पाँचौ शताब्दीका राजा मानदेवदेखि तत्कालीन राजा महेन्द्रसम्मको जानकारी मैले जम्मा पारेँ। त्यसो त महेन्द्रले नै मलाई खोसेका थिए। तर, त्यस्तो कुरामा रिसइवी साँधेर बस्नु बुद्धिमानी हुन्थेन। मैले इमानदारीपूर्वक सबै जानकारी संकलन गरेँ। सबै समेटेर मुद्राको पुस्तक तयार पारेँ। त्यो पुस्तकले मलाई दोश्रो पटकको मदन पुरस्कार दिलाएको थियो।
मुद्राको काम अगाडि बढाइरहँदा मलाई नेपालमा कस–कसले मुद्रा संकलन गरिरहेका छन् भन्ने थाहा थिएन। यही क्रममा बेला मैले आफ्नो जीवनमै प्रभाव पार्ने काजी हंसमानसँग भेट्ने मौका पाएको थिएँ। त्यतिबेला उनी काजी भइसकेका थिएनन्, ‘सरदार हंसमान’ थिए।
काजी तुलसीमान सिंहका छोरा सरदार हंसमानसँग पुराना मुद्राको असाध्यै ठूलो संकलन रहेछ। तर, मुद्रा मात्र भएर के गर्नु? कुन मुद्राको के कस्तो महत्व हो भन्ने उनलाई थाहा थिएन। उनी यस विषयमा आफूलाई सघाइदिनसक्ने कुनै मानिसको खोजीमा थिए।
यता म मुद्राको इतिहास र आधारबारे जानकारी राखे पनि त्यस्ता महत्वपूर्ण मुद्रासम्म पहुँच थिएन। यस्तो स्थितीमा सरदार हंसमानका आसेपासेले मैले मुद्रा अध्ययन गरिरहेको जानकारी उनीसम्म लगिदिएछन्। उनले मसँग भेट्ने इच्छा गरे। मलाई पनि पुराना मुद्रा प्रत्यक्ष देख्ने चाहना थियो। सरदार हंसमानसँग भेट्न पाउनु आफैंमा चानचुने थिएन।
राजा त्रिभूवनका पालादेखि वीरेन्द्रसम्म नारायणहिटीका प्रमुख सचिव रहेका तत्कालीन सरदार र पछि काजी हंसमान निकै शक्तिशाली व्यक्ति थिए। दरबारको प्रमुख सचिव उनी निजामती सेवाकै सर्वोच्च व्यक्ति पनि थिए। नेपालमा पढाइ सकेर उनले बनारसबाट स्नातकोत्तर गरेर आएका थिए। पुस्तकहरू पनि लेखिसकेका थिए।
विभिन्न सूत्रहरूबाट सरदारले मसँग भेट्न चाहेको जानकारी पाएपछि मैले ‘हुन्छ’ भनिहालेँ। कहाँ भेट्ने भनेर जिज्ञासा राखेँ। उनी प्रत्येक बिहान बागमती किनारको पचली पुग्दा रहेछन्। त्यहाँ एउटा काजी घाट छ। भगवतेश्वर काजीले बनाएका हुनाले त्यसलाई काजीघाट वा भगवतेश्र घाट दुवै नामले चिनिन्थ्यो।
घाटमा तल पाटीजस्तै थियो भने माथि बस्न मिल्नेगरी पौवा बनाइएको थियो। पछाडि पर्याप्त जग्गा भएको त्यो पौवा एक हिसाबले पाहुना राख्न समेत मिल्ने किसिमले तयार पारिएको थियो। त्यहाँ दुवैतिर फल्याक राखेर संरचना बनाइएको थियो भने बीचमा मानिस ओहोरदोहोर गर्न मिल्ने बाटो थियो। म त्यो ठाउँ खोज्दै पुगेँ। त्यहीँ सरदार हंसमानसँग भेटघाट भयो। सामान्य औपचारिकता पूरा गरेपछि हामी मुद्राकै विषयमा केन्द्रित भयौं।
‘मसँग मुद्राको संकलन भए पनि त्यसबारे उति राम्रो जानकारी नभएकाले वर्गीकरण गर्न सकेको छैन,’ उनले मलाई भने, ‘थुपारेर मात्रै राखेको छु। तपाईं यसै विषयमा काम गर्न खोज्नुभएको रहेछ। एकपटक आएर मसँग भएका मुद्रा हेरिदिनुस् न।’ त्योताका संकलन गर्नेहरूसँग अनेक किसिमका मुद्रा हुन्थे। सक्कली मुद्रा हो कि होइन वा त्यसको महत्व के छ भनेर थाहा पाउन सीप नै चाहिन्थ्यो। म यस्ता कुरा मोटामोटी थाहा पाउनसक्ने भइसकेको थिएँ।
देवनागरी त अहिलेको भइहाल्यो। लिच्छवि लिपिमा लेखिएको हो कि? त्यसको प्रवृत्ति कस्तो छ? बुट्टा कस्तो छ? कुन राजाको पालाको हो? चाँदीको हो कि सुनकै हो? त्यसैगरी तामाका मुद्रा पनि प्रशस्तै हुन्थे। पचलीको अलिकति पर सरदार हंसमानको घर थियो, केही मिनेटको दुरीमा। उनले मलाई घर लगे। मैले उनलाई सक्दो सहयोग गरेँ। यसरी हामीबीच मुद्राको जिज्ञासाले नजिक्याएको सम्बन्ध त्यसपछि पनि अगाडि बढ्यो। हामीबीच अन्तरंग कुराकानी हुन थाले।
तर जतिसुकै नजिकको सम्बन्ध भए पनि मैले राजा महेन्द्रको कदमपछि आफ्नो जागिर खोसिएको विषय एकपटक पनि उल्लेख गरिनँ। त्यो मलाई लागेको आलो घाउ भए पनि यी दरबारका प्रमुख सचिवसँग किन खोलिराख्नु भन्ने लाग्यो। फेरि यस्तो कुराबारे उनी जानकार नहोलान् भन्ने पनि थिएन। हामी अरुअरु कुरामै बढी केन्द्रित भयौं र तिनै कुराले हामीलाई बाँध्दै पनि लगे।
एकदिन एकजना पण्डितको कुरा आयो। त्योबेला जानेबुझेका विद्वानलाई पण्डित भनिन्थ्यो। ती पण्डित गुल्मीतिरका थिए। नाम जयदेव। उनी पाँच वर्षकै हुँदा उनकी फुपूले प्युठानको स्वर्गद्वारी गुरुकहाँ पुर्याइदिएकी रहिछन्। स्वर्गद्वारी महाप्रभुलाई त्यो सानो केटो निकै मनपरेछ। त्यसपछि उनको लालनपालन र पढाइ त्यहीँ आश्रममै भयो।
समय क्रममा उनको प्रतिभा खुल्दै गयो। उनी अत्यन्त कुशाग्र बुद्धिको बालकका रूपमा देखा परे। लघु कौमुदी त कण्ठै थियो। मध्य कौमुदी पनि माथिदेखि तल अनि तलदेखि माथिसम्म जताबाट सोधे पनि हुने। त्यस्तो धुरन्धर। त्यो फेरि बनारस गएर पढेर आएको पनि होइन। त्यहीँ गुरुकुलजस्तोमै बसेर त्यत्रो ज्ञान! स्वर्गद्वारीका महाप्रभुको सामिप्यतामा उनी जस्तोसुकै कुराको पनि अर्थ लगाउन सक्ने हुँदै गए। यसरी भ्याएसम्मको धर्मदेसना र पुराणहरूको ज्ञान भरिँदै गयो।
तन्नेरी हुँदै गएपछि उनका कथावाचनदेखि लिएर व्याख्याहरू सुन्न मानिस लालायित हुन थाले। उनको यश र प्रसिद्धि फैलिँदै गयो।
महाप्रभुको निधनपछि उनी स्वर्गद्वारी छाडेर घर फर्केछन् र गृहस्थी सुरू गरेछन्। प्युठानको स्वर्गद्वारीमा अध्यात्मको त्यो उचाइमा बाँचिसकेको मानिसलाई अब खेती किसानी र सन्तान उत्पादनमा सीमित गृहस्थी जीवनले बाँध्न सकेन। यस्तै अवस्थामा श्रीमतीको पनि निधन भइदियो। विरक्तिएका उनी वैराग्यकै अवस्थामा चितवनको देवघाट आइपुगे। त्यहाँ आश्रमै तयार पारेर ध्यान र कथा, पुराण, प्रवचन इत्यादिमा संलग्न भए। किताबै नहेरेर उनी खररर बोल्थे। त्यस्तो विद्वान! जुनसुकै कुरा र जुनसुकै कथा उनलाई कण्ठै थियो।
त्यहाँ राम्रै समय बिताइसकेपछि उनलाई एकपटक काठमाडौं हेर्ने मन भएछ। त्यसपछि यहाँ आइपुगे। त्योबेला काठमाडौं अहिलेजस्तो व्यवस्थित थिएन। उनी पचलीमै आइपुगे। पुल नजिकै राणाहरूको कुलदेवता राखेका धर्मशालाहरू थिए। त्यहीँ एउटा चुहिएको र भत्किनै लागेको पौवा थियो। त्यसैको छिँडीमा उनी डेराजस्तो गरेर बस्न थाले।
म त्यहाँ भेट्न जाँदा पनि ढोकाबाट निहुरेर भित्र पस्नु पर्थ्यो। यो करिब २०१८ सालतिरको कुरा हो। त्यो खोरजस्तो कोठाभित्र एउटा सानो खाटमा ती पण्डित बसिरहेका थिए। उनको उमेर त्यस्तै ५५ थियो होला। त्यहाँ त्यस्तो किसिमको विद्वान आएर बसेका छन् भन्ने थाहा पाएपछि काजीले उनलाई बोलाउन मलाई पठाएका थिए।
पण्डित लिएर जानेबित्तिकै काजीले ‘ल बस्नुस्’ भनेर अगाडि बस्न लगाए। एकापसमा परिचय भयो। पण्डितले ‘काजी साहेब–काजी साहेब’ भनेर सम्बोधन गरिदिएपछि परिस्थिति सहज भइहाल्यो। एकातिर विद्वान पण्डित, अर्कातिर शक्तिशाली मानिस। पण्डितलाई आफूसँग भएको ज्ञान सुन्ने मानिसको खोजी थियो। यता बनारसबाट स्नातकोत्तर गरेर आएका हंसमानलाई पूर्वीय दर्शनबारे गतिलोसँग सिकाउने गुरूको खोजी। यी दुईको मन नजिक भएपछि पुगिहाल्यो।
हामीले ‘तपाईंको कथा सुन्न ज्यादै मन छ’ भन्यौं। उनले ‘योगवाशिष्ठ’ सुनाउने जानकारी दिए। मेरो मन उतिखेरै कलेज पढ्दाका दिनतिर गए। यत्रो लामो प्रतीक्षापछि मेरो त्यो सपना साक्षात हुँदै थियो। त्यसपछि त्यो घाटमा कथावाचन सुरू भयो। पण्डित जयदेवको कथा सुन्न काजी दिनदिनै बिहान पचलीको त्यो घाटमा पुग्थे। काजीलाई स्नान गर्न बागमतीको सफा पानी चाहिन्थ्यो। त्यसैले मानिसहरू लगाएर किनारमा खाल्डो पारिन्थ्यो। कुण्डमा जम्मा हुने पानीमा काजी डुबुल्की मार्थे। स्नान गरेपछि उनको शरीरमा तेल मालिस गरिन्थ्यो। अनि काजी कथा सुन्न तयार हुन्थे।
काजी उनका निम्ति बनाइएको आसनमा बस्थे। त्यो ठीक पण्डित जयदेवको अघिल्तिर आमनेसामने गरेर राखिएको हुन्थ्यो। म पनि पाटनदेखि कथा सुन्न पुग्थेँ। पछिपछि कथा वाचनका थुप्रै श्रोता जुट्दै गए। ठूलो संख्यामा उपस्थित हुने महिलालाई काजीको पछिल्तिर बसाइन्थ्यो भने पुरुष कथा वाचक पण्डित जयदेवका पछिल्तिर बस्थ्यौं।
पचलीको त्यो बाटो भएर आक्कल झुक्कल मानिस आउजाउ गर्थे। कथावाचनमा भने कुनै विघ्न पर्थेन। यसरी सामान्य हिसाबले कथावाचन घन्टौं चलिरहन्थ्यो। कहिले कथाका सानो टुक्रा त कहिले विस्तारमा वर्णन गर्दागर्दै झन्डै एक वर्ष लगाएर पण्डितले ‘योगवाशिष्ठ’ कथा हामीलाई सुनाइसकेका थिए। योगवाशिष्ठ सुनेपछि ममा साह्रै प्रभाव पर्यो। त्यसमा अजातवाद पनि थियो। अर्थात्, हुँदै नभएको कुरो। जस्तो, खरायोको सिंह, आकाश पुष्पजस्ता कुराको वर्णन।
त्यसो त योगवाशिष्ठ रामायणका एक पात्र थिए। तर, योगवाशिष्ठको कथा आफैंमा महारामायण रहेछ। वाशिष्ठ ऋषिले कागहरूको राजा कागभुसुण्डीबाट सुनेको कथा थियो त्यो। रामले योगवाशिष्ठ सुनेकै कारण रामायण सम्पन्न भएको थियो। कसैलाई पनि वैराग्यमा नलगेर दर्शनसम्म डोर्याउन सकिन्न। त्यो बेला राजाको छोरा भगवान रामलाई विरक्तिको विन्दुसम्म लगेर त्यो ज्ञानको स्पर्श गराइएको थियो। योगवाशिष्ठको भूमिकामै रामलाई विरक्तितर्फ कसरी लगियो भन्ने उल्लेख छ।
सन्दर्भ यस्तो छ-
विश्वामित्र ऋषिले तपस्या गर्ने कुटीमा राक्षस, दैत्य वा शत्रुहरूले दुःख दिए। त्यसपछि उनी अयोध्यामा राजा भेट्न आए। राजा दशरथका गुरू वशिष्ठले भेटका चाँजोपाँजो मिलाइदिए। राजा दशरथसँग विश्वामित्रले आश्रमको अवस्था बताउँदै राजकुमारहरू धनुर्विधामा एकसेएक छन् भन्ने थाहा पाएको र उनीहरूलाई लैजान पाएदेखि दैत्यहरूको परिस्थितिबाट मुक्ति मिल्ने बताए। दशरथले छोराहरूको जीवन जोखिममा पार्न नसक्ने भएकाले आफैं आइदिने सुनाए।
विश्वामित्रले बुढो मानिसबाट आफ्नो समस्या समाधान नहुने भएकाले राजकुमारहरू नै चाहिने अडान राखे। नभए खाली हातै फर्किने सुनाए। गुरु रिसाए भने नराम्रो श्राप दिएर जाने भएकाले वशिष्ठले मध्यमार्ग निकाले। त्यसैले उनको भनाइ मान्न राजालाई जोड गरे। दशरथले माने। त्यो मानेपछि वशिष्ठले ठीक यतिबेला म केही कुरा धर्मदेसना गर्न चाहन्छु भने। त्यतिबेलै गुरु वशिष्ठले सुनाएको कथा हो ‘योगवाशिष्ठ’।
राम, लक्ष्मणलाई त्यो धर्मदेसना सुनाएपछि उनीहरू विरक्त भए। वेदान्तका अनेक कुरा, अजातवाद पनि त्यसैमा थियो। सब सुनेपछि यो संसार केही होइन रहेछ, जीवनको सत्य भनेको परमार्थ भावमा लाग्नु रहेछ, भौतिक कुराको केही अर्थै रहेनछ भन्ने भयो। वशिष्ठले कथा सुनाएपछि दशरथले ‘म तृप्त भएँ। अब म छोरा दिन तयार छु। लिएर जानुस्’ भने। विश्वामित्रले कुटीमा लगेपछि राम-लक्ष्मणले त्यहाँको समस्या समाधान गरिदिन्छन्। मूल कुरा, त्यो योगवाशिष्ठ रामले सुन्नु नै थियो। त्यो कथा सुनेकै कारण उनीबाट रामायण सम्पन्न हुन सकेको हो।
त्यही योगवाशिष्ठ अत्यन्त प्रभावशाली रूपमा एक वर्षभन्दा बढी समय लगाएर हामीलाई पण्डित जयदेवले सुनाएका थिए। त्यो पनि शक्तिशाली काजी हंसमानको उपस्थितिमा।
पण्डित जयदेवको संसर्गमा मैले वर्षौं बिताएँ। यसैबीच म प्रज्ञाप्रतिष्ठान पनि पुगिसकेको थिएँ। प्रतिष्ठानमा मेरो संलग्नताको कुरा गर्दा म फेरि काजी हंसमानको सम्झना गर्छु। काजीसँगको संगतमै मैले जयदेवबाट पाएको ज्ञान अतुलनीय छ। त्योबेला मैले जयदेवको संसर्गबाहेक काजीकहाँ गएर उनीसँग भएका मुद्रा मिलाउने काम गरेको थिएँ। उनको घर पुग्नेबित्तिकै काजी मलाई ससम्मान स्वागत गर्थे। तर, मैले एक शब्द कहिल्यै उनीसँग आफ्नो बारे कुरा गरेको थिइँन।
तर मैले एकेडेमीमा नियुक्ति पाउनुमा काजीको भूमिका थियो होला भन्ने मलाई लाग्छ। त्योबेला उनी नै त्यस्तो नियुक्ति दिनसक्ने हिसाबले प्रभावशाली थिए। एकाधपटक उनैले मलाई कुनै चाहना छ कि भनेर सोधेका थिए। मैले केही भनेको थिइनँ। यस्तो अवस्थामा एकेडेमीमा मेरो नियुक्ति भएको थियो।
एकेडेमीमै रहँदा मैले ‘महर्षि याज्ञवल्क्य’ र कथोपनिषदमा आधारित रहेर ‘मृत्यु एक प्रश्न’ लेखेँ। यो दुवै वेदान्तमा आधारित कृति हुन् र दुवै भगवतेश्वर घाटमा सुनेका कथा अर्थात् पण्डित जयदेवबाट पाएको ज्ञानमै आधारित थियो। पचलीको काजीघाटमा योगवाशिष्ठ बाहेक आत्मपुराण पनि मैले जयदेवबाटै सुनेँ। आत्मपुराण चल्दा त चालीस दिन लगाएर उनको प्रवचन रेकर्ड नै गरेँ। मैले चीनबाट ल्याएको रेकर्डर प्रयोग गरेको थिएँ। क्यासेट आइसकेको थिएन, गोलो चक्का वाला रेकर्डर थियो। त्यो रेकर्ड ल्याएर म पिताजीलाई घरमा सुनाउँथे।
त्यही आत्मपुराणकै आधारमा पछि मैले महर्षि याज्ञवल्क्यलाई नेपाली परिवेश, कमला खोँचको आश्रमको परिवेश बनाएर कृति तयार पारेँ।। त्यसमा मैले पुराणमा वर्णित आधार पनि केलाएको छु। विदेह अर्थात् राजा जनक र गार्गीहरू समेतका साथमा त्यो नाटक मैले लेखेको थिएँ।
पछि काजी हंसमानले नै जयदेवलाई हनुमानढोकामा नियमित प्रवचनको बन्दोबस्त मिलाइदिए। घुम्न आएका विदेशीहरू ‘यो के हो?’ भनेर ट्वाल्ल पर्दै हेर्थे। काजी हंसमानले मलाई नै उक्त प्रवचनको पर्चा तयार पार्न लगाएका थिए। त्यो पर्चा अहिले पनि छ। चर्चित जोरगणेश छापाखानामा मुद्रित त्यसलाई तत्कालीन सचिव एवं धुरन्धर अनुवादक तीर्थमान तुलाधरले अंग्रेजीमा अनुवाद गरेका थिए।
पण्डित जयदेवबाट मैले वेदान्तको धेरै ज्ञान पाएँ। तर, उनले दिएको दुई शब्दको एउटा ज्ञानले मलाई जीवनमै सबभन्दा प्रभाव पारेको छ। उनले भनेका थिए- सबैथोकको सार भनेकै ‘केवलम् बोधम्’ हो। जान्नुबाहेक यो दुनियाँमा अरू केही पनि छैन।
यो मेरानिम्ति महामन्त्र नै भयो। पछि जयदेव यति लोकप्रिय भए, उनी राजदरबार भित्रै पुगे। हंसमानले नै लगेका हुन्। उनी सर्वसाधारणका लागि हनुमानढोकामा नियमित कथा भन्थे भने दरबारबाट लिन मोटर आउनेबित्तिकै नारायणहिटी पनि पुग्थे। राजा महेन्द्रको निधन भएपछि मुमाबडामहारानी रत्नले नियमित उनीबाटै कथा सुन्न थालिन्। सासूका साथमा बडामहारानी ऐश्वर्य पनि हुन्थिन्।
पछि रत्न जहाँजहाँ पुगिन्, त्यहीँ कथा भन्न पण्डित जयदेव पनि लगिन्थे। त्यसै क्रममा एकपटक रत्नले उनलाई साथै लिएर नारायणघाटको दियालो बंगला गएकी थिइन्। पण्डित जयदेवको निधन त्यहीँ भएको थियो। मैले लेखेको ‘महर्षि याज्ञवल्क्य’को हालसालै संस्कृत भाषामा अनुवाद आएको छ। संस्कृति मन्त्रालयको प्रयासमा प्रज्ञाप्रतिष्ठानले त्यसलाई प्रकाशन गरेको हो। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रोहिणीराज तिमिल्सिनाले यसको अनुवाद गरेका हुन्। नेपालीबाट संस्कृत भाषामा अनुवाद हुनु भनेको उल्टो मूलतर्फ फर्कनु हो। मेरो पुस्तकले त्यत्रो महत्व पाउनु आफैंमा ठूलो उपलब्धि मानेको छु। यसरी मेरो जीवनमा सबभन्दा महत्वपूर्ण प्रभाव पार्ने दुई व्यक्ति काजी हंसमान र जयदेव बने। दर्शनशास्त्रको विद्यार्थी नभए पनि उनीहरूबाटै मैले दर्शन चिहाउन पाएँ। सेतोपाटीबाट साभार गरेका हौ ।