News Portal

दार्चुलामा तुइन विस्थापन कहिले हाेला

हिमाली संचार संवाददाता
४४२ पटक

दर्चुला -के पी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए
दार्चुलाको सीमावर्ती व्यासका बासिन्दाले अहिले पनि तुइनबाटै महाकाली वारपार गरिरहेका छन् । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । महाकालीमा भने अझै तुइनकै भर पर्नुपर्छ ।

व्यास गाउँपालिकाको स्याकु, नाजी, डोकट, मड्गाउँ, बत्तीघाट, माल, कल्जुमा अझै तुइन सञ्चालनमा छन्। मालिकाकार्जुन र लेकम गाउँपालिकाका विभिन्न ठाउँमा स्थानीय बासिन्दा ट्युबमार्फत महाकाली तर्छन्। स्थानीयस्तरमा सडकको पहुँच नपुग्दा यहाँका स्थानीय कम समय र सजिलोका लागि तुइन र ट्युबबाट महाकाली वारपार गरी भारतीय बाटो भएर जिल्ला सदरमुकाम आउजाउ गरिरहेका छन्। सीमावर्ती क्षेत्रका स्थानीयको बजार पनि भारतमै छ।

केही वर्षअघिसम्म दार्चुलाका ११ ठाउँमा तुइन तथा ट्युबमार्फत जोखिमपूर्ण तरिकाले महाकाली नदी तर्नुपर्थ्यो। ती ठाउँमा झोलुंगे पुल बनाउन जिल्लाबाट केन्द्रमा प्रस्ताव पठाइएको थियो। तर दुई ठाउँमा मात्रै झोलुंगे पुल बनेका छन्। चार ठाउँमा यो वर्ष निर्माण सुरु गरिएको छ।

भारतीय पक्षले अन्तर्राष्ट्रिय नदीमा धेरै संख्यामा पुल निर्माण गर्न नसकिने भनेपछि सुरुमा दार्चुलाको लाली र तिग्रममा मात्रै झोलुंगे पुल निर्माण गरिएको छ। व्यासका नरसिंह भण्डारीका अनुसार तिग्रममा पुल बनेपछि व्यास ५ र ६ का र लालीमा बनेको पुलले आसपासका बासिन्दा तुइन र ट्युबको भरबाट मुक्त भएको बताए। ‘प्रधानमन्त्री ओलीले दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गर्नुभएको थियो। चार वर्ष बित्दा पनि तुइन हटेका छैनन्,’ व्यास २ मालका हरकसिंह कार्कीले भने।

चालु आर्थिक वर्षमा व्यास गाउँपालिकाको बडुगाउँ, मल्घट्टे र माल तथा मालिकार्जुन गाउँपालिका ६ बाकुमा झोलुंगे पुल निर्माण सुरु भएको छ। ११ ठाउँमा पुल निर्माणका लागि प्रस्ताव गरिए पनि भारतीय पक्षले महाकाली नदीमा एउटै क्षेत्रमा थप पुल बनाउनु सुरक्षाका दृष्टिले नमिल्ने भन्दै रोकेको साविकको जिल्ला प्राविधिक कार्यालयका सहायक इन्जिनियर करनसिंह धामीले बताए। उनले भने, ‘एक/डेढ किलोमिटर क्षेत्रको फरकमा झोलुंगे पुल बनाउँदा सुरक्षा चुनौती हुने भारतीय पक्षको तर्क थियो।’

निर्माणाधीन ठाउँमा पनि सुरुमा भारतले आनाकानी गरेको थियो। पछि उसले अध्ययन गरेर निर्माणका लागि अनुमति दिएको हो। यसअघि जिल्लाभित्रको चौलानी नदीमा ३ र महाकालीमा २ झोलुंगे पुल निर्माण भइसकेको धामीले बताए। ‘गोगने, जारबगड र सितोलीघाटमा तुइन विस्थापन भइसके,’ उनले भने, ‘महाकालीमा बाँकी छन्।’

व्यास गाउँपालिकाले गत वर्षदेखि भारततर्फका बासिन्दासँग सहमति गरेर दुम्लिङ, घाँटीबगरमा आवतजावत गर्न महाकाली नदीमा अस्थायी काठेपुल निर्माण गर्ने गरेको छ। बर्खामा भने बाढीले काठेपुल बगाउँदा स्थानीयलाई नदी तर्न समस्या हुने गरेको व्यास २ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले बताए।

व्यासका बासिन्दा दैनिक ज्यालादारी मजदुरी गर्न भारततिर जान्छन्। ‘तुइनमा दिनहुँ आवतजावत गर्नु जोखिमपूर्ण भए पनि काम नगरे परिवार पाल्न पुग्दैन,’ व्यास सिनाका जयदेवसिंह धामीले भने।

धामी सदरमुकाम तथा बजार जाँदा तुइन चढ्नुको विकल्प नभएको बताउँछन्। प्रत्येक दिन तुइन चुँडिने डरैडरले महाकाली वारपार गर्दै आएको उनले बताए। व्यास ४ सुन्सेराका नवराज भट्ट महिनामा कम्तीमा ४ पटक जोखिम मोलेर तुइनबाटै सदरमुकाम खलंगा आउजाउ गर्छन्। ‘नदीमा खसिने पो हो कि भनेर डर लाग्छ,’ उनले भने, ‘वर्षातका बेला झनै डरलाग्दो हुन्छ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...