
रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न आफ्नै देशको सडक छैन। मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगी गाउँमा पुग्न अझै पनि स्थानीयहरू भारतीय भूमि हुँदै आवतजावत गर्न बाध्य छन्।
वर्षायाममा रतुवा खोलामा पानीको बहाव बढेपछि नेपाली भूभागबाट गाउँ पुग्ने कुनै विकल्प रहँदैन। सडक विस्तार नहुँदा वर्षौंदेखि स्थानीयहरूले भारततर्फको बाटो प्रयोग गर्दै आएका छन्। “श्रीलंकाको टापु” भनेर चिनिने यो गाउँमा करिब ८० देखि १०० घरपरिवार बसोबास गर्दै आएका छन्।
गाउँभित्र १४ वर्षअघि ग्राभेल सडक निर्माण गरिएको भए पनि अहिलेसम्म कुनै मुख्य सडकले गाउँलाई छोएको छैन। सरकारले शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरीको बिओपी (बेस क्याम्प) स्थापना गरे पनि त्यहाँसम्म पुग्नसमेत बर्खामा हिलाम्मे बाटो पार गर्नुपर्ने बाध्यता छ। गस्तीका क्रममा सुरक्षाकर्मीहरूले समेत निकै कठिनाइ झेल्नुपरेको स्थानीय बताउँछन्।
सबैभन्दा मारमा भने बालबालिका परेका छन्। गाउँमै रहेको विद्यालयमा कक्षा ३ सम्म मात्रै पढाइ हुने भएकाले त्यसपछि अध्ययन जारी राख्न बालबालिकाहरूले ८ किलोमिटर टाढा झापाको गौरीगञ्ज पुग्नुपर्छ। त्यो पनि भारतको भूमि हुँदै नेपालकै विद्यालय जानुपर्ने बाध्यता छ।
स्थानीयवासीका अनुसार दशकौँदेखि विभिन्न ठूला राजनीतिक नेताहरूले यस क्षेत्रलाई आफ्नो राजनीतिक आधार बनाउँदै आए पनि गाउँलेहरूले शिक्षा, स्वास्थ्य र सडकजस्ता आधारभूत सुविधाबाट अझै वञ्चित रहनुपरेको छ।
स्थानीय बिमला देवी गनगाईंका अनुसार गाउँमा एउटा मन्दिरसमेत नभएकोले दैनिक पूजा गर्न र सामाजिक गतिविधि सञ्चालन गर्न समेत समस्या हुने गरेको छ। “साँझ बिहान पूजा गर्ने ठाउँ छैन, समय बिताउन पनि गाह्रो छ,” उनले गुनासो गरिन्।
स्थानीयहरू अब सरकारसँग एउटै माग गरिरहेका छन्— गाउँसम्म पुग्ने भरपर्दो सडक, पूर्णस्तरको विद्यालय र आधारभूत सेवा सुविधा।