आज : २०२६-०६-३०, मङ्गलबार

कविता – “पैसा फल्ने रुख “

कविता – “पैसा फल्ने रुख “

आमा भन्थिन्
पैसा फल्ने रुखमुनी बराल्लिरहेको त्यो छाया
तिम्रो बाबाको हो !

त्यस दिनदेखी
त्यो रुखको फेदमा अर्को छाया पनि थपियो

म त सानो छु,
खुट्टाहरु मसिना छन्
हातहरु कलिला छन्
त्यो रुखको टुप्पोसम्म नपुग्ने आँखा छ

बाबाका हात चट्टान जस्तै बलिया थिए
हरिस जस्तै पाखुरा
पहरा जस्तै छाती
खेतको गरा जस्तै काँध
अर्जुनको धनुकाँड जस्तै आँखा
आँखाभरि सिमलको भुवा जस्तै सपना
सपनामा बगिरहेको दु:खको नदी
र त्यही नदिमा
छचल्किरहेको मेरो अनुहार !

हो, त्यही अनुहारलाई जोगाउन
बाबा त्यो रुखमुन्तिर युगौदेखी भड्किरहे
तर कहिल्यै चढ्न सकेनन् त्यो रुखमा !

नेताहरू बन्दुक बोकेर चढे
गुरुहरु चकको धुलो बोकेर चढे
पार्टीका कार्यकर्ताहरु पत्थर बोकेर चढे
पसलेहरु थैली बोकेर चढे
जमिन्दारहरु लालपुर्जा बोकेर चढे
कलाकारहरु मादल बोकेर चढे
पुजारीहरु बलिको रगत बोकेर चढे

तर मेरा बाबा…??

आमा भन्थिन्
पैसा फल्ने रुखमुन्तिर बराल्लिरहेको त्यो छाया
तिम्रो बाबाको हो।

एकदिन मेरा बालाई
सबैभन्दा तल्लो हाँगोको पासोमा झुन्डिरहेको देखे
हो त्यस दिनदेखि
त्यो रुखको फेदमा अर्को छाया पनि थपियो
त्यो मेरो थियो ।

सुनिता खनाल, धादिङ हाल :काठमाण्डौ