News Portal

  • प्रदेश १ को नाम ‘‘किरात’’ लेख्दा कसले मान्दैन? यो कोशी शब्द कहाँबाट आयो?

    हिमालीसंचार संवाददाता
    ११० पटक

    तपाईंको बुझाईमा किरातको परिभाषा के हो? 

    किरात शब्दको खास परिभाषा मैले पनि यकिन गर्न सकेको छुँइनँ। तर, वैदिक समयका कतिपय संस्कृत ग्रन्थमा किरात शब्द भेटिन्छ। यसर्थ, किरात शब्दको प्रयोग करिब ५-६ हजार वर्ष पुरानो देखिन्छ। किनभने पुराणहरुमा पनि किरात भनिएको छ। अझ किरात शब्दको प्रयोग त्यतिबेलाका कतिपय वैदिक सनातन धर्म ग्रन्थहरुमा लाक्षणिक रुपमा कमजोर देखाउने नभई एउटा सभ्यता रहेको खास सम्प्रदाय वा चरित्र जनाउन किरात शब्द प्रयोग भएको देखिन्छ।

    उता पश्चिमतिर पनि दासलाई मानिस भनिन्दैनथ्यो। दास, दासै हुन्थ्यो। ऊ भेडाबाख्राजस्तै थिए। कुलिनहरु मात्रै मानिस मानिन्थे। उता रोममा ‘पेट्रिसियन’ भएजस्तै हाम्रोमा मुखिया, सुब्बाहरु थिए।

    किरातबारे मचाहिँ अहिले अलिकति फरक तरिकाले अध्ययन÷विश्लेषण गर्दैछु । नेपाल खाल्डो ताल थियो । किरातहरुले शासन गरेको तालमा होइन, बस्तीमा हो। ताल फुटेर बस्ती बसेपछि किरातहरु आए। यस तथ्यलाई कसैले नकार्न सक्दैन। अहिले भौगोलिक रुपमा पनि काठमाडौं उपत्यकामा हिजो ताल थियो भन्ने कुरा सर्वविदित्तै छ।

    यस ताललाई काट्न उत्तरतिरबाट एउटा गुरु आए। अर्थात् चिनियाँ गुरु मञ्जुश्री आए। उनी नगरकोट आइपुगेपछि तेलकोटभन्दा मास्तिरको फाँटमा तपस्या बसे। चार दिन तपस्या गरेपछि उत्तरपश्चिमपट्टि एउटा ज्योति देखे। यसपछि उनले उपत्यकालाई भगवानको भूमि बनाउननिम्ति पानी काटेर बस्ती बसाउनतिर लागे। अर्थात्, काठमाडौं उपत्यकालाई असल मानिसहरु बस्ने सभ्यताको केन्द्र बनाउन चोभा (हालको चोभार) बाट पानी काटेर फालियो। र, काठमाडौं उपत्यका मानवबस्ती बस्न लायक बनाइयो।

    यो आधिकारिकचाहिँ होइन । सायद किरातहरु मञ्जुश्रीसँगै नेपाल आएका थिए। अर्थात्, जो चीनको त्यो पहाडबाट मञ्जुश्रीसँग आए। किनभने मञ्जुश्री एक्लै त आएका थिएनन्। उनीसँग खान, बस्न गरेर १२००–१४०० मानिस आएका थिए होलान् त्यतिबेला! उनीहरुसँग जहान–परिवार पनि आएका थिए होलान्! किनभने त्यतिबेला त परिवारै सरेर हिँड्ने जमाना थियो। उनीहरु आएपछि स्थानीयवासीसँग पनि समागम हुन थाल्यो। यसरी त्यहीँ किरात सम्प्रदायभित्र फरक–फरक खालका मान्छे नि बन्न थाले होला! भाषा पनि बन्न थाले होला!

    किराती भन्नाले चाहिँ…?

    हिजो सामन्ती संरचनाको समाज थियो। उता पश्चिमतिर पनि दासलाई मानिस भनिन्दैनथ्यो। दास, दासै हुन्थ्यो। ऊ भेडाबाख्राजस्तै थिए। कुलिनहरु मात्रै मानिस मानिन्थे। उता रोममा ‘पेट्रिसियन’ भएजस्तै हाम्रोमा मुखिया, सुब्बाहरु थिए। हिजोको सामन्ती संरचनाभित्र सर्वसाधारण मान्छेको ईन्ती–गिन्ती हुँदैनथ्यो। सभ्यता र मानिसको पहिचान, समाज र संस्कृतिको पहिचान शासक वरिपरिका कथित विद्धानहरु ऋषि, महर्षि, कविहरुबाट हुन्थ्यो।

    जसरी वेद जान्ने महर्षि हुन्थ्यो, विद् हुन्थ्यो र ऋषि हुन्थ्यो। सायद मुन्धुम धर्मग्रन्थ र यसमा आधारित दर्शनशास्त्रका ज्ञाताहरुलाई किराती भनिन्थ्यो। जस्तै, को हो भन्दा? महर्षि जनक। यस्तै, यलम्बर किरात। यलम्बर राजा विशिष्ठ र प्रतिष्ठित व्यक्ति भएकाले ऊ किरात हो। अर्थात्, यसको ठीक समकक्षीमा हेर्दा, जसरी हिजो शासनमा गएको एकदम धनाढ्य कुलिन मान्छेलाई आर्य भनिन्थ्यो।

    यस्तै, किरात भनेको पनि भद्र, ठूलो मान्छे र विद्धान हुन्। यसरी त्यस सम्प्रदायबाट बिस्तारै बढेर गएको सभ्यता, मूल्य, मान्यतालाई अनुसरण गर्दै गएको ठूलो जनसंख्या सबैलाई किरात भनिन थालियो! यसलाई म दाबीचाहिँ गर्दिनँ, तर किरात शब्दको सम्बन्ध ज्ञान, विशिष्ठता र प्रतिष्ठासँग नजोडिएको भए कसैले पनि किरात भन्न गर्व गर्थेनन्।

    किरात भनेको त्यसबेला सभ्य मानिस भनिएको हो। किराती एउटा सभ्य र असल मानिसलाई सम्बोधन गर्न भनिन्थ्यो। यसकारण मुन्धुम दर्शन र धर्मका मूल्य, मान्यता ग्रहण गरेर समाजको संरचना भयो, त्यो समाजको संरचनाभित्र रहेर ती दर्शन र धर्ममा आधारित संस्कृति मान्ने मानिसलाई नै पछि किरात कहलिए।

    जन्मिनु त म बाहुन भएर जन्मिएँ। मेरो संस्कारमा पूजापाठ सबै बाहुनको जस्तै होला। तर, मैले बोकेको संस्कृतिको सबैभन्दा धेरै भागचाहिँ किरात सभ्यतासँग छ।

    जसरी वेदसँग सम्बन्धित ज्ञान बोक्ने र त्यसको अनुसरण गर्ने सबैलाई पछि आर्य भनियो। त्यो नपढेको गँवारै भएपनि आर्य भयो। यता मुन्धुममा आधारित मूल्य र मान्यता नबोकेको गँवार वा दासै भएपनि त्यसलाई किरातै भनियो। कालान्तरमा त्यहीँ एउटा शब्दबाट सभ्यता जनाउन थालियो। जसरी आर्य सभ्यतामा एउटा व्यक्तिको पद जनाउने ‘आर्य’ शब्दबाट पछि गएर सम्पूर्ण सभ्यता जनाउन थाल्यो। यस्तै किरातको पनि भयो।

    अब किरातीबारे चर्चा गर्दा चार ओटा पहिचान आउँछ । एउटा त्यस क्षेत्रमा, जहाँ किरात सभ्यता विकसित भयो । त्यस क्षेत्रमा बस्ने सम्पूर्ण किराती भए। दोस्रो, त्यसभित्र बसेर जसले मुन्धुमलाई आफ्नो दर्शनशास्त्रको रुपमा ग्रहण गरे, त्यसलाई पनि किराती भनियो। तेस्रो, मुन्धुमभित्रका संस्कार गर्ने, पूजापाठ गर्ने त्यसलाई पनि किराती भनियो। अनि पछि किरातकै नामबाट राज्य गठन भयो, त्यो राज्यका आम सर्वसाधारणलाई पनि किराती भनियो।

    यसरी चारखालका मानिस किराती कहलिए। पहिलो, मुन्धुम धर्मका अनुयायी, दोस्रो किरात ‘टेरिटोरी’(सीमा)भित्र प्रजा भएर बसेका मान्छे, तेस्रो, मुन्धुमी संस्कृति र दर्शन बोकेर हिँडेका मान्छे र चौथो, किरात राज्य–व्यवस्थाभित्रका अनुयायी किराती कहलिए। चौथो खालेचाहिँ ऊ राजनैतिक हुन सक्छ। धर्म नजान्ने पनि हुन सक्छ। तर, राज्यको अनुयायी भएकाले किराती भयो। उदाहरणार्थ, राजा यलम्बरको बाहुन सल्लाहकार थियो भने ऊ पनि किराती भयो।

    भनेपछि सभ्यता र भूगोलको हिसाबले तपाईं आफूलाई किराती मान्नुहुन्छ?

    म आफूलाई किराती नै भन्छु। कहिँ न कहिँ मलाई तीन खालको मान्छे भेट्यो भने आफ्नो मान्छेजस्तो लाग्छ। कसैले आफ्नो थर संग्रौला भन्यो भने मेरो दाजुभाइजस्तो लाग्छ। पान्थरे भन्यो भने मेरो जिल्लावासी लाग्छ। लिम्बु भन्यो भने छिमेकीजस्तो लाग्छ। हो यसखाले अनुभूति सभ्यताको अनुभूति हो।

    यसकारण म भन्छु, जन्मिनु त म बाहुन भएर जन्मिएँ। मेरो संस्कारमा पूजापाठ सबै बाहुनको जस्तै होला। तर, मैले बोकेको संस्कृतिको सबैभन्दा धेरै भागचाहिँ किरात सभ्यतासँग छ। किनभने मेरो सोचाई प्रणाली त्यहाँको सभ्यताबाट, त्यहाँको माटोबाट, त्यहाँको ढुंगा, संस्कृति र भाषाबाट प्रभावित छ। यसकारण सभ्यताले म किराती हुँ, जातले बाहुन हुँ र धर्मले (म सबै धर्मको उतिकै माया गर्छु। म आफैचाहिँ कुनै देवता पूजा गर्दिनँ।) वैदिक सनातनी हुँ।

    यसर्थ, नेपालीले सभ्यताको जगमा आफूलाई पहिचान गर्न जरुरी छ। यसो भएमा एकठाउँको बाहुन र राई एक ठाउँमा उभिन्छन्। अर्को ठाउँको राई र बाहुन अर्को ठाउँ उभिन्छन्। सायद, सभ्यतालाई आधार बनाउन सकिए नेपालको राष्ट्रियता जोड्न सकिन्छ। नेपालका नेपालीलाई जोड्न सकिन्छ।

    नेपालको भाषा र भूगोललाई जोड्न सकिन्छ। यसपछि एउटा बाहुनले लिम्बु भाषाको प्रेम गर्न थाल्छ। र, सिँजामा एउटा लिम्बु जाँदा नेपाली भाषालाई माया गर्न थाल्छ। जसरी बन्दीपुरमा बसेको नेवारले नेपाली भाषा र नेवारी भाषालाई उतिकै माया गर्छ। जसरी ताप्लेजुङमा बसेको नेवारले लिम्बु भाषा, नेवारी र नेपाली भाषालाई उतिकै माया गर्छ। लामो समयदेखि काठमाडौंभित्र बसेको राईले नेवारी, नेपाली र राई भाषाको माया गर्छ।

    यो हामीलाई जोड्ने कडी हो। तर, हामीले सभ्यतालाई एकदमै ‘माइनस’ गरिदियौं। सभ्यताबारे छलफलै गरेनौं। संस्कृतिको कुरा ग¥यौं। सभ्यताबारे कुरा गरेनौं। हामीले जम्मै कुरा छाड्यौं। अन्त्यमा आएर हामीले संस्कृति, सभ्यता, धर्म सबैलाई जात भन्ने शब्दमा ल्याइदियौं। यसले गर्दा हामी विवादमा आयौं।

    नेपालको संविधानमा सनातनदेखि चलिआएको धर्म भन्ने उल्लेख छ। यो सनातनदेखि चलिआएको धर्ममा के–के पर्छन्? हुन त किरातले आफ्नो धर्मलाई कुनै नाम दिएको छैन। किरात भन्नेबित्तिकै सभ्यता, संस्कृति, भूगोल, इतिहास, समुदाय र धर्म मानिँदै आएको छ। यसैले सनातनदेखि चलिआएको भन्नेमा किरात पर्छ कि पर्दैन? 

    सनातन भन्ने शब्दको अर्थ ‘सर्वत्र’ हो। अंग्रेजीमा ‘युनिभर्सल’ हो। सर्वत्र समयबाट हुन्छ। स्थानबाट पनि हुन्छ। कतिपय विषयवस्तु सनातन समयबाट पनि हुन्छ। लामो समयदेखि चलिआएको सनातन, सबैतिर चलेको सनातन हुन्छ, सर्वत्र भन्ने शब्दको अर्थमा। यसरी हेर्दा, किरात धर्म नमानौं। किरात धर्म होइन, मुन्धुम धर्म हो।

    मुन्धुम धर्मभित्र कसैले आफूलाई युमा धर्म भन्छन् भने यो उनीहरुको खुसीको कुरा हो। तर, धर्मचाहिँ मुन्धुम हो। मुन्धुमले स्थापित गरेको संस्कार भएकाले मुन्धुम भनिएको हो। अब यस संस्कारलाई अर्कै नाम दिन सकिन्छ भने दिँदा हुन्छ। तर, ग्रन्थचाहिँ मुन्धुम हो। जस्तै, हिन्दुहरुको वेद छ, वेदलाई हिन्दु त भनिएको छैन नि। धर्मचाहिँ हिन्दु हो। ग्रन्थचाहिँ वेद भयो। धर्मचाहिँ हिन्दु भयो।

    यसैले ग्रन्थचाहिँ मुन्धुम हो। अब मुन्धुमभित्र याक्खा धर्म भनेपनि भयो। युमा धर्म भनेपनि भयो। लिम्बु धर्म भनेपनि भयो। जे मन लाग्छ त्यो भनेपनि भयो। तर, ग्रन्थचाहिँ मुन्धुमै हो। मुन्धुममा उतिबेला त्यहाँभन्दा पहिलाका अरु मानिसहरुले सुनाएको कुरा स्रंग्रह गरिएकाले मुन्धुम सनातन हो। वेदहरु सनातन हो। यसैले सनातन वैदिक र सनातन मुन्धुम हो। तर, बुद्ध धर्मचाहिँ सनातन होइन।

    यो बुद्ध धर्म दुईतिरबाट कतिपय राम्रा र नराम्रा कुराको अन्तरक्रियाबाट बुद्धले नयाँ धर्मको रुपमा विकास गरेका हुन्। यो आधुनिक धर्म हो। यो आविष्कार गरिएको हो। मुन्धुम र वेद कसले आविष्कार गरे, त्यो थाहा छैन । तर, बुद्ध धर्म कसले आविष्कार गरेभन्दा शाक्यमुनि बुद्धले यसलाई सूत्रबद्ध गरे भन्ने आउँछ।

    …(बीचैमा) वेदपनि ब्रह्माले आविष्कार गरे भन्ने छ नि?

    त्यो गफमात्रै हो। मतलब कसले हो? भन्ने देखाउन सकिँदैन। तर, बुद्धको त प्रत्यक्ष देखियो। अनि मुन्धुमको नि कसले ग¥यो? एउटालाई देखायो, त्यो होइन। त्यसैले वेदबारे कसैले ब्रह्मा भनिदिए। कसैले ब्यास भनिदिए। त्यो आ–आफ्नो अनुमान हो। सत्यचाहिँ कुनै लेखकले पहिलेदेखि चलिआएको ज्ञानलाई लेखिदियो। कुरो यतिमात्रै हो र सनातन त्यसलाई मात्र भनिन्छ। 

    नेपालभित्र चारओटा सभ्यताको गहिरो प्रभाव छ। एउटा, मिथिला सभ्यता। मिथिला सभ्यता हिजो जनकपुर–तिरहुत हुँदै सिन्धुली र कोशीवेसिनसम्म हो। त्यसमा पहाडको भूमिका पनि छ। र, तराईको भूमिका पनि छ। दोस्रो, किरात सभ्यता अन्नपूर्ण पहाडदेखि पहाड–पहाड हुँदै पूर्वतिर गएको छ। त्यो किरात सभ्यता भयो। तेस्रो, सिँजा वा आर्य सभ्यता पश्चिम महाकालीतिरबाट बढ्दै काठमाडौं उपत्यकामा आएको छ। अनि बुद्ध धर्म कपिलवस्तुबाट बिस्तारै पूर्वतिर आएको छ। पछि दक्षिणतिर फैलिएको छ। तर, एउटा गज्जब कुराचाहिँ यी सबै धर्म काठमाडौंमा आएर गर्जो लाएको छ।

    नेपालको संविधानमा धर्मनिरपेक्षता मुलुक उल्लेख छ । सनातनदेखि चलिआएको धर्म हिन्दुमात्रै नभएकाले किरातलाई चाहिँ ‘बायस’ गरियो नि?

    जे कुरा सनातन वैदिकहरु कराइरहेछन्। त्यहीँ कुरो सनातन मुन्धुमवालाहरु पनि भनिरहेछन्। तर, माग गर्दा वैदिक सनातनवालाले भनिरहेछन्, हामीचाहिँ मुख्य हौं। त्यसकारण हाम्रोचाहिँ संविधानमा हुनुपथ्र्यो भनिरहेका छन्। उनीहरुले आफू सँगसँगै मुन्धुम धर्मलाई राष्ट्रिय धर्म बनाइयोस् भन्दैनन्। अनि लडाइँचाहिँ यहीँ छ।

    नेपालको संस्कृति र धर्मलाई नजरअन्दाज गर्ने कथित विद्धानहरुले धर्मनिरपेक्षता लेखिदिए। संविधानमा धर्म निरपेक्षता लेखिदिएर पश्चिमबाट आउने मानिसहरु नेपालका सबै संस्कृतिलाई समाप्त गर्न उद्दत छन्। हाम्रो धर्म गोराको जस्तो चर्च जाने होइन। हाम्रो धर्म ‘रिलिजन’ होइन। मुन्धुम धर्म भन्नुपर्दा ‘मुन्धुम रिलिजन’ लेखिँदैन। ‘रिलिजन’ भनेको संस्कार हो। पूजापाठ गर्ने कुरा ‘रिलिजन’ हो। उनीहरु चर्चमा गएर पूजापाठ गर्नुलाई ‘रिलिजन’ भन्छन्।

    हाम्रो धर्ममा तीनटा नियम हुन्छ। एउटा हाम्रो धर्मभित्र जसले त्यो धर्म मान्ने हो, त्यसको आचार हुन्छ। पुर्खा–पुर्खादेखि पालना गर्दै आएको सदाचार भन्छौं। सबै पालना गर्ने नियम छ। जतिसुकै धनी भएपनि तपाईं राई लेख्नुहुन्छ। विलियम वा ईरा त लेख्नुहुन्न। राई नै लेख्नुहुन्छ, त्यो सदाचार हो। आचार भनेको खास एउटा समुदायभित्र विकसित भएको नैतिक मूल्य–मान्यता हो। थुलुङको अलग हुन्छ। चामलिङको अलग हुन्छ। कुमाईको अलग हुन्छ। क्षत्रीको अलग हुन्छ। दलितभित्र कामीको अलग हुन्छ। दर्जीको अलग हुन्छ। यीचाहिँ नैतिकता हुन्। तर, एउटा सबैले पालना गर्ने कानुन हुन्छ, जो संविधान हो।

    यसैले धर्मनिरपेक्षताले तपाईं/हाम्रो संस्कृति सिध्याइदियो। नेपाल धर्मनिरपेक्ष भएपछि तपाईंले किरात भन्नु पाउनु भएन। उसले हिन्दु भन्न पाएन। यसकारण संविधानमा स्पष्टका साथ नेपाल चार ओटा सभ्यताबाट विकसित राज्यप्रणाली रहेको देश भन्नुपथ्र्यो। किटानी साथ भन्नुपथ्र्यो, मिथिला सभ्यता, किरात सभ्यता, वैदिक सभ्यता र बुद्ध सभ्यता। यसकारण यी चार ओटा सभ्यताका आदर्श व्यवस्था यहाँ लेखिनुपथ्र्यो । इतिहासमा चार सभ्यताको पुञ्जको रुपमा विकसित भएको राज्यप्रणालीसहितको देश नेपाल हो भनिनुपथ्र्यो। वैदिक सनातन धर्म, मुन्धुम सनातन धर्म र बुद्ध धर्म नेपालको राष्ट्रिय धर्म भनेर लेखिदिनुपथ्र्यो।

    किरात राई यायोक्खाले हालको १ नम्बर प्रदेशलाई इतिहास, भूगोल र संस्कृति र सभ्यताको आधारमा किरात प्रदेश नामकरण गराउन अभियानमा छ । यसमा तपाईंको राय के छ ? 

    म धेरै पहिलादेखि यसबारेमा प्रस्ट छु। मेरो बाबु पाँचथरको सभापति थिए। बाबुले कहिल्यै मेची अञ्चल भन्न जानेनन्, सधैंभरि हामी पल्लोकिरातका मान्छे भन्थे। पल्लोकिरात भन्नेबित्तिकै हामी लिम्बुका प्रजाचाहिँ भनेको होइन नि फेरि। राईको पनि प्रजाचाहिँ भनेको होइन फेरि। त्यो ठाउँको नामै किरात हो भन्ने उठ्थ्यो। त्यतिबेला पूर्व क्षेत्रलाई किरात प्रदेश भनिने भएकाले अहिले पनि मेरो चिनामा ‘आगे किरात प्रदेश धनकुटा जिल्ला, याङरुक, सुभाङ…’ लेखिएको छ। म २०१७ सालमा जन्मिएको हुँ। त्यतिबेला पान्थर धनकुटा जिल्लामै पथ्र्यो।

    मेरो पुस्तासम्म पूर्वका हरेक मान्छेको रगत–रगतमा किरात प्रदेश हो। मेरो पुस्तापछि किरात भन्ने हरायो। मुन्धुम हरायो। वेद हरायो। सबै कुरा हराउन थाल्यो। त्यतिबेला किरात सबैलाई पच्थ्यो। किनभने किरातलाई सभ्यताको रुपमा ग्रहण गरिन्थ्यो। जातको रुपमा ग्रहण गरिँदैनथ्यो। सद्भावको रुपमा ग्रहण गरिन्थ्यो।

    पछिल्लो समय दुवैतिरबाट गल्ती भयो। जुन साथीहरुले किरात भनेर उठाउनु भयो, उहाँहरुले जानाजानी बाहुन–क्षत्री र अरु बसोबासीलाई ‘आउट’ गर्ने तरिकाले किरात भनेको जात भन्ने तरिकाले कुरा उठाइदियो। यसरी किरातलाई एकलौटी जातको रुपमा व्याख्या गरिदिन थालिएपछि इतरकाहरु पाखा लाग्न थाले। यसलाई स्वीकारेर सच्याउन जरुरी छ। वास्तवमा, किरात भनेको जात नभएर सभ्यता हो।

    जातमा लिम्बु हो। लिम्बुभित्र पनि नेम्बाङ हो। सभ्यताको हिसाबले युवराज नेपाली लेख्न पाइन्छ। जीवन किराती लेख्न पाइन्छ। मैले पनि युवराज किराती लेख्न पाउँछु। तर, किराती लेखेँ भने लिम्बु वा राई भन्ने तरिकाले बुझ्ने चलन बढ्यो। किराती लेख्नेबित्तिकै किरातवासी रहेछ भन्ने बुझिदिनुपर्यो। यसमा समस्या छैन। तर, त्यसरी संकीर्णता बढाइयो।

    संविधानमा धर्म निरपेक्षताको सट्टा वैदिक सनातन धर्म, मुन्धुम सनातन धर्म र बुद्ध धर्म नेपालको राष्ट्रिय धर्म भनेर लेखिदिनुपथ्र्यो।

    यसकारण किरात सभ्यताको रुपमा स्वीकार्दा कसैलाई समस्या छैन। यसैले दुवैथरी खम्बुवान र लिम्बुवानका राई, लिम्बु र सुनुवारले यो बुझ्नु पर्यो। जातले म राई हुँ, लिम्बु हुँ र सुनुवार हुँ, लेप्चा हुँ। सभ्यताले म किराती हुँ भन्ने बुझिदिनुपर्यो। सभ्यताले चाहिँ युवराज संग्रौला पनि किराती हो भनेर बुझिदिनु पर्यो। अनि मैले पनि पूर्वको किरातमा बसेका खड्का पनि किराती हो। किरातमा बसेको दमाई पनि किराती हो। किरातमा बसेको संग्रौला पनि किराती हो। किरातमा बसेका राई र लिम्बु पनि किराती हो भनेर मैले बुझ्नु पर्यो। यसरी दुइटैको बुझाई यस्तो रहेमा किरात प्रदेश नाम लेख्दा कसले मान्दैन।

    यो कोशी शब्द कहाँबाट आयो? मलाई थाहा छैन । कसरी आयो । यो कोशी भन्ने शब्दको व्याख्याचाहिँ किरातभित्रका खम्बुवान र लिम्बुवान वा मिथिला भाषाबाट आयो वा संस्कृतबाट आयो? यो उहाँहरुले खोज्नु होला। तर, त्यो कोशीवेसिनसम्म जम्मै कोशीहरु भेला भएर आए। त्यहाँ आउँदा माथिबाट बगाएर जुन मल ल्यायो।

    त्यहीँ मलले उब्जाउ भूमि भएको हुनाले किरातहरुको पनि व्यवसाय चल्यो। किरातहरुको जीवन चल्यो। अरुहरुको पनि चल्यो। अन्ततः किरात सभ्यतालाई नै बोकेर कोशीवेसीको माटोले उठाएको हुनाले मिल्छ भने किरात–कोशी भन्दा पनि हुन्छ।

    तपाईं स्वयं पल्लोकिरातको हुनुभयो । ओल्लोकिरात, माझकिरात र पल्लोकिरात रहेको ऐतिहासिक भूगोलको समष्टिनै अहिलेको १ नम्बर प्रदेश हो । यो सभ्यता, संस्कृति, भूगोल, इतिहास देशकै गहना हो। र, पनि राजनीतिक दलहरु, विशेषगरी संघीय सरकार र प्रदेश सरकार यो किरात नाम राख्न किन हिचकिचाइरहेका छन्?

    तपाईंलाई म एउटा कुखुराको कथा भन्छु। यो पुरानो लोककथा हो। यो लोककथा उता पश्चिमतिरको सभ्यतामा छ। हाम्रो गाउँघरतिर पाइनेजस्तै रातो एउटा कुखुराको भाले आफ्नो पोथीसँगै आँगनमा चर्दै रहेछ। मकैको दाना खाँदै रहेछ। अलिकति पर पराल फ्याँकेको ठाउँमा केही टल्किएछ। के रहेछ भनी नजिक गएर भालेले हे¥यो। हेर्दा त्योचाहिँ मोती रहेछ। अनि भालेले मोतीलाई भनेछ, ‘तँ टल्किएर मलाई के हुन्छ ? तेरो मूल्य मेरो अगाडि के? के तलाईं मैले खान मिल्छ र? तेरो दाम मेरो अगाडि एउटा मकै दानाजति पनि छैन। तलाई लैजा र ऊ त्यो मकैको दानाको अलिकति दे भन्यो भने पनि तलाई म लिन्नँ।’ यति भन्दै भालेले मोतीलाई खुट्टाले हानेर फुटाएर टुक्राटुक्रा बनाइदियो।

    हो, देश त्यस्तै भयो। जसरी बाहिरबाट हेर्दा त्यो मोती भालेको लागि ढुंगा भयो। त्यसको मूल्य त महसुस गर्न सक्नुप¥यो नि। यो देश के हो? यो देश कस्ता सभ्यताले बनेको छ। कस्ता–कस्ता मानिसहरु एउटै दाजुभाइ बनेर यत्रो पाँच हजार वर्षसम्म आए। अझै बढी होला। एकअर्काका भाषा कसरी प्रभावित गरे। कसरी एकअर्काले दाजुभाइ, काका भने होला। लिम्बु एउटा वंशाणुगत सम्प्रदायको मान्छे हो। बाहुन एउटा वंशाणुगत सम्प्रदायको मान्छे हो। गाउँमा मित लगाएर बसेका छन्। एउटा मित मर्दा अर्को मित रोएर बस्छ। लिम्बु मित मर्दा बाहुन मित तीन दिनसम्म झोक्राएर भात नखाएर बस्छ।

    अझ पूर्वतिर एकअर्कामा नाता नलगाई बोल्ने चलनै छैन। गाउँघरमा साइनो नलगाई बोल्ने चलन छैन। त्यो सामाजिक लगावले मानिसलाई परिवारभित्र तान्ने गर्दथ्यो। अहिले त्यो सामाजिक लगाव भत्काइएको छ। अनि हाम्रा नेता, अधिकारवादी, मुख्यमन्त्री, प्रधानमन्त्री, विपक्षी दलका नेता सबैले त्यसखाले मोतीजन्य सभ्यतालाई ढुंगा देखिरहेका छन्। यस देशका सभ्यतालाई मोति देख्नुप¥यो। यी देशका सभ्यता मोती हुन् भन्ने जान्नुपर्यो। 

    (राईहरुको साझा सामाजिक संस्था किरात राई यायोक्खाको वार्षिक मुखपत्र ‘निप्सुङ–२०७६’को अंकका लागि तत्कालीन महासचिव जीवन हाताचो राई र केन्द्रीय सदस्य अर्जुन जम्नेली राईले लिएको अन्तर्वार्ताको अंश)

    प्रतिकृया दिनुहोस्

    ओली नै पार्टी विभाजनको नाइके – प्रचण्ड

    काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफ्नो दस्ताबेज पेस गरेपछि अध्यक्ष पुष्पकमल दाहाल...

    सियोना श्रेष्ठको उपचारका लागि कुवेतका नेपाली महिलाहरुले गरे देउसीभैलो खेलेर आर्थिक सहयोग

    नैनकला राई -कुवेत कुवेतको अल्मुल्ला क्लिनिङ् कम्पनीमा कार्यरत नेपालीहरुले पोल्यान्डमा स्पाइनल मस्कुलर एट्रोफी ( SPINAL...

    गणतन्त्रको भात पाक्न ढिलो भो भन्दै राजतन्त्रको गोबर नखाऊँ : बाबुराम भट्टराई

    काठमाण्डौ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो...

    महासंघको वस्तुगत उपाध्यक्षमा प्रधान समूहबाट अञ्जन श्रेष्ठ निर्वाचित

    काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ विजयी भएका छन् । ...

    खानेपानी विषय लिएर धरानका मेयर राई काठमाण्डौ पुगे

    धरान –  धरान उपमहानगरपालिका धरानका मेयर तिलक राई शुक्रवार काठमाण्डौ पुगेका छन् । धरानका खानेपानी...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।