News Portal

पेशा फेरियो तर बादी जातिलाई समाजले हेर्ने नजर फेरिएन !

हिमाली संचार संवाददाता
८७६ पटक

लक्ष्मी भण्डारी
सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिकाकी कविता बादी भारतको दिल्ली जान थालेको ४ वर्ष भयो। वर्षको धेरै समय उनी दिल्लीमै बिताउँछिन्, केही दिन मात्र घर आउँछिन्। कारण हो, सामाजिक विभेद। ६ वर्षअघि माथिल्लो जातिसँग विवाह भएको थियो, उनको। तर, श्रीमानबाट लगातार चरम यातना पाउन थालेपछि सहन नसकी वैवाहिक सम्बन्धलाई ‘डिभोर्स’मा टुंग्याइन्। उनका एक छोरा पनि उनीसँगै दिल्लीमा बस्छन्।

“गाउँमा आएपछि बाहिर निस्केर ढुक्कसँग हिँड्न सक्दिनँ,” कविता भन्छिन्, “छिमेकी र समाजले हाम्रो जात भन्‍नेबित्तिकै फरक नजरले हेर्छन्।” अन्य जातिका व्यक्तिहरू आफूहरूसँग घुलमिल हुन नचाहने उनी बताउँछिन्। “म मात्रै होइन, धेरै साथी गाउँमा बस्‍न रुचाउँदैनन्,” उनी भन्छिन्। कविताका अनुसार बादी समुदायका उनका धेरै साथी दिल्लीमै बस्छन्।

सोही बस्तीकी पुतली बादी दाउरा बेचेर गुजारा चलाउँछिन्। भन्छिन्, “साँझबिहान दुःख गरेर काम गर्छौं तर हामीलाई फरक पेशा गर्ने दृष्टिकोणले हेरिन्छ।” अझै पनि समाजको नजर नबदलिएकामा उनलाई चित्त बुझ्दैन। “हाम्रो जातमा पहिले केही व्यक्तिले ‘पेशा’ गरे होलान् तर अहिले हामी सबैले व्यवसाय गरेर आम्दानी गर्ने गरेका छौं,” उनी भन्छिन्, “अन्य जातिका महिलाले यौन पेशा गरे पनि ढुक्कसँग हिँड्न सक्छन् तर हामीले नगरे पनि आरोप खेपिरहनुपरेको छ।”

बकुला बादी (५६) पनि कहिले दाउरा बेचेर त कहिले गिट्टी कुटेर जीविका चलाउँदै आएकी छन्। तर, सामाजिक विभेद देख्दा उनको मन कुँडिन्छ। सोही विभेद र गलत नजरका कारण छोरी र नातिनीहरू भारत जाने गरेको उनी बताउँछिन्। केही वर्ष अघिसम्म बादी समुदायका पुरुषहरू मादल बनाउने र माछा मार्ने गर्थे। छोरीहरूले यौन पेशा अपनाउँथे। तर, अहिले परिस्थिति फेरिएको छ।

उनीहरू पुर्ख्यौली पेशा छाडेर कृषि र व्यवसाय गर्छन्। “आजभोलि यौनधन्दा अरूले नै गर्छन्,” झुप्रा खोलाकी गीता बादी भन्छिन्, “तर, यौन पेशा भन्‍नेबित्तिकै गिट्टी, बालुवा बोकेर साँझबिहान गुजारा गर्ने हाम्रै नाम पोलिन्छ।”

सामाजिक दृष्‍टिकोण नबदलिएकामा पार्वती बादीलाई पनि दुःख लाग्छ। महिला अधिकारकर्मी किमशरा खत्रीलाई भने सामाजिक दृष्‍टि बदलिने आशा छ। भन्छिन्, “पहिलेभन्दा अन्य जाति पनि उनीहरूसँग घुलमिल हुँदै आउन थालेका छन्। विस्तारै परिवर्तन हुँदै जान्छ।”

सिम्ता गाउँपालिका-६ की वडा सदस्य सुक्री बादी आफ्नो जातिलाई हेप्‍ने प्रवृत्ति कायम रहेको बताउँछिन्। भन्छिन्, “जति राम्रो काम गरे पनि हाम्रो जातिलाई गलत नजरले हेर्छन्। यसको अन्त्यका लागि हामी महिला एकजुट भएर अघि बढ्नुपर्छ।”

संविधानको धारा १६ ले सम्मानपूर्वक बाँच्‍न पाउने अधिकारको व्यवस्था गरेको छ। बादी महिलाहरू प्रतिको व्यवहार र दृष्‍टिकोण परिवर्तन नहुनु जातीय विभेदको उदाहरण भएको अधिवक्ता दुर्गाप्रसाद सापकोटा बताउँछन्।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...