विकास मरहट्टा
गोरखा – सिरानचोक गाउँपालिका-४ छोप्राकका जीतबहादुर गुरुङ ७४ वर्ष पुगे । तीन छोरा र चार छोरीका बुबा गुरुङका छोराहरुको शहरमा व्यवस्थित बसोबास छ । छोरा बुहारीले बारम्बार शहर आएर बस्न आग्रह गरिरहन्छन् । तर उनी भने गाउँ छाडेर अन्यत्र जान मान्दैनन् ।
‘तपाईं गाउँमा एक्लै नबस्नु, खाएको हात पनि हामी चुठाइदिउँला आउनुस् भनेर बुहारीहरुले भनिरहन्छन्,’ गुरुङले भने, ‘तर त्यहाँ कैदी जस्तो भएर कोठामै बस्नुपर्छ, बाहिर निस्किए गाडीले चेप्ला भन्ने डर हुन्छ, मलाइ त यही स्वर्ग छ ।’
गत चैत १९ गते रोगका कारण श्रीमतीको मृत्यु भएपछि एक्लिएका गुरुङले बुढेसकालको सहारा भन्दै अर्काे विवाह गरेका छन् । ‘श्रीमतीको मृत्युपछि चिन्ता धेरै भयो, निन्द्रा पनि परेन, चिन्ता भगाउन रक्सी खान्थेँ तर केही उपाय लागेन, म घुत्रुक्कै परे भने पानी दिने मान्छे पनि हुदैन, फेरि आफूलाई फोन गर्न पनि नआउने त्यही भएर साथ खोज्दै अर्काे विवाह गरेको हुँ,’उनले भने ।
आफूले १० पटकसम्म विहे गरेको बताउने गुरुङले पछिल्लो पटक गाउँकै ३३ वर्षकी युवतीसँग विवाह गरेका छन् । ‘पहिलो बिहे हुँदा १६ बर्षको थिए, बुबाआमाले ३० बर्षकी बुढीसँग विवाह गरिदिएका थिए’ जीतबहादुरले सम्भिmए । अहिले दाम्पत्य जीवन राम्रो चलिरहेको उनी बताउँछन् ।
रोजगारको सिलसिलामा उनी भारतको विहारस्थित तामाखानीमा पुगेका थिए । २०५६ सालमा जागिर छाडेर उनी जन्मथलो फर्किए । उमेरले ७४ बर्ष लागे पनि उनको जोश र जागर भने अझै उस्तै छ । भूकम्पले क्षति पुगेको घर पुननिर्माण गरिसके ।
गाउँ छाड्न नसकेका कारण शहर आउन छोराबुहारीको बारम्बारको आग्रहलाई उनले नकार्दै आएका छन् । उनी आˆनै जन्मथलोमा मर्न चाहन्छन् । ‘आफ्ना पुर्खा सबै यही मरे, मलाई पनि यही मर्ने रहर छ,’ उनले भने ।
शहरको सुखसयल जीवनभन्दा उनी गाउँकै परिवेशमा बढी रमाइरहेका छन् । धुलो धुवाले ढाकिएको शहर भन्दा हरियाली र स्वच्छ हावापानी भएको गाउँ नै प्यारो लाग्छ ।