News Portal

कविता – अन्तिम श्रध्दाञ्जली

हिमाली संचार संवाददाता
५८३ पटक
२०७७ जेठ १०, शनिबार

जिन्दगीको सीमान्त भीरबाट
गर्ल्याम्म ढलेर
भरोसाको एउटा बाटुलो घाम
आज अकस्मात्
यो विराट शुन्यतामा विलिन भएको छ !

सदाझैँ जुनकिरी नाचेर
हरेक साँझ
जीवनका आदिम खुसीहरू
मुस्कुराउने करेसाबारी आज सुनसान छ !
निशब्द निशब्द छन्
छानाभरि परेवाका टुहुरा हुलहरू
खर्लप्पै निलेको छ
अत्यास लाग्दो कालिमाले मनका पाखाहरू !
यतिबेला,
छायाँको बादल ओढेर
लमतन्न पल्टिएको छ – सिकुवामा इतिहास !
र आमासँगै मेटिएको छ
आँगनबाट जुनकिरी बोलाउने प्रिय संगित पनि !

बाँसको फुर्कामा बसेर
हरेक विहान
चिर्बिराउने चिबेचरी पनि
आज उसै गरी मौन व्रत बसिरहेछ !
सायद,
निदाएको दैलो खोलेर
मिर्मिरेमै आमा ननिस्किएपछि
चिबेचरीको कण्ठबाट आवाज गुमेको हुनुपर्दछ !
यस्तो लाग्छ
साँझबत्तीको सलेदो यतै छोडी
उज्यालो जति बोकेर
भर्खरै आमा जानुभएको छ आफ्नो घर
र आमासँगै गएको छ
यो धर्तीबाट वरपिपलजस्तो मायाँलु काख पनि !

स्पर्शभन्दा अनन्त टाडा – सम्झनामा !
दृष्टिभन्दा कोसौं टाडा – अदृष्य संसारमा !
भूतलभन्दा योजनौं टाडा – ब्रह्माण्डको अर्को छेऊ !
आमाको घर छ
र आजभोलि आमा त्यहीँ बस्नुहुन्छ !
आमा नहुँदी हुन त
यो संसार पनि जीवित नहुँदो हो !
ठिक यो बेला,
आमा सम्झनामा अनुवाद हुनुभएको छ !
आमा !
यो सृष्टि रहुञ्जेल,
तिम्रो आँतको मृत्यु भए पनि
अस्तित्वको अन्त्य त असम्भव रहेछ !

तिमीलाई डुबाएर
जुनीभर पीडाको तर्पण दिने
पीपकुण्डजस्तो आँसुको दह यहीँ छ !
सपना सबै भत्काएर
तिम्रा खुसीमा आतङ्क हम्किरहने
भट्टीजस्तो मनुको विरूप प्रयोगशाला यहीँ छ !
तिम्रै पाठेघरबाट निस्किएर
मातृवात्सल्यताको ऋण चुक्ता गर्न
बृध्दाश्रम खोल्ने मायालु छोराहरू यहीँ छन् !
हेर त आमा !
बाँचुञ्जेल जिउँदै जलाएर
आज तिम्रो अस्तुको खरानीमाथि
गोहीको आँसु झार्ने ढोँगी दुनिया पनि यहीँ छ !

कस्तो बिडम्बना !
आफैँले सृष्टि गरेको यो संसारमा
एउटा छोटो जीवन पनि
तिमीले ढुक्कले जिउन पाइनौ, आमा !
जसरी बगिरहेछ
अमेजन बेँशीमा पीडाको नाइल
उसै गरी चलिरहेछ
यो अविच्छेदित श्रृङ्खला पनि, आमा !
करोडौं आमाहरूले
यही आँसुको दहमा आत्महत्या गरे
र फेरि पनि,
कति आमाहरूले आत्महत्या गरिरहने हुन् !

यी सबैसबै कुराहरू भुलेर
मैले सकिन आमा,
तिमीलाई यतिखेर श्रध्दाञ्जली दिन !
बस् ! म त,
यही दहको किनारामा उभिएर
वर्षौँवर्षदेखि,
एउटा मूकदर्शक साक्षी बनेको छु !
यस्तो लाग्छ
म नै हुँ यो धर्तीको सबभन्दा नीरिह छोरो !

जुन दिन
यो धर्तीका सहस्र आमाहरू
ग्रीष्मकालीन हिमालझैँ मुस्कुराउने छन् !
र सारा बन्धन चुंडाएर
पहाडको काखबाट झरिरहेको
तरूनी झरनाजस्तो उदात्त बन्ने छन्
त्यही दिन, आमा !
यी जूनताराहरू साक्षी राखेर
म तिमीलाई अन्तिम श्रध्दाञ्जली दिनेछु !

– प्रथा

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...