सपना हराएर
सुनसान खर्कजस्तो जिन्दगीमा
आँखाहरू जलेको लिड बल्ब बनेका छन् !
आफ्नै भरोसा गुमाएर
पोचिएको थुरजस्तो भएको छु
र आफैँमाथि सङ्कालु बादल मडारिरहेछ !
वर्षौँ अगिको कुरा हो
विश्वास टेकाएर
पारूहाङजस्तै अलैँचीका बेर्ना सारेपछि
म झरेको हुँ
भोकको बाह्रखरी पढ्दै – यो चिसो देउरालीमा !
यहीँनेर बज्ने गर्थ्यो
जङ्गली चराहरूको आदिवासी सङ्गित !
यहीँनेर मुर्चुङ्गा फुक्थे
अरब छिरेका लेकहाङ साइँलाहरू !
यहीँनेर बुन्नुहुन्थ्यो
मेरी युमाले पिरती लुकाउने सुकुना पनि !
र यहीँनेर गट्टी खेल्थे
फोक्लैण्ड दुखेका खियामा कान्छीहरू !
धानचमरा झुलेपछि
सहकाल बोलाउने बतास कहाँ गयो
हलेसोका बथान बिच्काएर
हरेक साँझ गुलेली हान्ने केरूङ बाजे कहाँ गए
तन्नेरीसँग धान नाचेर
उत्ताउलिने फुर्लिमाको आलो वैँस कहाँ गयो
अन्तु डाँडामा भारी बिसाएर
हाक्पारे गाउने थकित् दाउरेनीहरू कहाँ गए
र फक्ताङलुङ साक्षी राखेर
यो देशलाई प्रेम गर्ने फेदङ्वाहरू कहाँ गए ?
आज वर्षौंपछि पनि
यो आदिवासी वन उसै गरी रोइरहेछ !
सायद,
सरकार सोच्दै हुनसक्छ
माईपोखरीमा डुङ्गा चलाउने योजना !
बस् !
यत्ति बुझिदेऊ सरकार
त्यो निलो दहमा डुङ्गा तैरिँदा
हाम्रा चिम्सा आँखाहरू किन बिझाउँछन् ?
✍️ – प्रथा