News Portal

घण्टौँ हिँडेर विद्यालय पुग्छन स-साना बालबालिका !

हिमाली संचार संवाददाता
५७६ पटक

केशर राेका
प्युठान : माण्डवी गाउँपालिका–१ कुमालटारकी कृष्णा ठेडी बिहान ६ बजे उठ्छिन्। राम्रोसँग हातमुख धुन नपाउँदै उनलाई विद्यालय हिँड्न हतार हुन्छ। केहीबेर घरमा ढिला गरिहाले साथीहरूले छाड्छन्। ३ घण्टा पैदल यात्रापछि मात्र उनी विद्यालय पुग्छिन्। बिहानै गाडी पाउँदैन। संयोगवश गाडी भेटिहाले पनि रोक्दैनन्।

ठेडीलाई राम्रोसँग पढ्नेभन्दा धेरै पिरलो विद्यालय पुग्ने र फर्किनेमै हुने गरेको छ। बिहान घरमा परिवारसँग बसेर खाना खानु उनका लागि बिरानो बनिसक्यो। चिया, नास्ता खाएर टिफिनको खाना बोकेर उनी दिनहुँ विद्यालय पुग्ने गर्छिन्। अतिरिक्त कक्षा र ट्युसन पढ्दा पाँच बजे नै उनी विद्यालय हिँड्नुपर्छ। दिन छोटा हुँदा अँध्यारोमा हिँड्नै मुस्किल हुने गरेको उनी दुःखेसो पोख्छिन्।

नौ कक्षामा अध्ययनरत १७ वर्षकी ठेडीको दैनिकी विद्यालय आउने–जाने चिन्ताले बित्ने गरेको छ। थकानले गर्दा राम्रोसँग पढ्न पाउँदैनन्। झोलाभरि कापी, किताब बोकेर उनीसहित थुप्रै विद्यार्थी घण्टौँ पैदल यात्रापछि मात्र विद्यालय पुग्ने गरेका छन्। माण्डवी माध्यमिक विद्यालय नयाँगाउँमा पढ्न जाने टाढाका बालबालिकाले वर्षौंदेखि यस्तै पीडा झेल्दै आएका छन्।

११ किलोमिटर टाढाको दूरीबाट बालबालिका हिँडेर विद्यालय पुग्ने गर्छन्। थक्लेनी, कुमालटार, सिमलचौर, एकचोटेलगायत क्षेत्रका बालबालिकालाई विद्यालय पुग्नै सकस हुने गर्छ। जसपुर, चकचके, आपचौर, सल्लीकोट, नरसुउदयपुरकोट, धाइरेचौर र भलावाङका बालबालिकासमेत घण्टौँ हिँडेर विद्यालय जाने गर्छन्।

‘स्कुलमा पुग्दा खुट्टा दुख्छन्’, ९ कक्षामा अध्ययनरत थक्लेनीकी १५ वर्षीया सेमन्ता उलुङेले भनिन्, ‘६ बजे हिँड्नुपर्छ। थकाइ लागेर पढ्नै सकिँदैन।’ आठ कक्षासम्म जस्पुरस्थित भवानीश्वरी आधारभूत विद्यालयमा पढेको उनले सुनाइन्। माध्यमिक विद्यालयमा आउजाउ गर्न करिब २२ किलोमिटर हिँड्नुपर्छ।

गाउँमै माध्यमिक तहसम्म पढाइ हुने विद्यालय नहुँदा टाढाका बालबालिका घण्टौँ हिँडेर विद्यालय पुग्ने गरेका छन्। बस्ती छरिएकाले टाढाका गाउँमा मावि सञ्चालन गर्न समस्या हुने सम्बन्धित विद्यालयले जनाएका छन्। ६ कक्षादेखि माथिका २ सय ७१ जना विद्यार्थी आउजाउ गर्दा झण्डै ६ घण्टा हिँडेर विद्यालय आउने गरेको प्रधानाध्यापक मेघराज पौडेलले जानकारी दिए।

‘स्कुल बस सञ्चालन गर्न सके विद्यार्थीलाई धेरै सहज हुने थियो’, उनले भने, ‘विद्यालयले लगानी गर्न सक्ने अवस्था छैन। साना बालबालिका घण्टौं हिडेर स्कुल आउँदा साह्रै पीडाबोध हुन्छ।’ पढ्न आउने विद्यार्थीको घरघरमा गाडी पुग्ने मोटरबाटोको सुविधा भए पनि स्कुल बस सञ्चालन गर्न नसकिएको उनले सुनाए।

कतिपय बालबालिकाले विद्यालय आउन–जानका लागि साइकल किनेका छन्। तर, त्यसले दिगो समाधान दिन सकेको छैन। सबैको पहुँचमा साइकल नहुँदा अझ विद्यार्थीमा मनोबल घटाएको पाइएको छ। जिल्लाकै अब्बल मानिने उक्त विद्यालयमा विद्यार्थीको आकर्षण बर्सेनि थपिँदै गएको छ। माण्डवी गाउँपालिकाले पालिकामध्येबाट नमुना विद्यालयका रूपमा यसै विद्यालयलाई अघि सारेको छ। उक्त विद्यालयमा ८ सय ७० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक पौडेलले बताए।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...