News Portal

  • मकाउ दशै विशेष: मकाउमा रहेका नेपाली समुदायले यो बर्षको दशै यसरी मनाए

    हिमालीसंचार संवाददाता
    ३२४ पटक

    मकाउ – नेपालीहरुको महान चाड बडा दशै भर्खरै विदा गरिएको छ। यो बर्ष पनी कोरोना कहरका कारण बडा दशै जमघट गरेर उल्लासमय ढंगले सामुहिक रुपमा मनाउन सकिएन। पछिल्लो समय सामाजिक संचालको उपयोग गरेर साथी भाईबीच शुभकामना आदान-प्रदान गरी सद्भाव कामय गरिएको देखिन्छ।

    मकाउमा रहनु हुने नेपाली समुदायबीच यो बर्षको बडा दशै कसरी मनाउनु? बडा दशै सम्बन्धि तपाईको अनुभूति के कस्तो छ? भनेर हङकङ-मकाउका महावाणिज्यदूत, मकाउमा गठीत विभिन्न संघ संस्थाका प्रमुखहरु, नेपाली युवा व्यावसायी तथा सामाजिक अभियन्ता लगायद समाजका विशिष्ट व्यक्तित्वहरुमा आफ्नो धारणा सोधेका थियौ। दशै सम्बन्धि वहाँहरुको अनुभूति र धारणा जस्ताको त्यस्तै प्रस्तुत गरेका छौ।

    उदय राना मगर, महावाणिज्यदूत हङकङ- मकाउ – दशै अन्याय माथी न्यायको जितको खुशीयालीमा मनाउने पर्व हो । सयौथुगा फूललाई एउटै मालामा उनीएको हामी सबै जातजातिले एकअर्काको सस्कार र सस्कृतिलाई सम्मान गर्दै आएका छौ ।

    प्राय; देश विदेशमा रहेका नेपालीहरुले दशैलाई मनाउने प्रचलन छ । यसै सन्दर्भमा यस पटकको दशै हङकङमा रहेर मनाउने मौका मिल्यो। विगतमा बर्षौदेखि भेटघाट नभएको साथीहरुसंग भेटेर गाउमा नै गएर मनाउदाको क्षण भन्दा भिन्न रह्यो यो पटकको दशै । तथापि नया अनुभुतिको साथमा । 

    यहा रहेका केही नेपाली संघसस्था मूलतः हङकङ नेपाली महासंघ, गैरआवसीय नेपाली संघले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि हुने मौका मिल्यो । उपस्थित सबै नेपालीहरु बीच शुभकामना आदान प्रदान गर्दा नेपालको दशै खासै मिस भएन । 

    यहा रहेको नेपालीहरुसंग त दशै मनाउने अवसर मिल्यो तर मकाउमा रहेको नेपाली साथीहरुसंग दशै मनाउने अवसर नमिलेको दूःखीत छु । आशाबादी छु अर्को दशैमा यो अवसर पनि मिल्ने छ । समग्रमा आफ्नो देश छोडेर विदेशमा रहेर दशै मनाउदाको पिडालाई आफैले अनुभूति गर्ने अबसर पाए । दुर्गा भगवतीले सवैको रक्षा गरुन ।

    राजेश प्रसाई, अध्यक्ष गैरआवासीय नेपाली संघ मकाउ – यो २०७८ सालको दशै, संस्थागतरुपमै सामुहिक रुपमा बढीभन्दा बढी नेपालीहरुलाई समेटेर हाम्रो आफ्नो मौलिक र सास्कृतिक चाड पर्व संयुक्त रुपमा मनाउंला भन्ने विचार थियो।

    कोरोनाका कारण मकाउ सरकारले स्वास्थ्या रोकथाम निर्देशिका अनुसार हुल गर्न र भेला हुन नदिएको कारण सामुहिक रुपमा भेटघाट जमघट गर्न सकिएन । 

    त्यही माथि नेपाली समुदायका केही नेपाली साथीहरुलाई कोरोना संक्रमित हुनु भएको हुदा मकाउ सरकार र मकाउका जनताले समेत हामी नेपालीहरुलाई अलक, असहज र उनीहरु असुरक्षित भएको महुसुस गर्दै अलिकती कता कता भेदभावको वातावरण बन्न गएको हुदा यो पटक आफ्नै कोठामा सिमित साथीहरुबीच मात्रै दशै मनाईयो।

    शम्सेर थापा मगर, अध्यक्ष मगरसंघ मकाउ – मगरहरु प्रकृति पुजक भएकोले दशैंलाई बिवादित बनाईनु हुदैंन। दशैं एउटा प्राकृतिक पुजा नै हो । मौसम बर्षा ऋतुबाट सरद ऋतुमा सरेको अवस्था र अर्थात् यसको पुजा धेरै देशमा आफ्नै तरिकाले गरिन्छ।

    तर नेपालमा हिन्दूत्वले बेसी मिचेर गलत अर्थय्याउँदै हिन्दूहरुको महान चाड भनिएको छ। जुन कुरा गलत हो। यो त एउटा पूर्ण प्रकृति पुजा हो । जसरी मगरहरु इतिहासकालदेखि नै कूल, सिमे, भूमी, बाई, देवी र देउरालीलाई पुजा गर्दै आए । त्यसैले यसलाई हिन्दूको मात्रै पुजा हो भनेर नबुझौं । यसर्थ यसलाई बिवादित बनाईनु हुदैंन ।

    दशैँ भनेको दशै दिन भनेको हो । शारदीय नवरात्र भनेको पनि शरद ऋतुको नौ ओटा रात्री भनेको हो । यो न हिन्दुको हो, न बौद्ध, न कुनै विशेष धर्म या समुदायको । यो त समय ऋतु मौसमको कुरा हो। यो त आइतबार, सोमबार भने जस्तो हो। तसर्थ तपाइले दशैँ (शरद ऋतुको यस ९ रात १० दिन) जसरी माने पनि, नमाने पनि, ऋतु क्रिया त चलेकै हुन्छ। 

    सबैले आ-आफ्नै हिसाबमा दशै मान्ने हो, कसैले कसैलाई यसरी गर या नगर, दशैँ मान या नमान भनेर कर कार गर्नु सोभनिय देखिदैन।  

    हिन्दुले आफ्नै तरिकाले स्थान विशेषले कतै दुर्गा त कतै राम सम्बन्द, बौद्धले आफ्नै तरिकाले बिशेष गरि अशोक सम्बन्द, जैनले आफ्नै तरिकाले बिशेष गरि ऋषवदेव र ब्राह्मण रावण सम्बन्द र सिखले आफ्नै तरिकाले अस्त्र सम्बन्द दशैँ मान्दछन्। 

    तर मगरहरुले दही अक्षेताको टिका र जमरा लगाई ठुला, बडाबाट साना सन्नततीहरुलाई आसिस दिई टिका लगाई दिने परम्परा रहेको छ । रातो टिका र नवादुर्गा भन्ने हिन्दुत्वमा मात्रै हुन्छ। मगरहरुमा देवी-देउराली मात्रै हुन्छ। मनाउन चाहने मगरहरुले मगर दशैं मनाऊँ ब्राह्मणिय दशैं होईन । 

    चीन, भियतनाम, जापान, कोरियामा पनि आफ्नै तरिकाको मध्य शरद ऋतुमा ठुलो चाड लाग्छ। उदाहरणका लागि चीनमा मिट अटम फेसटिबल मुनकेक भनेर हर्ष उल्लासको साथ मनाइन्छ। 

    मगर संघ मकाउले यस अघीको दशैं मैलिक तथा सांगीतिक क्रार्यक्रम सहित शुभकामना आदन प्रदान गरी सेतो टिका र जमरा अनि रातो टिका लागाउनेलाई रातो टिका र जमरा लगाई मगर संघ मकाउले दशै मनाउदै आएको थियो। 

    तर यसपाली मकाउमा कोरोना प्रकोप निक्कै बेसी भएकोले मकाउ सरकारको स्वास्थ्य मंत्रालयको आचर अनुशासनमा रही ठूलो जमघट नगरी आ-आफ्नै तरीकाले मनाउने निर्णय गरियो। कोरानोको यस घडीमा सक्दो सतर्क अपनाएर  खुसियालीको साथ दशैँ मनाउनु पर्यो । सबैको भलो होस् ! जय मगरात!

    भिरेन वाईवा, सचिव मकाउ तामाङ धेदुङ एशोसिएसन – म सानो छंदा मेरो लागि पनि दशैँ तिहार विशेष थियो। दशै आउने बित्तिकै स्कुलबाट लामो छुट्टी पाईने, देउसी भैलो खेल्न पाईने, वनभोज-शैक्षिक भ्रमण जाना पाईने ईत्यादि कुराहरुले अझ बढि विशेष लाग्थ्यो। परिक्षामा मन पर्ने चाडको बारेमा लेख्नु पर्दा प्राथमिकतामा दशै या तिहार नै हुन्थे।

    दशै तिहार मेरो बाल मस्तिष्कमा यसरी बस्यो कि मलाई सोनाम ल्हेछार, तमु ल्होछार (पुष १५), उधौली-उभौली तुलनात्मक रुपमा अरु चाड जस्तै लाग्दैनथ्यो। यीनीहरु साना पर्वहरु हुन सबै भन्दा ठुलो र नेपालको राष्ट्रीय पर्व भनेको त दशै-तिहार नै हो भन्ने धाराणा थियो ।

    सायद मेरो शिक्षा प्रणाली, वातावरण, सञ्चार माध्यम सबै क्षेत्र त्यहि अनुरुप नै निर्देशित र परिचालित थियो। जब म हुर्किदै गए अध्ययन संग संगै तामाङ घेदुङ र तामाङ समाजका कार्यक्रमहरुमा, अन्य समुदायका कार्यक्रमहरुमा सहभागी हुँदै गए समाजलाई फरक र फराकिलो नजरबाट हेर्न बुझ्न थाले।

    त्यसपछि बिस्तारै मलाई आफ्नै संस्कृति, भेषभुषा, भाषा रमाईलो र पृथक लाग्न थाल्यो। तामाङ संस्कार भित्रको घेवा, कुल पूजा, घरमा गरिने अन्य विशेष पूजाहरु, ल्होछार परम्परालाई अवलोकन त गर्दै आएको थिए तर त्यसलाई बुझेर जानेर सँस्कारको रुपमा ग्रहण नगरेको रहेछु भन्ने कुरा अहिले आभाष हुन्छ।

    समय परिस्थिति सँगै देशमा आमुल परिवर्तनहरु आए। राजतन्त्र, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्ष सहितको संघीय राष्ट्रको साक्षी भैरहँदा धेरै बिभेदको अनुभव सहित पहिचानको निमित्त संघर्ष अझै निरन्तर छ। 

    जुन छुट्टै बहसको बिषय हो । अहिलेको समयमा सबै भन्दा चर्चाको बिषय बनेको छ दशै। अझै पनि जनमानसमा के अन्योलता छ भने दशै नेपालीहरुको पर्व हो। शुभकामना आदन-प्रदान गर्दा पनि नेपालीहरुको महान चाड भनेर नै संबोधन गर्ने गरिन्छ। दशै पर्व कहिलेबाट सुरु भयो? भन्ने कुराको ठोस प्रमाण त छैन। 

    तर हिन्दु धर्म अनुसार रम्भ नामक राक्षस र भैंसीको समागमबाट जन्मेका शक्तिशाली राक्षस महिषासुरले मनुष्य र देवताहरुमाथि अत्याचार गर्न थाले पछि सबै भगवानहरुको संयुक्त शक्तिबाट उत्पत्ति भएको दुर्गा देवीले उनको बध गरे पश्चात यसको सुरुवात भएको हो भन्ने मिथ रहेको छ । 

    त्यस्तै, अर्को कथा अनुसार भगवान राम चन्द्रले १४ बर्षको बनवासको क्रममा रावणको बध गरेर अयोध्या पुगेर विजय उत्सव मनाएको कारणले पनि यसलाई विजया दशमी पर्व भनेर भनिएको हो भन्ने आर्य हिन्दु पुरोहितहरुको कथन रहेको छ। 

    तर नेपालमा मुलबासीहरुको सभ्यता, इतिहास , धर्म त्यो भन्दा पनि पुरानो देखिन्छ । जुन नेपाल एकीकरणको नाममा नाशिय, माशिय, जलाईए र नष्ट पारिए। मानिसहरुको सोच यति सम्म पुर्बाग्रहि भैसक्यो कि दशै मनाएना, टिका लगाएना भने यो जातिवादी हो। यो नेपाली हैन भन्ने सम्मको तर्क दिन्छन् । यी सबै शासक वर्गहरुको विरासतको एउटा उपज हो। 

    अहिलेको शिक्षित वर्ग जसले ईतिहासको प्रसस्त अध्ययन गर्न सक्छन् । बुझ्न सक्छन् । उनीहरुबाट पनि यस्तो प्रतिक्रिया आउनु लज्जास्पद हो। 

    यदि अन्य समुदायाले दशै मनायो भने सामाजिक सद्भाव क़ायम गर्यो र मनाएन भने धार्मिक द्वान्द्व  निम्त्यायो भन्ने खालका बिश्लेषण गर्न समेत पछि नपर्नेहरुले यो सोच्न पर्यो कि उसको आफ्नो छुट्टै धर्म छ । मौलिक संस्कार,  रितीरिवाज र परम्परा छ । 

    त्यसलाई हामीले सम्मान गरेर हामीले पनि सामाजिक सद्भाव कायम गर्न सक्छौ। यति मात्र न्यूनतम चेतना भई दियो भने पनि आदर्श समाजको निर्माण गर्न सकिन्छ । मुलुक धर्मनिरपेक्ष भई सक्दा पनि धर्म विशेष, जाति विशेषलाई राज्यसत्ताले अग्रपंतिमा राख्नु र ती जाति धर्म विशेषका समुदायले अन्यलाई हेर्ने दृष्टिकोणमा सकारात्मकता नआउनु अत्यन्त दु:खद कुरा हो।

    दशैलाई लिएर अबको पुस्ताले के बुझ्न जरुरी छ भने यो नितान्त धर्म विशेषको पर्व हो जुन मनोवैज्ञानिक रुपमा ईतिहासको कालखण्डमा हाम्रो समुदायमा लादियो र यसलाई अब धर्म निरपेक्ष राष्ट्रमा अन्य धर्मावलम्बीहरुले नमनाउदा त्यो दशै बहिस्कार गरेको हुदैन। 

    उसले आफ्नै धर्म र मुल्य मान्यतामा आधारित भई स्वतन्त्र रुपले दशै नमनाउन पाउछन् । सामाजिक सद्भाव कायम गर्न सबै जातिको उत्तिकै योग्दान हुनुपर्छ । 

    राज्यले पनि हरेक जात जाति र धर्मावलम्बीहरुलाई समान ब्यबहार र प्राथमिकता दिनुपर्दछ । त्यसैले अबको निकास भन्नु नै पुर्ण समाबेशी र समान सहभागितामुलक राज्य ब्यबस्था हो ।

    ङवाङ ग्याल्जे शेर्पा, अध्यक्ष शेर्पा समाज मकाउ – म शेर्पा समुदाय भित्रको ब्यक्ति भएको हुदा मेरो आफ्नो मौलिक भाषा, भेषभुषा, संस्कृति र रितिरीवाज रहेको बौद्ध धर्म मान्ने जाति भित्रको समुदय हो।

    शेर्पा जातिको प्रमुख चाड फाल्गुन शुक्ला प्रतिपदाको दिन मनाउने ग्याल्बो ल्होसार हो, ग्याल्बो लोसार खासगरी शेर्पा जातिले मनाउने भएता पनी सामाजिक, सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । 

    हाम्रो देश विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति, रितीरिवाज र चाडपर्व मान्ने समुदाय र सामाजिक संरचना भएको मुलुक हो। हाम्रो समुदायमा विभिन्न जातजातीहरुको विभिन्न किसिमको चाडपर्वहरु मनाउदै आएका छन्। 

    यी चाडपर्वहरु मध्ये हिन्दुधर्मलम्बीहरुले मान्ने दशैं पनि एक प्रमुख चाडपर्व हो । दशै चाड शेर्पा जाति समुदयको मौलिक चाड भने होइन तर सामाजिक र संस्कृतिक धुलमिलको कारण धार्मिक, सामाजिक सदभाव र सम्मानको रुपमा अन्य जाति समुदयहरु संग बसेर रमाइलो गरेर मनाउने गरेको देखिन्छ। 

    कोरोना कहरका कारण जमघट र रमाईलो गर्न नपाए पनी मैले सोही अनुरुप सिमित साथी भाईसंग भेटघाट गर्दै शुभकामना आदान प्रदान गरेर दशैको शुभकामना आदान प्रदान गरियो । 

    “सयौ थुंगा फुलका हामी एउटै माला नेपाली” भन्ने कुरालाई मनन गर्दै एक अर्कालाई  सम्मान गर्दै हामी सम्पूर्ण नेपाली एउटै माला भएर सामाजिक सदभाव कायम राख्नु पर्छ । 

    राज्यले पनि सबै भाषा, भेषभुषा, जातजाति र धर्मलम्बीहरुलाई समान अधिकार र ब्यबहार गर्नु पर्छ। त्यसैले, “सकरात्मक सोच राखौ, एक अर्कालाई सम्मान गरौ

    रुस्थुम श्रेष्ठ, सफल युवा व्यावसायी मकाउ – दशै आफैमा रमाईलो चाड हो। साह्रा नेपालीहरुको महान चाडको रुपमा मान्दै आएको रमाईलो चाड हो। यो चाडले विशेष गरी नेपाली भावना जोडिएको हुन्छ।

    कोरोना महामारीको कारणले यो बर्ष उमंग छाएन। मकाउ सरकारको अनुरोधलाई सहयोग गर्दै परिवार, आफन्त र नजिकको साथी भाईसंग जमघट बाहेक सामान्य खान पान गरेर दशै मनाए। 

    आफ्नो चाड, पर्व र मौलिकताको महत्व पृथक हुन्छ। दशै भन्ने वित्तिकै बाल्यबस्थाको सम्झनाले मिठास भरिदिन्छ। त्यसैले दशैले नेपाली समुदायको भावना जोडिने भएको हुदा दशै हरेक दुख बिर्सेर सुखद् क्षणको अनुभूति गर्ने चाड हो।

    गीता मगर शेर्पा, समाजसेवी हाल मकाउ – यसपालीको दशै कोभिडको कारणले धेरै जना आत्मिय मानुभावहरुसंग भेटघाट गर्न नमिल्ने वा ठूलो जम्कघाट गर्न नमिल्ने भएकाले केहि आफन्त र सिमित साथीहरूसंग बसेर रमाईलो गरियो।

    मलाई दशैले सम्बन्धहरूको नविकरण गर्न सघाउछ र आत्मिता बढाउछ जस्तो लाग्छ । त्यसैले दशै मलाई अति मन पर्छ। साथै टिका ग्रहण गर्दा खेरि आशिस् रूपमा यस्तो गर्नु, यस्तो नगर्नु, यस्तो बन्नु भनेर जीवनको अमुल्य सुझाव पनि मान्यजनबाट गर्न सकिन्छ। 

    दशै कुनै धार्मिक समुदायसंग जोडेर हेर्ने गरिनु हुन्न। सम्पूर्ण नेपालीहरुको चाडको नजरले हेरिनु पर्दछ।राज्यले पनी कुनै कसैको धर्मलाई पक्षपोषण गर्नु हुन् । प्रकृतिको लहलह उर्जासिल मौसम आफन्तहरुको भावना के छ भनेर बुझ्ने मौका पाउनुको साथै आफ्नो जीवनलाई अगाडी बढाउने उर्जा र प्रेरणा प्राप्त हुन्छ ।

    भीम कुमार राई, अध्यक्ष नेपाल आदिबासी जनजाति महासंघ मकाउ – दशै सम्बन्धि मेरा केही प्रश्न र जिज्ञसाहरु रहेकोले यसको उतरमा एक शब्द लेख्नै पर्छ भन्ने लाग्यो । दशै नेपालीहरुको माहान पर्व हो भन्दै गर्दा यो नवदुर्गा भवनीको पुजा आराधाना गरेर मनाउने पर्व हो। दशै विजयको उत्सवको रुपमा मनाएको पर्वको भएको हुनाले बिजय दशमी पनि भनिएको कथन छ। 

    मैले आज यहाँ अन्य भगवान भनिएका र महिसासुर राक्षसहरुका अतिरन्जित कथन जोड्न चाहान्न। नेपाल एकीकरण भईसकेपछि साशकहरुले मुलबासी आदिबासीहरुको राज्य साशन हत्यायो। 

    हाम्रो महत्वपूर्ण दस्तावेजहरु खरानी गर्ने काम गरी, आर्थिक कमजोर पार्ने उपायाहरुको रुपमा दशैलाई अनेक धार्मिक खिस्साहरु जोडेर प्रचार प्रसार गरी दशै मान्न बाध्य पारियो। 

    पछिल्लो समय मेरो पुस्तासम्म आईपुग्दा त्यही दमनको अवशेषको रुपमा बाध्यकारी सेतो टिका निधारमा टास्न बाध्य पारियो। हाम्रो चाड होईन् भनेर दशै नमान्दा राज्यसत्ताद्वारा सन् १८६३ धनकुटामा रामलिहाङ र रिदाम्मा आठपहरियालाई रुखमा झुन्ड्याई हत्या गरियो। 

    त्यसैले दशै बाध्यकारी पर्वको रुपमा राज्यले मान्न लगाएका छन्। पछिल्लो समय यसलाई संस्कारको रंग भर्दै दशै मान्नु भन्दा पनि अत्यन्तै बढी आर्थिक शोषण गरेको छ। ससुराली जादा पहिलोमा रांगा-सुङगुर डल्लै। त्यस्तै घरमा मार हन्नै पर्ने। यस्तो विडम्बना युक्त संस्कारको विकास हुदा धेरै गरिबको उठीबास भएको छ।

    राज्यले हाम्रा पुर्खाको गर्धनमा तरवार राखेर दशै मान्न बाध्य पारेका धेरै उदाहरण छन्। राज्यले आफ्नो कर्तुत जति छोप्न खोज्यो उती उदाङगो भएको छ। महागुरु फालगुनन्दको किरात लिम्बु समुदायमा जन्म नभएको भए? हाम्रो समुदाय, हाम्रो समाज अस्तित्व विहिन समुदायको रुपमा आलप हुन्थ्यो।

    लील बहादुर गुरुङ ‘गोरा’, अध्यक्ष गुरुङ ‘तमु’ समाज मकाउ – दशै हराभरा हरियाली मौसम, प्राकृतिक सौन्दयताले नया बेहुली जस्तै सजिएको महिनामा पर्ने भएको हुनाले दशैको छुट्टै रौनक हुन्छ। मैले त्यो बेलाको समयमा मनाउदाको दशै र अहिले देखेको दशैमा आकाश जमिनको फरक देख्छु । यो सबैले अनुभूति गरेको विषय नै होला म यस विषयमा धेरै जान चाहन्न।

    कसैले मनाउला कसैले नमनाउला आ-आफ्नो ठाउमा होला र यो बर्षको दशै मेरो लागि फरक रह्यो।  दशैमा मैले यो बर्ष कुनै जमघट र भेटघाट गरिन। फेरी पनी विज्ञान र प्रविधिको प्रयोग गरि सामाजिक संजाल मार्फत शुभकामना आदान प्रदान गरियो । म हरेक धर्म, जात र पहिचानको सम्मान गर्ने खुल्ला हृदय भएको मान्छे हु। 

    त्यसैले यो मेरो नितान्त ब्याक्तिगत धारणा हो र मैले दुई चार शब्द लेख्दा कहि कतै घोचपेच भएमा क्षमा पनि चाहन्छु र राज्यले दशैलाई उच्च प्राथामिकता अझै राज्यको हरेक दृष्टिकोणबाट दशैलाई महत्व दिईरहदा भने हाम्रो ल्होछार पर्वलाई त्यती महत्व दिएको देखिदैन्। 

    राज्यले कुनै चाड पर्व विशेषलाई प्राथमिकता र अर्कोलाई उपेक्षित गर्न हुदैन् सबै चाडपर्वलाई सम्मान रूपमा हैर्नु पर्दछ। हिजो गल्ति भएको छ भने आज सुधारिदै जानु पर्छ र भोली समानरुपले हेर्नु पर्दछ। समय परिवर्तन भईरहन्छ । हामी सबैले हेक्का राख्नु पर्दछ धन्यवाद।

    चण्डी योङ्या लिम्बु, अध्यक्ष किरात याक्थुङ चुम्लुङ मकाउ – खुल्ला आकाश छर्लंग उज्यालो कहिँ कतै बादल छैन। घाम टिलिक्क लाग्यो भने मेरो मन त्यसै फुरुङ्ग हुन्थ्यो। क्यालेन्डर हेर्थे दशैं कहिले रहेछ भनेर । नया लुगा किनेर पहिलो पल्ट लगाएको रहेछ भने ए तँलाई त दशैं आएछ नि भनेर जिस्काउने चलन थियो।

    साथीहरु संग बसेर खाएको बेला मिठो भएर धेरै खायो भने आहा आज त दशैं नै आयो यार पनि भन्थे। हामी सानो छँदा दशैं र तिहारको एउटा छुट्टै रौनक थियो गाउँमा। नवमीको दिन थर्पुको निसान मेलामा रातभरी सोल्टिनीहरुसंग धान नाचेर त्यसको ठ्याक्कै भोलि पल्ट टिका लगाइवरी ओयाम भन्ज्यांगको दशमी मेलामा बिट मारिन्थ्यो। 

    आहा! कती रमाइलो थियो त्यो दिन… यो बर्ष भिस्म दाई र रुपनारायण जी लगायतका साथीहरुलाई देखेको थिएं वहाँहरुको फेसबुक वालमा तर रौनकता थिएन । पहिलाको जस्तो।

    खैर, कालान्तरमा गाउँमा दशैँ हाम्रो चाड होइन, सदियौं पहिले हाम्रा पुर्खाहरुलाई मारेर त्यसैको विजय उत्सव मनाउने चलन अनुसार रातो टिका लगाइएको हो भन्ने तर्क त्यस जमानाका अग्रजहरुबाट नआएको भने होइन तर हामीले सेतो टिका लगाएर भए पनि दशैँ मानिरह्यौ र अझै पनि मान्दै आएका छौं ।  

    गाउँमा कतिपयले अझैपनि दशैं बहिस्कार गरेर यो चाड नमानेको पनि पाउछौं त्यो वहाँहरुको नितान्त ब्याक्तिगत नैसर्गिक अधिकार हो । विदेशमा आफ्नो आफ्नो कामको व्यस्तताले सबै साथी भाइ संग भेटघाट बिरलै हुने भएकोले धेरै साथीहरुको जमघटको लागि प्राय दशैँ र तिहार एकै पल्ट मनाउने गरिन्छ। 

    यसपाली चाहि भर्खरै बुबा बित्नु भएकोले दशैँमा टिका नलगाइकन चियापान र शुभकामना आदान प्रदानमा मात्र सिमित भएर दशैं मानियो।  मकाउमा कोभिड १९ को संक्रमणको कारण यहाँको स्थानीय सरकारले पनि सुरक्षाको दायरा बढाएको हुनाले बाहिर सामाजिक भेटघाट पहिले भन्दा कम नै भएको महसुस गरेको छु । 

    तपाईं हामी जुन सुकै धर्म मान्ने भए पनि जुन सुकै जाति भए पनि नेपाल हाम्रो देश हो र हामी नेपाली हौं भन्ने कुरो बिर्सनु हुँदैन। कसैको अवैज्ञानिक र आधार बिहिन तर्कको पछि लागेर आफ्नो समय बर्बाद नगरौं। समय अत्यन्त महत्वपुर्ण छ।  

    सानो सानो समस्यामा नअल्झिकन ब्यबहारमा आपसी सद्भावाना कायम राखौं। सबै समाज, जाति, वर्ग, लिंग र धर्मको सम्मान सहित आपसी मेलमिलाप नै हाम्रो मूल राष्ट्रीय धर्म हो  भन्ने  मेरो मान्यता हो। जयनेपाल।। जयनेपाली।।

    _______

    हिमाली संचार | हिमाली संसार प्रा.लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://himalisanchar.com/

    हामीसँग फेसबुक, ट्वीटर, यूट्यूब तथा इन्स्टाग्राममा जोडिन सक्नु हुनेछ।

         फेसबुकमा जोडीनुहोस :

    प्रतिकृया दिनुहोस्

    राप्रपाको महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएका छन्। महामन्त्रीमा उम्मेदवार दिएकी अर्का...

    गण्डकी कांग्रेसमा रामचन्द्रले शशांकलाई चकित बनाए, गोपालमानले जिताए ‘रक्सी व्यापारी’

    पोखरा। नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन्। आइतबार बिहान प्राप्त अन्तिम...

    कुवेतमा क्रीयाशिल तीन किराती संस्थाले संयुक्तरुपमा उधौली मनाउने

    कुवेत -भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान भन्ने मुल नाराका साथ कुवेतमा लामो...

    कमल थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

    काठमाडौं -राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन्। आइतबार बिहान...

    राप्रपाको मतदान लम्बियो, आज अबेरसम्म मतदान हुने

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको मतदान प्रक्रिया लम्बिएको छ । शनिबार साँझ ७ बजेसम्म करिब...