News Portal

  • आत्महत्या गरेको दिन !

    हिमाली संचार संवाददाता
    १४५१ पटक

    ~ श्रीराम स्वरुप
    (साहित्यकार)

    एकाबिहानै बाहिर पारि गाउँतिर कुकुरहरु कराई राखेका थिए। पुसको महिना आकाशमा कालो बादल मडारिरहेको थियो,भुइँ शितले लछप्पै भएपनि पक्की हुन नसकेका बाटोहरु धुलाम्मे भएर हिडिसक्नु थिएन, कतै कुहिरो लागिरहेको थियो भने बिहानीपख पनि उस्तै सिरेटो चलिरहेको थियो। मान्छेका हातगोडाहरु चिसोले कठ्याङ्ग्रीएर ठिर्याईरहने भएका थिए। रुखहरुमा कुनै पातको हरियाली थिएन, भएका पातहरु पनि झर्ने तयारी गर्दै थिए। नजिकका करेसा वारीहरु पनि उजाड थिए, तरकारीका बिरुवाहरुले राम्रो फल लिन सकेका थिएनन, केही लागेका फलहरुलाई लाइकिराले चुसेका कारण एक बलात्कृत नारीजस्तो देखिन्थे।

    खोइ किन त्यो दिन अरु भन्दा निकै भिन्न लाग्दो थियो एउटा रुन चाहेर पनि रुन नसकेको, मनको कुरा खोल्न नसकेको मान्छेको भावुक र मलिन अनुहार जस्तो जुन वर्णन गर्नु पनि समुन्द्रको गहिराइ नाप्नु जस्तै थियो। बाँसका रुखहरु फुलेका देखिन्थे, घरबाट सधैं चाँदीझैँ चम्कने हिमाल कुरुप कालो चट्टानी बनोटमा देखिन्थ्यो, घरका टिनको छानोमा खिया लागिरहेको दृश्य प्रस्ट देखिन्थ्यो। त्यो दिन चराले कुनै गित नै गाएनन, आकाशमा गिद्दहरु घुमिराखेका थिए भने सुकेको रुखमा बसेर कागहरु घरिघरि कराउँथे। यो देखेर के अलछ्छिन लाग्यो भनेर ठुलि आमाले कागलाई धपाउन खोज्नु हुन्थ्यो तर काग त्यहाँ बाट भाग्न मानिरहेको थिएन।

    छिमेकीहरु आफ्नो बिहानी काम घरगोठ स्याहार,नुहाईधुवाई, कोहिले कुँडो पकाउँदै, तरकारी बनाउँदै त कोहि आँगनमा कुचो लगाउँदै थिए। साना बच्चाहरु होमवर्क गर्दै, कोही बाटोमा खेल्दै थिए। बाटोमा मानिसहरुको ओहोरदोहोर, कुराकानी, रेडियोको आवाजले विस्तारै बाहिरी माहोल फेरिँदै थियो। धारोमा पानी भर्न मानिसहरु खचाखच भए, कतै घटेका घटनाहरु, समाचार, मेलापात, कसकोमा को पाहुना आयो, को नछुनि भयो, को आज बजार जाँदैछ, कसको मेलामा आज को को खेतारो, कसले के लुगा,भाँडाकुँडा किनेर ल्यायो आदिजस्ता समाचार यहि बाट थाहा हुन्थ्यो। धारोमा पानी झर्न बन्द भएपछि कोहि भरिएका त कोहि रित्तो गाग्री लिएर घरतर्फ फर्किदै थिए, सबैको अनुमानलाई फेल गराउँदै त्यस दिन धारो चाँडै सुक्न पुग्यो जसले गर्दा धेरैका गाग्री रित्ता थिए।

    बिहान अबेरसम्म पनि म सुतेको ढोका खुलेको थिएन, बाटो छेउकै घर भएर पनि कसैले त्यति सार्है अनुमान लगाउन सकेनन।

    ‘कति अबेरसम्म सुत्न सकेको होला’  कसैले बाटोमा भन्दै हुनुहुन्थ्यो।

    ‘राति अबेरसम्म पढेर होला नि’  केहिले अड्कल काटे।

    ‘उम हुनसक्छ’ अर्कोले अड्कल काट्नुभयो।

    सबैले खाना खाए तर म सुतेको ढोका अझै खुलेको थिएन न कोही खोल्न नै आयो।

    हरेक दिन दिनको दसफेर भन्दा बढि तलमाथि हरेकका घरहरुमा ओहोरदोहोर गर्ने मान्छे म आज कुन संसारमा ओहोरदोहोर गरिरहेको छु केही थाहा थिएन।

    करिब एघार बजेको हुँदो हो तल मेरो साथिलाई रिचार्ज कार्डको आवश्यकता पर्यो, उसो त म सधैं उज्यालो हुनासाथ उसकोमा झर्ने मान्छे आज किन झरेन उसलाई पनि खुल्दुली लाग्यो होला । तल झर्छन कि भन्ने हिसाबले उसले मिसकल हान्यो तर म तल झरिन, त्यसपछि उ स्वयं मेरो घर आयो र मेरो नाम लिएर चिच्यायो तर पूरा सुनसाना उसले कत्ति आवाज सुनेन। उसले उपाय नलागेपछि कुन कोठामा सुतेका छन खोज्न थाल्यो। खोज्दै जाँदा उसले भान्साकोठा ओल्तिरको बाहिरबाट चुक्कल नलगाएको कोठा ठम्यायो र चिच्यायो।

    ‘सिरि,सिरि, ओई सिरि’ कत्ति पनि आवाज आएन।

    उसले ढोका ढकढकाउन थाल्यो तर कत्ति आवाज आएन।

    उसले मेरो नम्बरमा फोन हान्यो।

    भित्र मोबाइलको रिङटोन बजिरहेको थियो।

    करिब दश पटक फोन हान्दा पनि फोन नउठेपछि उसले ढोका धकेल्न थाल्यो।

    कच्ची घरको ढोकाले कतिसम्म पो बल थेग्न सक्थ्यो र युद्ध मैदानमा हार खाएको सिपाहीझैँ ढोका पछाडि हट्यो। भर्खर बाहिरी उज्यालो बाट एक्कासि भित्र छिर्दा उसले अँध्यारो देखिरहेको थियो।

    ‘सिरि’ ढोकाको चुक्कल समात्दै उसले चिच्याउँदै तस भित्र हेर्यो।

    ढोकाको साइडमा रहेको पलङमा नचलिरहेको अवस्थामा म बसिरहेको देखेर उसको हाउभाउ रोकियो।

    ‘सिरि,सिरि’ दुई पटक सम्म उसले चिच्यायो अनि उसको गला सुक्यो। उ केहि बोल्न सकेन।

    मेरा आँखामा आँखा जुदाएर हेर्यो अनि खोइ किन उ त्यहाँ बाट तलतिर लाग्यो।

    म पलङको सिरानी पट्टी भित्तामा अडेस लगाएर, कानमा इयरफोन,हातमा मोबाइल र एउटा किताब लिएर बसिरहेको थिएँ तर खोइ किन मेरो साथि म बाट यति त्रसित भयो, किन मलाई झम्टिन खोज्दै थियो, किन आँखामा आँसु देखायो म बुझ्न सकिरहेको थिईन। मलाई एक रत्ति पनि उसले हारिरहेको थियो या त मैले हारिरहेको थिएँ पत्ता लगाउन मुस्किल भईरहेको थियो, आजसम्म उसको आँखामा कहिल्यै आँसु देख्न नसक्ने म आज किन उसको आँखाको आँसु पनि नदेखेझैँ गरिरहेको छु, किन उसलाई नरो भन्न सकिरहेको छैन। मलाई थाहा भएन मैले आफ्नै शिर धान्न नसकेर घाँटीमा डोरीको आड लगाईरहेको थिएँ या त यो दुनियाँको भार थाम्न नसकेर।

    मलाई यत्तिबेला अल्कोहल खाएझैँ भैराखेको थियो। सबै कुरा थाहा पाएर पनि म शिथिल जस्तै भएको थिएँ। लाग्यो मैले गाँजा,चरेश, हिरोईन, ब्राउन सुगर, ड्रग्स सबको अनुभव गरिरहेछु। म भित्रैबाट बाहिरको सारा दुनियाँ महशुष गरिरहेको छु मात्र ब्यक्त गर्न सकिरहेको छैन । म एउटा छुट्टै संसारमा पुगिसकेको थिँए जुन संसार साहित्य बुझ्नेले मात्रै अनुभव गर्न सक्छ। मलाई चिसो-तातो, अँध्यारो-उज्यालो, दुख-सुख, मेरो आलोचना र प्रसंसाको कुनै मतलब थिएन। मेरो भविष्य, मेरो इज्जत, उसको मनमा कस्तो छु एक रत्ति पिर लागेन। मैले धेरै समय अघिदेखि नै यो सारा कुरा बाट अलग रहने निर्णय गरेको थिएँ, अचेल बजारमा एउटा सस्तो नारा घन्किरहेको छ- बोलेर हैन गरेर देखाउ। मैले त्यहि गरेर यो दुनियाँलाई देखाएको छु।

    हस्याङ फस्याङ र स्याँ स्याँ गर्दै हुलका हुल मान्छे मेरो कोठाभित्र छिरे।

    ‘बाबू तैले यो के गरिस नि’  मलाई हेरेर रुन कराउन चिच्याउन लागे।

    बिहानै देखिको शान्त मौसममा कोलाहल मच्चिन लाग्यो।

    मलाई झम्टिन खोज्दै थिए तर झम्टिन दिएनन।

    ‘प्रहरी आएर मुचुल्का तयार गरेपछि मात्रै’ यसै भन्दै थिए।

    कोठाभित्र घरबाहिर हुलका हुल मान्छे जम्मा भए।

    यो सब म थाहा नपाए जसरि नियालीरहेको थिएँ।

    गाउँका सारा मान्छे आएर निख्रिए यदि कोही आएन भने उसले मृत्युको अर्थ नबुझेको हुनुपर्छ।

    एकैछिनमा प्रहरीको भ्यान आयो सँगसँगै अनेकथरि पत्राकारहरु पनि। प्रहरीले डायरीमा टिपे, फोटो खिचे। पत्राकारलाई आज के समाचार छाप्ने अन्योलका बिच कसैको मृत्युबारेको समाचार ढुंगा खोज्दा देउता जस्तै भयो होला।

    नाम-स्वरुप, क्षेत्र- साहित्य, मृत्युको कारण आत्महत्या। प्रहरीले सोधपुछ गर्यो र आफ्नै खुसिले आत्महत्या गरेको भन्दै जानकारी दिए र परिवारको जिम्मा लगाईदिए।

    दुई जना महिलाले महिरो नजिक लिपे। यसपछि मलाई भित्र बसिराख्न दिएनन। दुईजना दाईहरु भित्र छिरेर महिरामा लिपेको ठाउँमा ल्याएर मलाई सुताए। सबै डाँको छोडेर रोईरहेका थिए, भक्कानी रहेका थिए। आमा, बाबू, दाई, भाउजुले मलाई झम्टिरहेका थिए, आफैंलाई समाल्न सकिरहेका थिएनन कसैको अनुहारमा पनि मुस्कान थिएन, स्याकारसुकुर गरिरहेका थिए । यस्सो माहोल शान्त हुन खोज्छ फेरि नयाँ मान्छे आउँछ र डाँको छोडेर रुन्छ र सबैलाई रुवाउँछ। सम्हालिन खोजेका आमाबाबु समेत फेरि डाँको छोड्न लाग्छन र एकपटक फेरि सबै रुन्छन। कसैको आँखामा आँसु भार हुने आज मलाई कत्ति भार भईरहेको थिएन न त नरोउ नै भन्न सकिरहेको थिएँ । यसरी सारा रोएको देख्दा लाग्यो कि सबैले मलाई कहिल्यै नपाउने गरि बिदाई गरिरहेका छन तर म केवल को को आएका छन उनिहरुलाई हेर्दै उनिहरुको बिगतको व्यवहारको समिक्षा गरिरहेको थिएँ।

    ‘यस्तो राम्रो मान्छे के कारणले मर्यो’ एउटाले भन्यो।

    ‘जिन्दगीमा केही गर्न नसकेर मर्ने यस्तो मान्छेलाई मैले त पटक्कै मान्दिन’ अर्को अर्धज्ञान भएकोले भन्यो।

    ‘खोइ के कारण हो के कारण हो तर मान्छे चाहिँ ठिक थियो’ अर्कोले भन्यो।

    ‘धेरै बोल्थेन’ अर्कोले थप्यो।

    खबर पाए सँगै बजार देखि, धेरै टाढा देखि सबै मान्छेहरु जम्मा भईरहेका थिए।

    सबैले मेरो मृत्युको कारण खोतल्न खोजिरहेका र आ-आफ्नो अड्कल काटिरहेका थिए। मलाई त्यो भिडमा भन्न मन लागिरहेको थियो “हिजो म मलिन अनुहार बोकेर तिम्रा गल्लीहरुमा डुल्दा कहाँ थियौ ? मर्ने हिम्मत कुनै कायरले गर्न सक्दैन बरु दुनियाँको भारलाई एक्लै बोकेर हिड्ने साहसिले मात्रै मर्ने हिम्मत राखेको हुन्छ। मृत्युलाई सम्मान गर कसैको मृत्युपछि यति धेरै प्रशंसा पनि नगर अर्को कुनै पात्रले आत्महत्याको सपना सजाईराखेको हुनसक्छ” तर म केही भन्न सकिन। सबैले मलाई जवरजस्ती पानी खुवाइरहेका थिए सायद जलाउँदा नदुखोस भनेर हुन सक्छ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal