News Portal

  • तीन दिन पार्टीका लागि, ४ दिन रोटीका लागि : प्रवक्ता शर्मा

    हिमाली संचार संवाददाता
    ३१४ पटक

    चिरञ्जीवी पौडेल
    काठमाडौं, २ असार : विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका प्रवक्ता भएयता पुरातन ढर्रामा चलिरहेको पार्टीको प्रचार शैली निकै फेरिएको छ । कुनै पनि विषयमा तत्काल धारणा बनाउन सक्ने तथा स्पष्ट र तार्किक ढंगले बोल्न सक्ने क्षमता भएकाले शर्मा प्रवक्ताको भूमिकामा खुबै जमेका छन् । तथापि कतिपयले चाहिँ झिनामसिना कुराहरुमा पनि प्रतिक्रिया जनाउँदै हिँड्ने र सामाजिक सञ्जालमा लोकप्रियताका लागि सस्ता कुराहरु गरेर शर्माले आफूलाई हलुंगो बनाएको टिप्पणी पनि गर्छन् । जे भए पनि उनी प्रमुख प्रतिपक्षी कांग्रेसको ‘पोष्टर ब्वाई’ झैं बनेका छन् । उनलाई पार्टीभित्र ‘सानो वीपी’ पनि भन्ने गरिन्छ ।

    पार्टी सभापति शेरबहादुर देउवा मिडियासँग खासै नबोल्ने र बोलिहाले पनि प्रष्ट नबुझिने भएकाले मिडियाकर्मी शर्माकौ पछि लाग्न बाध्य छन् । त्यसो त प्रवक्ता नियुक्त हुनुभन्दा अगाडि पनि विश्वप्रकाश चर्चित नै थिए । कलात्मक भाषणशैलीका कारणले उनका प्रशंसक पार्टीभित्र मात्रै नभएर बाहिर पनि छन् । यद्यपि, संसदीय चुनावमा भने उनले झापामा लगातार दुईपटक पराजय व्यहोरे । चुनाव जित्न नसकेकाले अहिलेसम्म उनले सांसद वा मन्त्री पदको स्वाद चाख्न पाएका छैनन् ।

    यिनै युवा नेता शर्मा कांग्रेस केन्द्रीय कार्यालयमा अनलाइनखबरले उनीसँग व्यक्तिगत तथा राजनीतिक विषयवस्तु खोतल्यो।

    डेढ वर्षदेखि कांग्रेस प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ । अरुले गर्ने मूल्यांकन आफ्नो ठाउँमा होला । तपाईं स्वयंले चैं कस्तो महसुस गरिरहनुभएको छ ?

    मैले सजिलो ठानेर यो जिम्मेवारी लिएको थिइनँ । अप्ठेरो विषयको पनि अभ्यास गर्ने र आफ्नो क्षमतावृद्धि गर्दै पार्टीलाई योगदान पुर्‍याउने भन्ने कोणबाट नै हेरेको हुँ । मैले जिम्मेवारी लिँदा कांग्रेस प्रतिकुल अवस्थामा थियो । प्रतिकुलताको बीचबाटै अनुकुलता सिर्जना गर्ने प्रयास गर्दै इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी निभाइरहेको छु ।

    कस्तो प्रतिकुलताको कुरा गर्नुभएको ?

    शान्ति बहाल गर्न, संविधान जारी गर्न र चुनाव गराउन सफल भएको कांग्रेस पार्टी जनमतको कसीमा भने खरो उत्रिन सकेन । भर्खर चुनाव हारेको अवस्था थियो । एउटा फुटबल म्याचमा खेल हारेर मैदानबाहिर निस्केको टिमभित्र कस्तो माहोल हुन्छ ? स्ट्राइकरले किपरलाई भन्छ, किन बल छोडिस, समातेको भए जित्ने थियौं । किपरले स्ट्राइकरलाई भन्छ, तैंले गोल मिस गर्दा हारियो । त्यस्तै खालको माहोल कांग्रेसभित्र थियो ।

    त्योबेलामा फेरि टिम स्पिरिटलाई जगाएर साझा भूमिका निर्वाह गर्नु प्रवक्ताका लागि चनौतिपूर्ण हुने नै भयो । आलोचनालाई विश्वासमा बदल्ने चुनौति थियो । राजनीतिमा चुनौतिलाई सामना गर्नु नै पर्छ, जिम्मेवारी हिच्किचाउनुहुँदैन भन्ने मेरो सोच हो ।

    पत्रकारहरुबाट अनेकथरी प्रश्नको सामना गर्नुपर्ने, कहिलेकाहीँ पार्टीका अलोकप्रिय निर्णयहरुको पनि बचाऊ गर्नुपर्ने अवस्थामा कत्तिको दवाब महसुस हुन्छ ?

    मलाई प्रवक्ता भएर जाँदा केही साथीहरुले भन्नुहुन्थ्यो, प्रवक्ता भनेको खासमा ‘प्रतिवन्धित वक्ता’ हो है । सतर्क भएर काम गर्नू । मैले एक–दुईवटा इस्यूमा पार्टीको संस्थागत निर्णयभन्दा फरकरुपमा पनि बोलेँ । बोल्नुपर्ने भयो । त्यस्तोबेलामा अलिकति दवाब त महसुस भइहाल्छ ।

    प्रवक्ताले नै पार्टी निर्णयविपरीत बोल्न मिल्छ र ?

    कांग्रेसको सौन्दर्य के छ भने यहाँ फरक मतलाई पनि अवहेलना र तिरस्कार गरिँदैन । सबैका विचारलाई स्थान दिएर अगाडि बढ्ने परम्परा भएकाले प्रवक्तालाई अलिकति सजिलो पनि छ । त्यसको अर्थ म सधैं पार्टी निर्णयलाई चुनौति दिएर बोल्छु भन्ने होइन । त्यस्तो अपवादमा हुन्छ ।

    एउटा व्यक्ति विश्वप्रकाश र कांग्रेस प्रवक्ता अलग–अलग हुन् । विश्वप्रकाशले बोल्दा आवेग राख्यो भने प्रवक्ताले विवेक राख्नुपर्छ । विश्वप्रकाश हतारिन्छ भने प्रवक्ताले संयमित बन्नुपर्छ । विश्वप्रकाशले कम अध्ययन गरेर बोल्यो भने प्रवक्ताले अलि अध्ययन गरेर मात्र बोल्नुपर्छ । किनभने, प्रवक्ता विश्वप्रकाशले बोलेको कुरामा सिंगो पार्टी जिम्मेवार हुन्छ ।

    तपाईं कतिबेला व्यक्ति विश्वप्रकाश र कतिबेला कांग्रेस प्रवक्ताका रुपमा आफूलाई पाउनुहुन्छ ?

    यदि पार्टीको आन्तरिक वैठक-छलफल छ भने त्यहाँ म कांग्रेसको केन्द्रीय सदस्य मात्रै हुन्छु । त्यस्तोमा व्यक्ति विश्वप्रकाश जागृत हुन्छ । अनि, बाहिर सार्वजनकि रुपमा आफ्नो भनाइ राख्दाचाहिँ विश्वप्रकाश गौण हुन्छ र प्रवक्ता जागृत हुन्छ ।

    प्रवक्ताले हतारिएर बोल्न मिल्दैन भन्नुभयो । तर, तपाईंले कतिपय सन्दर्भमा हतारिएर प्रक्रिया जनाउँदा चिप्लिएका घटना पनि छन् । एउटा घटना सम्झनुपर्दा जब सिके राउत सरकारसित सम्झौता गरेर राजनीतिको मूलधारमा आए, त्यतिबेला तपाईंले करिब एक घन्टाको अन्तरालमा दुईवटा ट्विट लेख्नुभयो । पहिलो ट्विटमा सम्झौताको स्वागत गर्नुभयो र दोस्रोमा आलोचना गर्नुभयो । यसरी एक घन्टाभित्रै यूटर्न लिनुपर्ने अवस्था ‘हतार’कै उपज होइन ?

    ती दुवै ट्विट हतारिएर नभई सोची सम्झी गरेको हुँ । एक घन्टा होइन, २०-३० मिनेटको फरकमा होला । त्यस दिन म झापाबाट साथीको गाडीमा बाग्लुङतर्फ जाँदै थिएँ । पथलैया पुग्दा अनलाइनमा सिके राउतको समाचार पढेँ । सरसर्ती ११ बुदेँ सम्झौता पत्र पढ्दा बुँदा १ र बुँदा २ महत्वपूर्ण थिए ।

    पहिलो बुँदालाई तपाईं विरोध गर्न सक्नुहुन्नथ्यो, किनभने त्यसमा पृथकतावादी आन्दोलन त्यागेर नेपालको संविधान र सार्वभौमिकता स्वीकार गर्ने कुरा थियो । दोस्रो बुँदा तपाईं समर्थन गर्न सक्नुहुन्नथ्यो, किनकि त्यसमा ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ बाट समस्या हल गर्ने भनिएको थियो ।

    अब एउटै ट्विटमा सिंगै लेख, निवन्ध वा विज्ञप्ति त अटाउँदैन । त्यतिबेला कतिपय नेताले पनि हतारिएर गरिस् भन्नुभएको हो । तर, पछि कार्यसमितिको निर्णय पनि मेरो ट्विटकै स्पिरिटमा आयो ।

    यस्ता आकस्मिक र महत्वपूर्ण घटना हुँदा पार्टी सभापतिलाई सोधेर मात्रै टिप्पणी लेख्नुहुन्छ कि आफूखुशी ?

    अधिकांश विषयमा पार्टीको स्पिरिटको जगमा उभिएर धारणा बनाउने र सार्वजनिक गर्ने काम हुन्छ । कुनै विषय चर्चामा आउँदै गर्दा पार्टीको कार्यसमिति वैठक बसेर वा सभापतिज्यूलाई सोधेर मात्र प्रतिक्रिया दिने कुरा व्यवहारिक र प्रभावकारी हुँदैन ।

    प्रवक्ताले कहिलेकाहीँ तुरुन्तै धारणा बनाउनुपर्ने हुन्छ । आखिर विचार जनेरेट गर्ने पनि त प्रवक्ताको जिम्मेवारी हो । त्यसमा मैले हेर्ने भनेको पार्टीको विचारको जग र संविधानको स्पिरिट हो । समग्रतामा आधाभन्दा बढी आफैंले सोचविचार गरेर धारणा सार्वजनिक गर्नुपर्ने अवस्था आउँछ ।

    अनि, कतिपय सन्दर्भमा विषयले पनि भूमिका खेल्छ । कुनै विषयमा सभापति भन्दा पनि विज्ञसँग सल्लाह गर्नुपर्ने अवस्था आउला । कुनै विषयमा अन्य नेताहरुको सुझाव बढि प्रभावकारी होला । त्यसैले सँधै सभापतिसित नै सोध्नुपर्छ भन्ने होइन ।

    आफूलाई नसोधी महत्वपूर्ण विषयमा बाहिर बोल्दा सभापतिले चित्त दुखाउनुहुन्न ?

    त्यसरी बोल्नुभन्दा अगाडि सभापतिको वा पार्टी नेतृत्वको यसमा कस्तो धारणा हुन सक्छ भन्ने खालको पूर्वानुमान पनि हुन्छ ।

    विप्लव समूहलाई सरकारले प्रतिवन्ध लगाउँदा सभापति र तपाईंका विरोधाभाषपूर्ण अभिव्यक्ति आए । बिहान भाषण गर्दा सभापति देउवाले सरकारको निर्णय ठीक छ भन्नुभयो । दिउँसो तपाईंले पत्रकार सम्मेलन गरेर विरोध गर्नुभयो । यस्तोबेला कसको अभिव्यक्तिलाई आधिकारिक मान्ने ?

    विप्लवको प्रकरणमा त्यस्तो भएको हो । तर, सभापति र प्रवक्ताले के बोल्नुभयो भन्ने एउटा विषय हुँदै गर्दा महत्वपूर्णचाहिँ अन्ततः कांग्रेसले के बोल्यो भन्ने हो । मैले जे बोलेँ, त्यो विपरीतमा त पार्टी गएन । सभापतिले सरल तरिकाले भनिदिनुभएको थियो, विप्लवले यत्रो हिंसा गरिरहेको छ, उदयपुरमा मिरा कटुवालको खुट्टा काट्नुपर्‍यो,  उदयपुरका नारायण कार्कीको खुट्टा काट्नुपरो । त्यसैले यसलाई प्रतिवन्ध गरौं सरकारले भन्छ भने विरोधका लागि विरोध किन गर्ने ? उहाँलाई लाग्यो होला । त्यसैले तत्कालिकरुपमा सकारात्मक प्रतिक्रिया दिनुभयो । पछि सच्याउनुभयो ।

    तपाईंले पत्रकार सम्मेलन गर्दा सभापतिले यस्तो बोल्नुभएको छ भन्ने थाहा थिएन ?

    थाहा थियो । सभापतिले बिराटनगरमा बिहान साढे ९ बजे बोल्नुभयो । मैले साढे ३ बजेतिर बोलेँ । थाहा भएरै बोलेको हुँ ।

    सभापतिकै अभिव्यक्तिसित बाझिने गरी प्रवक्ताले बोल्दा पार्टी अनुशासन लाग्दैन ?

    विचारमा फरक मत नै कांग्रेसको सौन्दर्य हो । सभापति र प्रवक्ताको निरन्तर दुई धारणा आयो भने अनुशासनको प्रश्न उठ्ला । दुई तीन दिनपछि त पार्टीको स्पष्ट धारणा आइहाल्यो । सभापतिले बिराटनगरमा त्यो भन्नुभयो, पछि पाल्पामा गएर निषेध गर्नु हुँदैन र वार्ताले मिलाउनुपर्छ भन्नुभयो। जम्मा दुई दिन जति मात्रै अन्योल भएको हो ।

    भनेपछि सभापतिलाई पनि आफ्नै लाइनमा ल्याउन सफल हुनुभयो होइन ?

    आफ्नो लाइनमा ल्याएको भन्दिनँ । उहाँले जब साथीहरुबाट विश्लेषण सुन्नुभयो, त्यसपछि कन्भिन्स हुनुभयो होला । विगतमा तत्कालीन माओवादीलाई बल प्रयोगमार्फत नियन्त्रण गर्न खोज्दा सफल नभएको अनुभव उहाँसित पनि थियो ।

    तपाईंलाई आलोचकहरुले प्रवक्ता होइन, खण्डनकार भन्ने गर्छन् । तपाईको आधा समय प्रधानमन्त्री ओलीको अभिव्यक्तिहरुको खण्डन गर्दैमा बित्छ भनेर विष्णु रिमालले भन्नुभएको छ । यति धेरै नकारात्मकता किन ?

    हामी सन्दर्भअनुसार आवश्यक हुने विषयमा प्रतिक्रिया दिन्छौं । म्याथको टिचरले म्याथै पढाउँछ नि । प्रवक्ताले पार्टीको नीति सिद्धान्तको वकालत गर्नुका साथै विपक्षीबाट प्रहार हुँदा बचाउ पनि गर्नुपर्छ ।

    कांग्रेसको प्रवक्ता हुनुको नाताले त्यो मेरो जिम्मेवारी हो । कहिले कम्युनिष्ट पार्टीको नीति–सिद्धान्त र दस्तावेजलाई चिरेर बोल्नुपर्ने होला, कहिले सरकारको गलत क्रियाकलापमाथि बोल्नुपर्ने हुन्छ होला, कहिले प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन पनि गर्नुपर्छ होला।

    उहाँले हामीलाई प्रहार गरिरहँदा हामी चुपचाप सहेर बस्ने त ? प्रधानमन्त्रीज्यूले ‘कांग्रेस सकियो’ भनिरहँदा हामीले सकिएको छैन त भन्न पाइयो नि । हामीले उहाँले जस्तो तितो शब्द त प्रयोग गरेका छैनौं । प्रवक्ता भएपछि विश्वप्रकाशले प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गरिरहँदा कहिल्यै तितो शब्द बोलेको भए देखाउनुस । प्रधानमन्त्रीले मर्यादामा बसेर बोल्नु पर्ने कि नपर्ने ? हामीले त उहाँजस्तो शालीनता नराखी बोलेका छैनौं । हामीले तार्किकरुपमा जवाफ दिएकै कुराले पनि उहाँहरुलाई अप्ठेरो लाग्छ भने बुझ्दा हुन्छ, यो उत्तर कोरिया होइन ।

    शालीनता त तपाईंकै पार्टी सभापति शेरबहादुर देउवामा पनि कहाँ भेटिन्छ र ? प्रधानमन्त्री हुँदा पनि प्रश्न सोध्नेलाई गाली गरेको, थर्काएको भिडियो भाइरल भएकै हो ।

    बीबीसीको कार्यक्रममा एउटा घटना भयो, अब त्यसैलाई लिएर कति उहाँलाई खेदिरहने ? एउटा कालखण्डको कुनै घटना सर्वकालसम्म आलोचनाको विषय बनिरहन सक्छ र ? म घटनाको होइन, प्रवृत्तिको कुरा गरिरहेको छु । एकाधपटक नेताहरुबाट त्यस्तो गल्ति हुन सक्छ । तर, यसले प्रवृत्तिको रुप लियो भने चिन्ताजनक हो ।

    कमरेड केपी ओलीको हकमा प्रवृत्ति हो, भने सभापतिज्यूको हकमा घटना हो । सभापतिजयूले त्यस्तै खालको व्यवहार गरेको अर्को कुनै घटना भए देखाउनुस् ।

    पत्रकारसित जंगिने र थर्काउने त बारम्बार गर्नुहुन्छ । हरेकजसो अन्तरवार्तामा एकपटक झोक्किनुभएकै हुन्छ । अस्ति भर्खरै पनि त एउटा भिडियो आएको थियो । त्यसमा उहाँलाई मेडिकल कलेजसम्वन्धी प्रश्न सोधिँदा पत्रकारमाथि कसरी खनिनुभयो, हेर्नुभएन ?

    त्यो उहाँको शैली हो । हरेक नेताको शैली  र स्वाभाव आफ्नो–आफ्नो हुन्छ । गाली गरेको भनिरहँदा उहाँले कस्तो शब्द प्रयोग गर्नुभएको थियो, त्यसमा जाउँ न । उहाँले कुनै अपाच्य वा अपशब्द बोल्नुभएको थियो त ?

    बीबीसीको साझा सवालमा पनि उहाँले प्रश्न सोध्नेलाई ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्नुभएको थियो, कुनै अपशब्द त प्रयोग गर्नुभएको थिएन । त्यसो भन्दै गर्दा म उहाँको शैली ठीक हो भनिरहेको छैन । सकभर झोंक नदेखाउनु राम्रो हो ।

    अपशब्द त प्रधानमन्त्रीले पनि कहाँ बोल्नुभएको छ र ? विपक्षीलाई झर्रो शब्दमा कटाक्ष गर्ने पनि त उहाँको शैली नै होला ।

    अरिंगाल, नन्दीभृंगी, थला पार्छु, जस्ता शब्द सम्मानजनक हुन् ? प्रधानमन्त्री जस्तो गरिमामय पदमा भएको व्यक्तिमा शिष्टता हुनुपर्छ कि पर्दैन ? हाम्रो सभापति जंगिएर बोल्दा पनि खराब शब्द प्रयोग गर्नुहुन्न । प्रधानमन्त्रीज्यू मीठो लवजमा पनि तीतो शब्द प्रयोग गर्नुहुन्छ । शब्दमार्फत उहाँको प्रवृत्ति झल्किन्छ ।

    प्रधानमन्त्रीले विपक्षी पार्टी र नेताहरुलाई कटाक्ष गर्ने त अरु देशमा पनि सामान्य नै मानिन्छ । अस्ति भारतमा चुनाव हुँदा मोदी र राहुल गान्धीबीच व्यक्तिगत स्तरमै कडा आरोप प्रत्यारोप भयो । तर, त्यहाँ मोदीको आलोचना भएन । नेपालमा चैं प्रधानमन्त्रीले केही बोल्नासाथ किन ज्वारभाटा आउँछ ?

    विदेशका नेताहरुबाट हामीले राम्रो कुरा सिक्ने कि खराब कुरा सिक्ने त ? विदेशका नेताले नराम्रो बोल्नुभयो भनेर हामीले पनि त्यही सिको गर्ने ? हाम्रो प्रधानमन्त्रीले त अरु देशका नेताहरुका लागि आफू उदाहरण बनेर देखाउन सक्नुपर्छ । प्रधानमन्त्रीले अनावश्यक बोलिरहनुभन्दा चुपचाप काम गर्नु राम्रो हो । हामी इतिहासकै सुन्दर घडीमा छौं ।

    प्रधानमन्त्रीसँग इतिहास रच्नका लागि सबै अनुकुलताहरु छन् । दुई तिहाईको सरकार छ । मित्रवत प्रतिपक्षी छ । संबिधान बनेको छ । यो अवसरलाई सदुपयोग गर्नुपर्छ । प्रतिपक्षी दलको प्रवक्ता भन्दै छ कि यो अवसरको सदुपयोग गर्नुस, हामी सहयोग गर्न तयार छौं ।

    मुखले त भन्नुभयो, तर सरकार बनेयता अहिलेसम्म रचनात्मक प्रतिपक्षको रुपमा सरकारको कुनै काममा समर्थन जनाएको वा सहयोगी भूमिका खेलेको रेकर्ड छ ?

    किन छैन ? अघिल्लो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भइरहँदा कांग्रेसको फेसबुक पेजमा यो सकारात्मक छ भनेर लेखिएको अहिले पनि भेट्नुहुन्छ । तर, त्यो कार्यक्रमले पनि परिणाम त दिएन । ३ अर्ब १० करोड बजेट छुट्याइएको थियो, त्यसको १ प्रतिशत पनि खर्च हुन सकेको छैन । खर्च भएको पनि उत्पादनमूलक कार्यमा छैन । परिणाम नदिएपछि हामीले कसरी समर्थन गरिरहने ?

    रचनात्मक प्रतिपक्ष भनेको आखिर के हो ? तपाईंले ४८ सालमा कांग्रेसको एकलौटी सरकार बनेपछिको डेढ वर्ष र यसपाली कम्युनिष्टको डेढ वर्षको अवधिमा प्रतिपक्षी भूमिकालाई तुलना गरेर हेर्नुस न ? त्यतिबेला कति बन्द–हड्ताल भएका थिए ? कति रेलिङ तोडिएका थिए ? अहिले केही भएको छ ? कांग्रेसले त कुनै बन्द हड्ताल गरेको छैन ।

    सडकमा नआए पनि संसद त बारम्बार बन्द गराउनुभएको छ नि ?

    संसदभित्र उभिएर फरक मत राख्नु संसदीय मर्यादाभन्दा बाहिरको कुरा होइन । संसदीय व्यवस्थामा यस्तो सामान्य हो । कुनै कुराको सुनुवाइ होस, देशको ध्यान तानियोस, सरकारलाई दवाव पुगोस भन्नका खातिर संसदभित्र कुर्सीबाट उभिएर असहमति राख्ने चलन सबैतिर छ । यदि संसदभित्र असंसदीय व्यवहार वा उद्दण्डता देखिएको छ भने त्यसलाई सच्याउन तयार छौं ।

    कांग्रेस भन्नेबित्तिकै अहिले विश्वप्रकाश र गगन थापाको नाम मात्रै अगाडि आउँछ । सभापतिलाई समेत आफूहरुले ओझेलमा पारेको छु भन्ने कत्तिको खुशी लाग्छ ?

    प्रवक्ता भनेको सञ्चारमाध्यममा आइरहनुपर्ने भएकाले हाइलाइट हुनु स्वभाविक नै हो । गगन थापाले पनि संसदभित्र र बाहिर प्रखर भूमिका निभाइरहँदा उहाँको चर्चा हुनु स्वभाविक हो ।

    मिडियामा छाइरहने कला पनि त तपाईंहरु दुवैजनासित छ नि होइन ?

    हामी मिडियामा आउनकै लागि कुनै कुरा बोल्ने लेख्ने गर्दैनौं । हामीमात्रै चर्चामा छौं भन्ने पनि होइन । अरु मिनेन्द्र रिजाल, बालकृष्णा खाँड, मीन विश्वकर्मालगायतले संसदमा प्रखर भूमिका निभाइरहनुभएको छ । कम बेसीको कुरा मात्रै हो ।

    पार्टीभित्र र बाहिर गगन थापा र तपाईंलाई तुलना गर्ने र प्रतिस्पर्धीको रुपमा हेर्ने गरिएको पाइन्छ । तपाईंहरु आफैंमा चाहिँ प्रतिस्पर्धाको भावना कत्तिको छ ?

    त्यस्तो चर्चा सुन्छु म पनि । तपाईंलाई बताइहाल्छु, आज बिहान पनि हामी दुई भाइले एउटा अनलाइनको समाचार सँगै बसेर पढ्यौं र हाँस्यौं । गगन बिहान ९ देखि साढे १० बजेसम्म केन्द्रीय कार्यालयमा थिए । म पत्रकार सम्मेलनका लागि ९ बजे नै आएको थिएँ । हामीबीच केही विषयमा छलफल भयो । हाम्रो सम्वन्ध सधैं सुमधुर छ ।

    के थियो तपाईंहरुलाई हँसाउने समाचार ?

    ‘हेर्नुस, गगन र विश्वप्रकाशले कसरी एक–अर्काको विरुद्ध धावा बोले’ भनेर लेखिएको थियो ।

    केही त भएको थियो होला नि । हावा नचली पात हल्लिन्छ र ?

    होला, नेतृत्व परिवर्तनको सन्दर्भमा हामीले फरक–फरक विचार अभिव्यक्त गर्‍यौं होला । उहाँले तत्काल नेतृत्व परिवर्तनको वकालत गर्नुभयो होला । मैले नेतृत्व परिवर्तन महाधिवेशनले मात्र गर्नुपर्छ भनेँ होला । यसैलाई लिएर एकअर्कामाथि खनिएको भनेर समाचार लेख्नु त अतिरञ्जना भयो नि । गगन मेरा समकालिन हुन् । हामी दुवैमा एकअर्काप्रति कुनै तुष छैन ।

    तपाईं उहाँभन्दा सिनियर होइन र ?

    उमेरले ५-७ वर्षको फरक हो । हामीले सँगै विद्यार्थी राजनीति गर्‍यौं । म नेविसंघको अध्यक्ष हुँदा उनी मध्यमाञ्चल उपाध्यक्ष थिए । त्यतिबेलाको कार्यसमितिमा ५ उपाध्यक्षमध्ये गगन सबैभन्दा अगाडि गए । अरु चारजना पनि होनाहार थिए । उनीहरु सबैमा म गर्व गर्छु । गगनलाई पहिल्यैदेखि मैले उदाउँदो प्रतिभाका रुपमा हेरेँ । त्रिचन्द्र क्याम्पसमा नेविसंघको सभापतिमा उम्मेदवार बनाउँदा हस्ताक्षर गर्ने मध्ये एक म पनि थिएँ ।

    तपाईं लगातार चुनाव हारिरहँदा गगन दुईपटक सांसद र एकपटक मन्त्रीसमेत बनिसक्नुभयो । आफ्नो मातहतमा काम गरेको, अहिले आफूलाई ओभरटेक गरेको जस्तो लाग्दैन ?

    त्यसो भए के मलाई ओभरटेक नगर्ने भनेर उहाँले जानीजानी चुनाव हार्नुपर्थ्यो ? झापाबाट मैले चुनाव हारेको समाचार आइरहँदा उहाँले पनि काठमाडौंमा जित्दाजित्दै हार स्वीकार गर्नुपर्थ्यो ? चुनावअघि मैले गगनका लागि मत मागेको छु । गगनले मेरा लागि मत मागेका छन् । झापामा मेरो सचिवालय र काठमाडौंमा मेरो सचिवालयले एकै समयमा भिडियो सन्देश जारी गरेर एक–अर्काका लागि भोट मागेका हौं कि होइनौं ?

    म आफ्नो प्रतिस्पर्धी आफैंलाई मान्छु । म एक वर्ष अगाडि कहाँ थिएँ र अहिले कहाँ छु भनेर दाँज्छु । अरुसित दाँजेर समय खेर फाल्दिनँ । गगन भोलि कांग्रेसलाई र देशलाई नै नेतृत्व गर्न सक्ने नेता हुन् । हामी दुवैले एक–अर्कालाई स्वीकारेर नै अगाडि बढिरहेका छौं । उनको प्रगतिमा मलाई गर्व छ । यतिसम्म कि मलाई भोलि यदि म रहिँन भने पनि मेरो पुस्ताका थुप्रै योग्य साथी अगाडि बढिरहेका छन् भनेर ढुक्क लाग्छ ।

    भन्नाले ?

    मृत्यु कसले देखेको छ र ? कसले ग्यारेन्टी गर्न सक्छ, अबको १५ वर्षसम्म विश्वप्रकाश बाँचिरहन्छ भनेर ? रवीन्द्र अधिकारी मेरा परम भित्र थिए । कम्युनिष्ट पार्टीमा मेरो तँ, तिमी चल्ने केही घनिष्ठ साथी मध्ये थिए उनी । यति चाँडै जालान् भन्ने सोचिएको थियो र ? यदि कुनै घटना भएर म पनि अकश्मात गएँ भने मलाई यो कुरामा ढुक्क हुनेछ कि मेरो पुस्ताका भरोसायोग्य साथीहरु बढिरहेका छन् है ।

    अलि बढी भावुक हुनुभयो कि ?

    कतिपय कुराहरुलाई आध्यात्मिक कोणबाट पनि सोच्नुपर्छ । जबसम्म हामी रहन्छौं, समाजको रुपान्तरणका लागि क्रियाशील हुन्छौं । मैले बेलाबेला भन्छु– मान्छे जिउँदो रहँदासम्म मात्रै समाजको सेवा गर्ने हो । मरेपछि सकियो । यदि भेडा भएको भए मरेपछि स्वीटर बनेर अरुलाई न्यानो दिन सक्थ्यो ।

    भैंसी भएको भए कसैको जुत्ता बनेर सेवा दिन सक्थ्यो । बाख्री भएको भए मादलको छाला बनेर घिन्ताङ घिन्ताङ बज्न सक्थ्यो । हामी मानिसको शरीर त मरेपछि खरानी हुने हो । हामीले छोडेको कीर्ति मात्रै बाँकी रहन्छन् ।

    विश्वप्रकाश वा गगनले कांग्रेसको नेतृत्व गरेको हेर्न चाहने कांग्रेसभित्र र बाहिर पनि थुप्रै छन् । तपार्इंले आगामी महाधिवेशनलाई लिएर के सोच्नुभएको छ ?

    मैले बोलेको कुरा जस्ताको तस्तै राख्नुहोला । व्यक्तिका रुपमा विश्वप्रकाशले बोल्न सक्छ तर, प्रवक्ताका रुपमा सार्वजनिकरुपमा बोल्दै गर्दा कुन विषयमा कहिले बोल्ने भन्ने प्रश्न आउँछ ।

    कसैको न्वारनमा पुगेर ‘ह्यापि बर्थ डे’ भन्यो भने मानिसहरु हाँस्छन् नि । अहिले धेरै साथीहरु आफूलाई सभापतिको उम्मेदबार भन्दै हिँड्नुभएको छ । मैले उहाँहरुलाई भनेको छु पहिले सभापति को बन्नेभन्दा संगठन कस्तो बनाउने भन्ने सोच्नुस् । मृत कांग्रेसको होइन, जागृत कांग्रेसको नेता बन्नुस । ठीक समयमा त्यो विषय उठाउनु उपयुक्त हुन्छ ।

    तर, पनि केही योजना त बनाउनुभएको होला ?

    मलाई जिल्लामा जाँदा धेरै साथीहरुले यो प्रश्न सोध्नुहुन्छ। तपाईं महामन्त्रीको उम्मेदवार हो कि सभापतिको कि के हो भन्नुहुन्छ ? म एउटै वाक्यमा जवाफ दिन्छु कि विश्वप्रकाश शर्मा कांग्रेसको प्रवक्ताबाटै मात्रै विदा हुने गरी चाहिँ राजनीतिमा आएको होइन ।

    त्यसोभए आगामी महाधिवेशनमा कुन पदमा लड्ने ?

    मैले अघि उत्तर दिइसकें । समय भएको छैन बोल्ने । देशभरका साथीभाइको अपेक्षा के छ बुझ्नुपर्‍यो। सभापति वा महामन्त्रीको दौड सुरु नै भएको छैन। विवाहको मिति टुंगो नभई, कन्या फेला नपरिकन दौरा–सुरुवाल सिलाउन कुद्नु ठीक हुँदैन । अहिले मैले आफ्नो आकांक्षा व्यक्त गरेँ र अन्य उम्मेदवारहरुमाथि टिप्पणी गरेँ भने तपाईंको सबै अन्तरवार्ताको केन्द्रविन्दु यही बन्न पुग्छ र अरु सबै कुरा गौण बनिदिन्छन् । यो भनाइलाई पनि जस्ताको तस्तै राखिदिनुहोला ।

    तपाईंको विचारमा कांग्रेसको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्छ ?

    म त नेतृत्व वा पदाधिकारीमा युवाको अधीकता हुने भन्दा पनि सिंगो कांग्रेसलाई तन्नेरी बनाउने सोच राख्छु। व्यक्ति युवा हुनेभन्दा सोच युवा हुनुपर्छ ।

    कांग्रेसलाई पार्टीभन्दा पनि गुटहरुको महासंघको रुपमा हेर्ने गरिन्छ । तपाईं अहिले कुन गुटमा ?

    पार्टीको प्रवक्ता कुनै गुटको हुँदैन। प्रवक्ताले त पार्टीभित्रका सबै मतहरुलाई समेटेर सबैको साझा बन्न सक्नुपर्छ । म त्यही प्रयत्न गरिरहेको छु । पार्टीभित्रका फरक समुहहरु भनेका फरक बोटमा फुलेका फूलहरु हुन् । हरेक फूलहरुसँग बेग्लै बास्ना हुन्छ । यी फूलहरुलाई गाँस्नका लागि जुन धागो प्रयोग हुन्छ, त्यसमा त बास्ना हुँदैन । प्रवक्ता भनेको पनि धागोजस्तै हो, यसमा कुनै गुटको बास्ना हुँदैन ।

    पहिले शशांक कोइरालाको गुटमा हुनुहुन्थ्यो र प्रवक्ता पद पाएपछि देउवा गुटमा बसाईं सर्नुभयो भन्ने गरिन्छ नि ?

    म कांग्रेसको कार्यकर्ताका रुपमा सबै नेतासँग उत्तिकै नजिक रहेँ । आफूलाई कुनै अमूक नेताको निकट राखेर हेरिनँ ।

    देउवाले तपाईंलाई प्रवक्ताको भूमिकामा कसरी विश्वास गर्नुभयो, जबकि उहाँ पार्टीभित्रका प्रतिपक्षीप्रति त्यति उदार मानिनुहुन्न ?

    म उहाँको प्रतिपक्षी थिइनँ । उहाँलाई सभापति बनाउन मत हालेको हुँ । देउवाले प्रवक्ता बनाएपछि अचानक गुट बदलेको होइन । प्रवक्ता बन्नुअघि विरोध र प्रवक्ता बनेपछि जयजयकार गरेर हिँडेको पनि छैन। मैले देउवालाई सभापति बनाउन लाग्दै गर्दा उहाँले ‘भोलि भाइले प्रवक्ता भएर काम गर्नुपर्छ’ भन्नु भएको थियो। बरु दुई वर्ष किन ढिला गर्नुभयो भन्ने पो मेरो गुनासो थियो त। निर्वाचन अगाडि नै म प्रवक्ता हुनुपर्थ्यो ।

    चुनाव अगाडि त प्रवक्तामा गगन थापाको नाम चर्चामा थियो। उहाँको नाममा चिठी पनि बनिसकेको तर पछि कार्यान्वयन नभएको कुरा कति सत्य हो ?

    त्यो मैले पनि सुनेको हुँ । एकिन कुरा थाहा भएन। प्रवक्ता कसलाई बनाउने भन्ने सभापतिको कुरा हो।

    यो विषयलाई लिएर गगनसित तपाईंको मनमुटाब भएन ?

    अहँ । त्यस्तो केही पनि भएन । गगन प्रवक्ता भएको भए पनि मेरो कुनै गुनासो हुन्नथ्यो । सायद उनले मैले भन्दा राम्रो गर्न सक्थे ।

    त्यतिबेला कांग्रेसलाई रुपान्तरण गर्ने भन्दै तपाईं र गगनसहित सात भाइ युवाहरुको एउटा नयाँ गुट बनेको थियो । तर, तपाईं प्रवक्ताको पद खान दौडिएपछि उक्त गठवन्धन बिथोलियो र अरुले तपाईंबाट धोका पाएको महसुस गरे भन्ने छ नि ?

    हा..हा.. । यो कुरा पहिलोचोटि तपाईंबाट सुन्दैछु । एकातर्फ कांग्रेसभित्र गुट धेरै भए भन्ने कुरा आउँछ । अर्कोतर्फ सात भाइ एकै ठाउँ टाँस्सिएर बस्नुपथ्र्यो भनिन्छ । त्यो सात भाइको जुन साझेदारी थियो, दीर्घकालका लागि थिएन । त्यसलाई सातबाट ८ पनि बनाउन नहुने वा ६ मा झार्न पनि नहुनेखालको होइन ।

    तपाईं प्रवक्ता भएपछि त्यो समूह त बिथोलियो नि ?

    गलत हो । खासमा त्यस सोचको प्रस्तावक नै म थिएँ । मैले चन्द्र भण्डारीसित पहिले यो प्रस्ताव राखेपछि २ बाट ३ हुँदै सात जना भएका हौं ।

    वीपीले ४१ वर्ष अगाडिको पुस १६ गते मेलमिलापको नीति ल्याउनुभयो । त्यही स्पिरिटमा उभिएर हामीले पुस १६ गते नै हामीले विज्ञप्ति निकाल्यौं । सात जनाको विज्ञप्तिमा के थियो हेरौं । “विगतका अप्रिय कुराहरु बिर्सिएर नविन ढंगले अगाडि बढौं । हामी हारेका छौं, तर थाकेका छैनौं । ढलेका हौंला, तर मरेका छैनौं । हामी छौं, नविन ढंगले आउँछौं । म बदलिन्छु, हामी बदलिन्छौं, हाम्रो देश बदल्छौं।” विज्ञप्तिको सार यही थियो । यही गुटलाई सदासर्वदा कायम राखेर सबै चिजमा भाग खोज्ने खालको अवधारणा थिएन । आज जागरण अभियानसम्म आइरहँदा त्यतिबेला हामीले अघि सारेको नविन सोचको रिफ्लेक्सन यसमा केही न केही छ भन्ने लाग्छ ।

    तपाईंको अन्तरवार्ता लिन आउनुअघि इन्टरनेटमा तपाईंको प्रोफाइल चेक गरेको थिएँ । के भेटेँ भने तपाईंले ०४३ सालयता पार्टीभित्र र बाहिर ५ वटा चुनाव हारिसक्नुभएको रहेछ । ०४३ सालमा मेची क्याम्पसको स्ववियू सदस्य हार्नुभयो । ०४५ सालमा सहसचिवमा हार्नुभयो। झापाको कांग्रेस सभापतिमा हार्नुभयो। पछिल्ला दुईवटा संसदीय चुनावमा हार्नुभयो । लगातारको पराजयलाई विश्लेषण गर्दा तपाईं आफूलाई अभागी मान्नुहुन्छ कि अलोकप्रिय ?

    मैले अहिलेसम्म ६/७ वटा चुनाव लडेकोमा केही हारेँ होला । तर, सबै हारेको छैन । नेविसंघको केन्द्रीय सदस्य र अध्यक्ष जितेकै हुँ । पछिल्लो दुई संसदीय चुनावमा लगातार पराजय व्यहोरेको हुँ । तर, म आफूलाई अभागी भन्न चाहन्न । चुनावमा धेरै फ्याक्टरहरुले काम गर्छन् । मेरो क्षेत्रमा कांग्रेस बलियो थियो, तर एमाले र माओवादी मिलेपछि हामी पछि धकेलियौं । दोस्रो र तेस्रो मिलेपछि पहिलोलाई गाह्रो त भइहाल्छ ।

    म आफूले पाएको मतबाट खुशी छु । समानुपातिकमा भन्दा प्रत्यक्षमा ९ हजार बढी भोट आएको छ, तीन हजार चानचुनले हारेको हुँ । झापामा सबैभन्दा कम मतान्तरले हारेको मैले नै हो । हारलाई स्वभाविकरुपमा लिएको छु । जनताले अझै केही समय पार्टीमा नै भूमिका निर्वाह गर भनेर अह्राएको अर्थमा बुझेको छु । फेरि, चुनावी जितहारले मात्रै समग्र लोकप्रियतालाई प्रतिविम्वित नगर्न सक्छ । यो एउटा महत्वपूर्ण सूचक त हो, तर सबैथोक होइन ।

    त्यसो त तपाईं केपी ओलीसितै चुनाव लड्न तम्सिनुभएको थियो क्यार । नलडेर ठीक गरेंछु भन्ने लाग्छ ?

    म आफूले त्यो कुरा उठाएको थिइनँ । केपी ओलीको क्षेत्रमा कसलाई चुनाव लडाउने भन्ने सन्दर्भमा मेरो नाम चर्चामा आएको हो ।

    तपाईंले पार्टीभित्र खुलेरै ओलीसित लड्ने इच्छा व्यक्त गर्नुभएको होइन र ?

    त्यसरी भन्दा पनि मैले पार्टीभित्र ‘आवश्यक परे त्यहाँ लड्न तयार छु’ भनेको हो । पार्टीले निर्णय गरेको भए लड्ने थिएँ । तर, मेरो पहिलो प्राथमिकता केपी ओलीको क्षेत्र थिएन । आफ्नो क्षेत्र, जहाँ म जन्मेको, हुर्केको, पढेको छु, जहाँको नदिमा आफ्ना पितामातालाई जलाएको छु, त्यही मेरो पहिलो प्राथमिकता हो ।

    भविश्यमा कुनै दिन प्रधानमन्त्री पदमा पुगेँ भने पनि मरेपछि मलाई काठमाडौंको आर्यघाटमा होइन, यहीँको माटोमा विलीन होउँ भन्ने चाहन्छु । त्यसैले चुनाव लड्ने सवालमा पनि झापा १ नै मेरो पहिलो प्राथमिकता थियो ।

    दोस्रो प्राथमिकता चाहिँ केपी ओलीको क्षेत्र ?

    आफ्नो क्षेत्र छाडेर जानुपर्‍यो भने अन्त किन जाने ? त्यतिबेलाको लोकप्रिय नेता । पूर्वप्रधानमन्त्री । जनताले उहाँबाट आशा निकै राखेका थिए । आशा राखेको नेतालाई हराउनैपर्छ भन्ने पनि मेरो मनमा थिएनँ । उहाँलाई जित्छु भन्ने नै थिएनँ । म आफ्नै क्षेत्रमा त हारेँ भने उहाँको क्षेत्रमा के जित्थेँ होला ? तर, पार्टीले लड् भन्यो भने मैले जितको खोजी मात्रै गर्नु हुँदैनथ्यो । उहाँसँग हारे पनि मेरो विजय नै हुन्थ्यो । जिते त झन् दिग्विजय हुन्थ्यो ।

    हार्दा कसरी विजय हुन्थ्यो ?

    हार्दा पनि केपी ओलीसित प्रतिस्पर्धा गर्नुको बेग्लै महत्व हुन्थ्यो । केही विचारले, केही सिद्धान्तले, केही फरक मतले, केही व्यक्तित्वको विकासले, केही पहिचानको अभिवृद्धिले मैले मानसिक जित हासिल गर्थेँ होला ।

    पूर्वप्रधानमन्त्रीसित लडेर चर्चामा आउने लोभ पनि त थियो होला ?

    विल्कुलै होइन । त्यस्तो खालको लोभबाट राजनीतिको दिर्घजिवन हुन्छ भन्ने सोच्दिनँ । मैले त झापा १ मा हार्दैगर्दा सबैले देख्दादेख्दै बगैंचाबाट फूल टिप्न लगाएर, सबैले देख्दादेख्दै माला उनेर, सबैको अगाडि कम्युनिष्ट मित्र राम कार्कीको गलामा माला पहिर्‍याइदिएर बधाई दिएको हुँ नि ।

    त्यतिबेला मैले उहाँलाई भनेको थिएँ, ‘मैले लगाइदिएको फूलको माला ओइलिएर झरे पनि जनताको विश्वासको माला ओइलिएर नझरोस्। मैले सस्तो लोकप्रियताका लागि त्यसो गरेको थिइनँ ।

    राम कार्कीले चुनाव जितेर तपाईंको क्षेत्रमा कस्तो काम गर्नुभएको छ त ?

    राम्रै गर्नुहोला भन्ने अपेक्षा गर्छु ।

    अहिलेसम्म चाहिँ कस्तो गरिरहनुभएको छ ?

    अहिलेसम्म आलोचना नै गर्नुपर्ने खालको छैन । बेलाबेलामा पुग्नुभएको सुन्छु । उहाँको आफ्नै व्यक्तित्व छ । विचार राम्रो सम्प्रेषण गर्नुहुन्छ । माक्र्सवादको गहिरो अध्येता हुनुहुन्छ । चिन्तन गर्नुहुन्छ । कोही बेला माक्र्सवादको गहिरो विश्लेषण गर्दागर्दै गाउँको माटो कता दुखेको छ भन्ने बारेमा ध्यान दिन पाउनुभएन भने पनि त्यहाँका जनताले गुनासो गर्नुहुन्न ।

    यद्यपि, आफ्नो पार्टीको सरकार भएका बेला अलि बढी गर्न सकिन्थ्यो होला । कांग्रेसको सरकार थियो जतिबेला, विश्वप्रकाशले चुनाव हार्दा पनि आफ्नो क्षेत्रका लागि काम गरेको हो । अहिले पनि गएर सोध्दा हुन्छ । आज उहाँको सरकार छ । उहाँ संसदमा हुनुहुन्छ । डाडुपुन्यू दुवै हातमा भएका बेला अलि बढी गर्न सक्नुहुन्थ्यो कि भन्ने मात्र अपेक्षा हो ।

    सत्तारुढ नेताहरुले आफ्नो क्षेत्रमा बढी बजेट लैजादा पनि त आलोचना हुन्छ । प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रमका लागि बजेट सिफारिस गर्दा तपाईंले नै कटाक्ष गर्नुभएको थियो । यदि कुनै कार्यक्रम नलगेको भए प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा समेत केही गरेन भनेर आलोचना गर्नुहुन्थ्यो होला होइन ?

    हामी कुन समयमा छौं भनेर हेर्नुपर्छ । हिजो संघीयता थिएन । प्रदेश सरकार, स्थानीय सरकारहरु थिएनन् । सांसद नै विकासको मेसिनरी थिए । जसको बल पुग्छ उसले नै धेरै बजेट लैजान्थे ।  अहिले न्यायोचित ढंगले शक्ति विकेन्द्रित गरिएको छ ।

    प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा अलि बढी विकास लैजाँदै गर्दा माफ गरौंला । तर, यसो सोचौं न । नेपालमा संसारको सबैभन्दा अग्लो बुद्धको मूर्ति बनाउनु त राम्रो हो । तर, त्यो मूर्ति कहाँ बनाउने ? कि मेचीको किनारमा कि महाकालीको किनारमा हुनुपर्ने हो । वा लुम्बिनीमा हुनुपर्ने ? तर उहाँलाई दमकै बनाउनुपर्‍यो । यसमा पनि मेरो विरोध छैन ।

    तर, अर्बौं रुपैयाँको सपिङ मल पनि दमकै चाहियो । यो पनि ठिकै छ । भ्यू टावर पनि दमकमा चाहियो । यहाँ बन्ने भ्यूटावरबाट के हेर्ने ? दुर्बिन लगाएर दमकमा दर्ता भएका पाँच हजारभन्दा बढी सुकुम्बासीको करङ गन्ने ?

    ल, ठीक छ यसलाई पनि माफ गरौं । नेपालमा भूकम्प कहाँ गयो भन्दा सिन्धुपाल्चोकमा । असर बढी कहाँ पर्‍यो भन्दा सिन्धुपाल्चोक, गोर्खा, धादिङ नुवाकोट, भक्तपुर लगायतमा । तर, भूकम्पको स्मृति संग्रहालय कहाँ बन्ने भयो भने दमकमा । भूकम्पले मान्छे मर्ने अरु जिल्लामा, स्मृति संग्रहालय किन दमकमा ? दमकमा कति घर चर्कियो ? कति मान्छे मरे भन्दा छैन । तर, भूकम्प गएकोमा साह्रै दुखी भएको चाहिँ दमक रे ! त्यसैले मैले ट्विट गरेर सोधेँ– सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?

    भनेपछि दमकमा छुट्याइएको बजेटलाई लिएर तपाईंको ठूलो असन्तोष ?

    बजेट छुट्याइएकोमा भन्दा बजेटको प्राथमिकतालाई लिएर हो । म दमकविरोधी होइन । तर, त्यहाँको प्राथमिकता र आवश्यकता हेर्नुपथ्र्यो । नदी कटान, सुकम्बासी समस्या, भित्री बाटोहरु, बेरोजगारी आदि समस्याहरु पो प्रमुख हुन् त यहाँ । भूकम्प संग्रहालयले दमकवासीको कुन समस्या हल गर्छ ? प्रधानमन्त्रीले संघीयताको मर्म नै नबुझेको देखियो ।

    नबुझेको कि नरुचाएको ?

    नरुचाएको भन्दिनँ । जीवनको प्रारम्भमा जुँगाको रेखी नबस्दै उहाँले माक्र्स, लेनिन र स्टालिनको तस्वीरमुनि बसेर सपथ खाँदै गर्दा त्यो दस्तावेजमा संघीयता थिएन नि । संघीयता उहाँले नचिताएको कुरा हो । यो उहाँको दर्शनमै पर्दैनथ्यो । अहिले वाध्यता भयो ।

    उहाँको मनस्थितिमा सर्वहारा अधिनायकबाद छ, परिस्थितिमा संसदीय प्रणाली । मनस्थितिमा उत्तर कोरिया छ, परिस्थितिमा दक्षिण कोरिया । मनस्थितिमा बल प्रयोगबाट सत्ता हासिल गर्ने छ, परिस्थितिमा निर्वाचन । मनस्थितिमा रेड बुक छ, परिस्थितिमा नेपालको संविधान । यसरी उहाँ दोसाँधमा नउभिए हुन्थ्यो ।

    प्रसंग बदलौं । तपार्इं कुनै लाभको पदमा हुनुहुन्न । म्याडम गृहणी । परिवारको आयश्रोत के हो ?

    उनी गृहिणी मात्र होइनन् । मेचीनगरमा लेडिज जेसीसको फाउन्डर प्रेसिडेन्ट हुन् । पहिले स्कुल पनि पढाउँथिन् । अहिले ट्रेनिङ कार्यक्रमबाट सामान्य आयआर्जन गर्छिन् । वर्षमा २०-२५ वटा तालिम हुन्छन्, तीन महिनाजति त्यसमा व्यस्त रहन्छिन् ।

    भनेपछि आयआर्जनको पाटो म्याडमको जिम्मेवारीमा छ ?

    त्यस्तो पनि होइन । हाम्रो परिवार विगतमा कृषिमा आधारित हो । स्वर्गीय मातापिताले जग्गाजमिन मनग्गे छोडेर जानुभएको थियो । त्यही जमिनको बलमा मैले अहिलेसम्मको राजनीति अघि बढाएँ । तर, विस्तारै खेती गर्न नसकिने अवस्था आएपछि जग्गाहरु विक्री गरेर बस्ती बसालियो ।

    मैले आन्तरिक प्रशिक्षणहरुमा भन्ने गर्छु कि तीन दिन पार्टीका लागि, ४ दिन रोटीका लागि दिउँ । यो कुरा मैले आफूमा पनि लागू गरेको छु । त्यो राजनीतिकर्मी नै असल हुन्छ, जसले अन्य पेशाबाट आफ्नो परिवारको भरणपोषण गर्न सक्छ । राजनीति नै मुख्य पेशा भयो भने समस्या हुन्छ । दोकान खोल्नुस, पत्रिका पसल चलाउनुस, वा जग्गा खरिदविक्री नै गर्नुस् । तर, राजनीतिलाई आयआर्जनको स्रोत नबनाउनुस् ।

    सात दिन र तीन दिनको सूत्र आफूमा लागू गर्नुभएको छ त ?

    पक्कै पनि प्रयास गरेको छु । मेरा केही व्यवसायहरु छन् । ट्राभल एजेन्सी छ । बिर्तामोडमा कलेज छ । निर्माणाधीन इलामको सिद्धी हाइड्रोमा सेयर छ । यस्तो कुरामा गाँसिने कर्म गरिनँ भने भविश्यमा अख्तियारको अघिल्तिर अनुहार रुमालले छोपेर/बाँधर उभिनुपर्ने अवस्था आइहाल्छ नि । छोराछोरीले कमाउने बेला पनि भएको छैन ।

    कत्रा भए छोराछोरी ?

    छोरी कक्षा ९ मा र छोरा युकेजीमा पढ्दैछन् ।

    राजनीतिमा के सोचेर लाग्नुभएको थियो ? आजको स्थानसम्म आइपुग्ने कल्पना थियो कि थिएन ?

    वातावरण र परिस्थिति अनि मनिस्थितिले मलाई राजनीतिमा धकेलेको हो । पारिवारिक वातावरण राजनीतिक थियो । परिस्थिति पञ्चायत थियो । यो व्यवस्था ढाल्यो भने राम्रो व्यवस्था आउँछ भन्ने सोचाई भयो । ०४१ सालको चैत्र १४ गते ८ कक्षा पढ्दा पहिलोचोटि थुनिएँ । पुलिसको हिरासतमा बसेर आउँदै गर्दा सबैले वाहवाही गरे । ए, यो त राम्रै कर्म पो रहेछ भन्ने मनस्थिति भयो । त्यसबेला लाग्दै गर्दा यो जिम्मेवारीसम्म पुगौंला भन्ने थिएन । आकांक्षाहरु पछि जन्मेका हुन् ।

    बुवाआमाले राजनीतिमा नलाग् भन्नुभएन ?

    परिवारको पूर्ण समर्थन रह्यो । पञ्चायतकालमा एक दर्जनपटक हिरासतमा बसेँ । हरेकचोटि मातापिताको आशिर्वाद पाएँ । पिताजी पनि राजनीतिमा हुनुहुन्थ्यो । म जन्मेको केही समयपछि जेल पर्नुभएको थियो । मेरो जिन्दगीको पहिलो दशैंमा बुवाले जेलमै टीका लगाइदिनुभएको थियो रे । यो ०२८ सालको कुरा हो।

    मेरी आमा पनि सुशिक्षित हुनुहुन्थ्यो । बुवा र आमा दुवैले बीए पास गर्नुभएको छ । त्यतिबेला बीएको पढाइ चानचुने थिएन । मेरा बुवा–आमाको बिहे हुँदाको निमन्त्रणा कार्ड अहिले पनि सुरक्षित छ, जसमा बरको नाम पर्शुराम शर्मा (बीए) र बधु सावित्री शर्मा (बीए) लेखिएको छ ।

    मेरी आमा स्थायी शिक्षिका हुनुहुन्थ्यो । उहाँलाई पनि पञ्चायतले निकै दुःख दियो । धेरै पढेको र स्थायी भएको जागिरबाट हटाउन त सम्भव भएन । त्यसैले दुख दिने नियतले जिल्लाभित्रै घरभन्दा निकै टाढाको स्कुलमा सरुवा गरिदियो । आमाले तैपनि जागिर छोड्नुभएन । म सानो छँदा उहाँ घोडा चढेर स्कुल धाउनुहुन्थ्यो रे । मलाई पनि स्कुलमै लैजानुहुन्थ्यो । मलाई क्यान्टिनमा सुताइदिएर आफू पढाउन जानुहुन्थ्यो । रोएँ भने क्यान्टिनको साहुनीले बोलाइदिने र आमाले आएर दूध चुसाउनुहुन्थ्यो ।
    यसरी बुवा र आमाले गरेको संघर्षले मलाई आजपर्यन्त प्रेरणा दिएको छ । मेरा एक दाजु हुनुहुन्छ र एक दिदी हुनुहुन्छ । उहाँहरुको पनि साथ र सहयोग छ ।

    भाषण कलामा पहिलेदेखि नै पोख्त हो कि पछि निखारिनुभएको ?

    भाषण त म अहिलेभन्दा पनि ०४३/०४४ सालतिर मेची क्याम्पसको सभापति हुँदा राम्रो गर्थेँ जस्तो लाग्छ । अहिले सरकारको प्रतिपक्षी छौं । तर, त्यतिबेला सिंगै व्यवस्थाको प्रतिपक्षी थियौं । मनभित्र व्यग्रता हुन्थ्यो, विद्रोह हुन्थ्यो । भाषण गर्दा अन्तरआत्माबाट गरिन्थ्यो । बोल्नुको पनि मज्जा थियो ।

    तपाईंलाई कहिलेदेखि आफू राम्रो भाषण गर्छु भन्ने लाग्न थाल्यो ?

    म राम्रो भाषण गर्छु भनेर त अहिले पनि भन्दिनँ । तर, इमान्दार भएर बोल्छु ।

    तपाईं आफैंलाई चाहिँ कसको भाषण मन पर्छ ?

    भाषण भनेको शब्दहरुको थुप्रो मात्रै होइन । यसलाई धेरै डाइमेन्सनबाट हेर्नुपर्छ । मीठोसँग प्रस्तुत गर्नेभन्दा पनि कस्तो विचार अभिव्यक्त गरिरहेको छ भन्ने महत्वपूर्ण हुन्छ, भाषण शैलीमा प्रभावित हुने एउटा कुरा हो । भाषण कलामा मात्रै केन्द्रित भएर भन्नुपर्दा म निसन्देह मदन भण्डारीबाट प्रभावित छु । उहाँको भाषणमा आवेग हुन्थ्यो, शब्दचयन उत्कृष्ट थियो, बेजोड ढंगले उठान गर्नुहुन्थ्यो र त्यस्तै रुपमा टुंग्याउनुहुन्थ्यो ।

    उहाँको भाषण प्रत्यक्ष सुन्नुभएको छ ?

    सुनेको मात्र होइन, ०४९ सालमा मीनभवन क्याम्पसमा भएको एउटा कार्यक्रममा उहाँ आउनुभएको थियो। त्यही मञ्चमा म पनि नेविसंघको केन्द्रीय प्रतिनिधिका रूपमा वक्ता थिएँ। पछि उहाँका भाषणहरु मैले युट्युवमा पनि हेरेको छु ।

    समकालीन नेताहरुमा चाहिँ कसको भाषण राम्रो छ ?

    कांग्रेसभित्र राम्रो भाषण गर्ने गगन थापा नै हो । अन्य पार्टीका नेताको कुरा गर्दा म केपी ओलीको पनि नाम लिन चाहन्छु । उहाँको भाषणमा बेग्लै मजा हुन्छ । कतिपय शब्द चयनको पक्षलाई बिर्सिने हो भने उहाँको भाषणमा पनि एकप्रकारको आकर्षण छ । भो, यसमा धेरै नजाउँ ।

    पहिलोचोटि केपी ओलीको विषयमा राम्रो टिप्पणी गर्नुभयो ?

    राम्रोलाई राम्रो भन्न म हिच्किचाउँदिनँ । म आफैं चुनाव लड्दा पनि भाषणमा प्रतिस्पर्धी उम्मेदवारको प्रशंसा गर्थेँ ।

    कमरेड केपी ओलीप्रति सहानुभूति राखेर विगतमा लेखेको पनि छु । तत्कालीन एमालेभित्रको विवादलाई लिएर ‘संस्कारको समाधि’ भन्ने लेख लेखेको थिएँ । त्यतिबेला बिरामी नेताले पार्टीको नेतृत्व दिनु हुँदैन भनेर माधव नेपाल गुटले केपी ओलीलाई खेदिरहेको अवस्था थियो ।

    मैले लेखेँ कि राजनीतिमा कसलाई अध्यक्ष बनाउने भन्ने कुरा मेडिकल रिपोर्टले होइन, पोलिटिकल रिपोर्टले तय गर्छ । वीपी कोइरालालाई ३२ वर्षमा क्यान्सर भयो । के अरु नेताले उहाँलाई ‘हे क्यान्सर रोगी ब्राम्हण, तिमीले हाम्रो नेतृत्व गर्न पाउँदैनौं’ भनेर भने ?

    सक्रिय नेतृत्व गर्नलाई त राजनीतिकसँगै मेडिकल रिपोर्ट पनि त राम्रो हुनुपर्ला नि ?

    स्वस्थ शरीर पनि चाहिन्छ । तर, एउटाले हाछ्यूँ गर्‍यो त्यसलाई हटाउँ भन्नु ठीक होइन । केपी ओली किड्नीको समस्यामा हुनुहुन्थ्यो, तर पछि माधव नेपालका पनि धेरैथरी रोग बाहिर आए । मैले ‘संस्कारको समाधी’ लेखमार्फत भनेको थिएँ, माधव नेपाललाई बनाउनुस् वा केपी ओलीलाई बनाउनुस् दुवै जना योग्य हुनुहुन्छ । दुवैको राजनीतिक रिपोर्ट तुलना गर्नुस् । एउटा रोग बढी भए अयोग्य र एउटा रोग कम भए योग्य हुने हो र ?

    यसरी एउटा पार्टीको आन्तरिक विषयमा अर्को पार्टीको नेताले सार्वजनिक टिप्पणी गरिहनु कत्तिको जायज हो ? अस्ति भर्खर पनि मदन भण्डारीलाई एमालेले बिर्सियो भनेर पनि टिप्पणी गर्नुभयो ।

    मानौं मेरो छिमेकी दुश्मन छ । अब उसले घर बनाउँदै गर्दा मैले चासो राख्नुपर्छ कि पर्दैन ? उसले ६ तल्लाको घर बनायो रे । उ नभएका बेलामा मिस्त्रिले बालुवा बढी हाल्यो वा ईंटा कम भिजायो भने मेरो दुश्मन त हो नि भनेर चुप बस्न सक्छु ? भूकम्प आएका बेला उसको घर ढलेर मलाई किच्न सक्दैन ?

    राजनीति आम सरोकारको विषय हो । एउटा राजनीतिक दल राम्रो भयो भने अर्को दललाई बेफाइदा हुने होइन । समग्रमा राजनीति सङ्लो हुनुपर्छ । हामीले जागरण अभियानमा ब्याच नलगाउने, आसन ग्रहण कम गराउने कुराहरु लागू गर्दा अन्य पार्टीहरुले पनि स्वागत गर्नुभयो । हामीले लेख्दै के लेखेका छौं भने केजीमा तौलिने माला नलगाउने ।

    नेतालाई केवल एउटा फूलको थुँगाले स्वागत गर्न सकिन्छ । सारा बगैंचा फाँडेर माला लगाइदिनु आवश्यक छैन । यो समग्र राजनीतिक चरित्र र व्यवहारलाई सच्याउने सोच हो । हामी राम्रो हुँदा कम्युनिष्ट पार्टीलाई र कम्युनिष्ट राम्रो भए हामीलाई पनि फाइदा छ ।

    राजनीतिबाहेक तपाईको रुची ?

    फुर्सदको समयमा म लेखपढ नै गर्न रुचाउँछु । हातमा ह्वीस्कीको गिलास लिएर तास खेल्दै दिन काट्न मन पर्दैन । बरु संगीतमा मेरो गहिरो अभिरुची छ । गीत लेखन र संगीत दुवै गर्छु । हालै नेपाली कांग्रेसको जागरण अभियानका लागि १२ वटा भाषामा गीत लेखेँ ।

    तपाईंलाई १२ भाषाको ज्ञान छ ?

    भन्नाले मैले नेपालीमा लेखेर अरु अनुवाद गराइएको हो । लिम्बु, राई, मैथली, भोजपुरी, नेवारी, थारु, तामाङ लगायत भाषामा अनुवाद गरेर गाइएको छ। संगीत चाहिँ मैले नै भरेको हुँ ।

    संगीत पनि सिक्नुभएको छ ?

    नेपाल संगीत विद्यालयमा केही समय सिकेको हुँ ।

    सामाजिक सञ्जालमा जता हावा चल्छ, विश्वप्रकाश त्यतै दौडिन्छ भनिन्छ नि ?

    विल्कुल गलत । म कहिल्यै सामाजिक सञ्जालका आधारमा धारणा बनाउँदिनँ । त्यस्तो उदाहरण कुनै एउटा दिनुस् ।

    सामाजिक सञ्जालभन्दा बाहिर गएर धारणा राखेको एउटा उदाहरण तपाईं दिनुस त ?

    (सम्झिन खोज्दै) अहिले झट्ट सम्झिन सकिनँ । तर, म प्रमुख प्रतिपक्षी पार्टीको प्रवक्ता भएर सामाजिक सञ्जालमा लेखिरहँदा मैले हचुवा टिप्पणी गर्दिनँ । अरुले कुनै कुरा सुनेको आधारमा एक थोक लेखिदेलान् र त्यसको थप खोजीमा नलाग्लान् । मैले त्यस्तो अपुष्ट कुरामा टिप्पणी गर्न मिल्दैन, किनकी मैले अगाडि र पछाडिको सोच्नुपर्छ । मैले लेखेको कुरा सामाजिक सञ्जालसँग मेल खाने एउटा कुरा हो । आखिर समाज यही हो । धेरैको सोचाई मेरोजस्तै हुन सक्छ ।

    प्रचार र प्रशंसाको भोको हुनुहुन्छ भनिन्छ नि ?

    प्रचार त मेरो जिम्मेवारीकै कुरा हो । तर, व्यक्तिगत आफ्नो प्रचारमा कहिल्यै रमाइनँ । सामाजिक सञ्जालमा आफ्नो प्रशंसा हुँदा आल्हादित भइहाल्दिनँ । नेगेटिभ आउँदा पनि निराश बन्दिनँ । आफ्नो ठाउँमा ठीक बन्ने प्रयत्न गर्छु । मैले कुनै नेताको विरोधमा लेख्दा सामाजिक सञ्जालमा ‘क्यावात’ भनियो भने त्यो मेरो प्रशंसा भन्दा पनि उक्त नेताप्रतिको असन्तुष्टिको मनोविज्ञान हो भनेर बुझ्छु ।

    कसैले सामाजिक सञ्जालमा कटु आलोचना गर्‍यो भने डीएम (डाइरेक्ट म्यासेज) गरेरै उसलाई जवाफ फर्काउनुहुन्छ रे नि ?

    हो । मलाई अति नै चित्त बुझेन भने त्यस्तो पनि गर्छु । जवाफ फर्काउनेभन्दा पनि डीएम गरेर उसलाई प्रेमपूर्वक सम्झाउने गर्छु ।

    एउटा उदाहरण दिन्छु । एकजना हात काटिएकी महिला छिन् देवीमाया, जसको काखमा सात दिनको र अर्को अढाई बर्षको बच्चा थिए । सात दिनको सुत्केरी भएका बेला उनकका श्रीमानको मृत्यु भयो । सासू आमा पनि आँखा नदेख्ने । छोरीको न्वारान गर्ने बेलामा कोरामा बस्नुपर्‍यो । उनको घर छैन । आठ महिनादेखि कोठाको भाडा तिरेको छैन । अब म उनलाई अरुले जस्तै एक–दुई बोरा चामल दिएर आफ्नो कर्तव्य पूरा भएको त मान्न सक्दिनँ । त्यसैले मैले उनलाई एक टुक्रा जग्गा दिएँ । धेरै जना मिलेर त्यसमा एउटा घर बनायौं ।

    यस्तो कुरालाई पनि कसैले ‘कांग्रेसको नाटक’ भनेर लेखिदियो भने नरमाइलो लाग्छ । त्यस्तो कमेन्ट गर्नेलाई मैले डीएम गरेर भनेँ, ‘प्रिय फलाना, तपाईंले यसरी लेख्नुभएको रहेछ । खुशी लाग्यो । सल्लाह सुझावका लागि धन्यवाद । तर, अलि बढी नकारात्मक हुनुभयो कि ?’

    अब मैले यति लेखेपछि उसलाई स्ट्राइक त हुन्छ नि । प्रतिपक्षी पार्टीको प्रवक्ताका रुपमा जवाफ दिइरहँदा मैले आफ्नो रीस प्रकट गर्न मिल्दैन । फोन गरेर ‘ए फलाना, किन जथाभावी लेखेको ?’ त भन्न सक्दिनँ । त्यसैले म्यासेज गर्छु ।

    कुनै राजनीतिक विषयमा नकारात्मक टिप्पणी गरिएको छ भने धेरै वास्ता गर्दिनँ । तर, निश्वार्थ ढंगले गरिएको सामाजिक काममा पनि यसरी गाली खानुपर्‍यो भने चित्त अवश्य दुख्छ ।

    अन्त्यमा, एउटा राजनीतिक प्रसंग । पछिल्लो समय विप्लव माओवादीले हत्या, हिंसा र चन्दा आतंक झन् बढाइरहेको छ । सरकारले लगाएको प्रतिवन्ध ठिकै रहेछ भन्ने अहिले तपाईंलाई महसुस भएको छ कि छैन ?

    त्यस्तो विल्कुल छैन । आक्रमण त कांग्रेसमाथि पनि उहाँहरुले गर्नुभएको छ । चुनावका बेलामा कांग्रेसका उम्मेदवारमाथि बम पड्काइएका छन् । तर, कुनै घटनाका कारण प्रतिवन्ध लगाउने हो भने त सत्तारुढ नेकपालाई पहिले प्रतिवन्ध लगाउनुपर्छ । किनकि, बितेको एक वर्षमा पटकपटक कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाट आक्रमण भएको छ ।

    रोल्पामा तरुण दलका नगर सभापति पूर्वमाओवादीबाट मारिए । सर्लाहीमा रामविलास महतो पनि विप्लवबाट नभएर पूर्वएमालेबाट मारिएका हुन् । त्यसो भए के नेकपामाथि प्रतिवन्ध लगाइदिने त ?

    पूर्वमाओवादी र पूर्वएमालेबाट भएका आक्रमण पार्टी नेतृत्वकै निर्देशनमा त भएका होइनन् । विप्लव माओवादी त रणनीतिकरुपमै हिंसात्मक अभियानमा छ । छिटफुट घटनालाई लिएर नेकपा र विप्लवलाई एउटै तराजुमा जोख्न मिल्छ ?

    कांग्रेस कार्यकर्ताको ज्यान जाँदै गर्दा छिटपुट घटना भनेर सहने ? पार्टीको निर्देशन होइन भनेर उहाँहरुका मातापिताले आफ्नो गुमाएको छोरा फिर्ता पाउन सक्नुहुन्छ ? राज्य संरक्षित ढंगले यस्तो अपराध भइरहँदा कांग्रेस चुप बस्न सक्छ ?

    विप्लव समस्याको हल कसरी गर्ने त उसोभए ?

    मिलाएर लैजानुपर्‍यो । कसैलाई निषेध गरेर हुँदैन । यदि निषेध नै समाधान हुन्थ्यो भने सरकारले प्रतिवन्ध लगाइसकेपछि मान्छे मारिनु नपर्ने । त्यस्तो स्थिति त छैन । हामी अभ्यासबाटै निषेध गलत हो भनिरहेका छौं । हामीले तत्कालीन माओवादीलाई बल प्रयोग गरेर सिध्याउन संकटकाल लगायौं । तर, सिद्धिए त ? झन् समस्या चर्कियो नि । अन्ततः वार्ताबाटै समस्या हल भयो कि भएन ?

    कांग्रेसले प्रचण्ड, बाबुराम, वैद्य, विप्लवसहितको पहाडजस्तो माओवादीलाई विश्वासमा लियो । आज कमरेड केपी ओलीले निषेध मात्रै गरेर हामी समाधानमा पुग्न सक्छौं भन्दै गर्दा के त्यसले समाधान दिएको छ त ? यसबीचमा वार्ता गरेको भए बरु समाधानउन्मुख हुन्थ्यौं कि ? अनुभवबाट सिक्नुपर्‍यो ।

    प्रतिवन्ध त कानून अनुसार पनि छैन । जो संविधानको परिधिभित्र छ, उसलाई प्रतिवन्ध लाग्छ । जसले संविधानै मानेको छैन, उसलाई प्रतिवन्धले के फरक पार्छ ? बरु यसले राज्यको प्रहरीलाई असर गरेको छ । उनीहरुको मनोबल घटाइदिएको छ । अस्ति ओखलढुंगामा विप्लवले आक्रमण गर्दैछ भन्ने सूचना आउँदै गर्दा प्रहरीहरु सतर्क भएर बसेको चौकी छोडेर भागे ? यस्तो त्रस्त मनोविज्ञान प्रहरीमा सिर्जना गरिएको छ ।

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
         थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.HimaliSanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

    टोकियो– जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । ...

    एनआरएन विश्व सम्मेलनः कुमार पन्त र कुल आचार्यको भिडन्त

    काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त (जर्मनी) र कुल आचार्य (बेलायत)...

    चितवन कांग्रेसले सर्वसम्मत सिफारिस गर्‍यो उपनिर्वाचनका लागि उम्मेदवार

    २७ असोज २०७६, चितवन : नेपाली कांग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि...

    हेर्नुहोस तपाईंको आजको राशिफल !

    वि.सं.२०७६ असोज साल २७ गते सोमबार | सन् २०१९ अक्टोबर १४ तारीख | नेपाल संवत...

    नेकपा कैलाली अध्यक्ष थापाको तेस्रो महिलासंगको प्रेमलिला सार्वजनिक [भिडियो सहित]

    २७ असोज २०७६ कैलाली : भन डार्लिङ। किन फोन काटेको ? छोरा आएको थियो वोलाउन...