
काठमाडौं – गायक प्रकाश सपुतको नयाँ गीत पीर सार्वजनिक भएको २४ घण्टा नबित्दै विवादमा तानिएको छ । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित १६ मिनेट २५ सेकेण्ड लामो गीत यतिबेला युट्युबको ट्रेन्डिङमा रहेको छ ।
जब गीत सार्वजनिक भयो। माओवादी वृत्तबाट यसको चर्को आलोचना भएको छ । नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन् । उनले सर्वाजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने समेत बताएकी छन् ।
अध्यक्ष सिंहले सामाजिक सञ्जालमा लेखेकी छन् : महान् जनयुद्धको कारण केही थान मन्त्रीहरू ,माननीयहरू र टाठा बाठाहरूको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रूपमा छ । सहिद परिवार बेपत्ता परिवार, पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखवर भने छैन ।
कतिपय प्रयत्नहरू सफल हुन सकेका छैनन् ।व्यवस्थापनमा केही नभएको भन्ने पनि होइन विभिन्न तहमा प्रयत्नहरू भइरहेका पनि छन् तर व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपूत जी ले युट्युबमा अपलोड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ ।
जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३% प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा प्रकाश जी तपाईंलाई बुझाइरहन पर्ने हो? जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातीय विभेद विरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयो? तिनै दिदीबहिनीहरु माथि अपमान हुने गरी बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक रुपमा माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।
त्यस्तै, माओवादीका केन्द्रीय सदस्य दीपशिखा पनि गीतप्रति आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि, उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैलाई मार्छ । प्रकाश सपुत एक राम्रा सर्जक हुन् ! व्यापारमा सिर्जना नमारुन् !
`पिर’ को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाऊ तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले `देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् – त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ ।
उसो भए सर्जक सपुतलाई मेरो एउटा प्रश्न – अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो ?’ सायद ती महिलाहरूले नलडेको भए सपुतहरूले स्वतन्त्र गीतहरूमा निर्धक्क संगीत भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे ।’
त्यस्तै, संघीय संसद प्रतिनिधि सभा सदस्य सुदन किरातीले समेत “प्रकाश सपूत जी ! यसको मतलब जनयुद्ध बाट प्राप्त उपलब्धी गलत थियो ? जनयुद्धमा सहभागी भएका महिलाहरु तपाईले भने जस्तै देह व्यापार गरी रहेका छन ? संगीत क्षेत्रमा तपाईले खेल्नु भएको रचनात्मक भुमिका देशमा निरङकुस राजतन्त्र रहेको भए त्यसरिनै खेल्न पाउनु हुन्थ्यो त ? तपाई जेल जानु पर्दैन थियो ? तपाईको समुदाय माथी लादिएको बिभेद हटेकोमा तपाई बेखुशी हो ? यो व्यबस्था उल्टियो भने तपाईको जातीलाई नै सबै भन्दा ठुलो क्षति पुग्छ होइनर ? त्यसो भए ति महिला योद्धाहरुलाई तपाईको रचना मार्फत सम्मान पो गर्नु पर्थ्यो होइनर ?
किरातीले अन्यत्यमा थप लेखेका छन्; “जेल ब्रेक गरेर उमा भुजेलहरु, दौडिएर बिश्व कृतिमान कायम गर्ने मिरा राईहरु, कलिलो उमेरमा देशको सभामुख बन्न सफल ओनसरि घर्ति मगरहरु कहाँ बाट जन्मिएको होला ? उहाँहरु प्रति तपाईको सृजना किन मौन छ ?”
प्रकाश सपुतको नयाँ विवादित गीत यहाँ हेर्नुस्