पछिल्लो १० वर्षदेखि म बच्चा पेटमा राख्न र उसलाई जन्म दिने सपना देखिरहेकी छु । तर बच्चालाई सधैंका लागि आफूसँग राख्न भने चाहन्नँ न मेरो आमा बन्ने सपना नै छ ।
यसै कारण मैले सरोगेट बन्ने निर्णय गरेँ ता कि सुत्केरी भएपछि मैले बच्चालाई आफूसँगै राख्नु पर्दैन । म गर्भवती हुँदाको अनुभव मात्र गर्न चाहन्छु ।
म एउटा बच्चा मेरो शरिरभित्र कसरी विकसित हुन्छ, त्यो हेर्न चाहन्छु र बच्चालाई आफ्नो पेटभित्र कसरी पाल्नेछु, त्यो पनि महसुस गर्न चाहन्छु ।
म आफ्नो शरिरमा आउने परिवर्तन हेर्न चाहन्छु । म हेर्न चाहन्छु कि मेरो छाला कसरी तन्कनेछ ? म आफ्नो शरिरभित्र बच्चाको हलचल महसुस गर्न चाहन्छु ।
म २१ वर्षको हुँदा नै सरोगेट भन्ने बिचार आएको थियो । मैले सरोगेसीमा एकपटक फिल्म हेरेको थिएँ त्यतिबेला नै मैले यसबारे सोचेकी थिएँ । मैले इन्टरनेटमा पनि यसबारे पढेँ र मलाई पनि यस्तै गर्नु छ भन्ने महसुस भयो ।
म एउटा लामो सम्बन्धमा रहेकी छु । मजस्तै मेरा पूर्व प्रेमीलाई पनि बच्चाको चाहना थिएन । तर सरोगेसीमा मलाई जस्तो उसलाई रुची थिएनँ ।
आफ्नो स्वास्थ्यलाई खतरामा राखेर म किन गर्भवती हुन चाहन्थेँ भन्ने कुरा उनले कहिले बुझेनन्, त्यो पनि ती बच्चाको लागि जुन मेरो हुनेछैन ।
यसकारण म आफ्नो बच्चा चाहन्नँः
तपाईंलाई कौतुहल भयो होला, आखिर म आफ्नो बच्चा किन चाहन्नँ ? बच्चालाई हुर्काउने बढाउने एउटा ठूलो जिम्मेवारी हो र मलाई लाग्दैन कि मानसिक रुपमा र आफ्नो करियरलाई हेर्दा म यो ठूलो जिम्मेवारी वहन गर्न सक्छु ।
म यसका लागि कहिले तयार हुन्छु वा हुन्नँ त्यो मलाई थाहा छैन । म एक इभेन्ट कम्पनीमा कार्यरत छु । यसका साथै म एक क्रिएटिभ प्रोजेक्टमा पनि आबद्ध छु । यसका लागि मैले घण्टौंसम्म काम गर्नुपर्छ, विभिन्न देशको यात्रा गरिरहनुपर्छ । यस्तो प्रकारको जागिर भएकी एक महिलाले सानो बच्चाको हेरबिचार गर्नु निकै मुश्किल हुनेछ ।
गर्भवती हुनु पनि कम चुनौतीपूर्ण छैन तर मलाई थाहा छ कि सरोगेसीका लागि मैले एक निश्चित समय दिनुपर्छ ।
मैले मातृत्व अवकाश पाउनेछु र त्यसपछि म काममा फर्कन सक्छु । यस्तै, यदि मैले आफ्नै बच्चालाई जन्म दिएँ भने त्यो मेरो जीवनभरीको जिम्मेवारी हुनेछ ।
गर्भधारण गरेपछिको नकारात्मक पक्षसँग म राम्रोसँग अवगत छु । कम्मर दुख्ने, थकान, अनिन्द्रा, बिरामी र अझै धेरै ।
मलाई यो पनि थाहा छ कि बच्चालाई जन्म दिनु चानचुने कुरा होइन । तर म त्यो पीडा र असहजताको अनुभव गर्न चाहन्छु । मलाई थाहा छ कि गर्भावस्थाको क्रममा केही मानिसहरु लगातार बान्ता गर्छन् । म यी सबै कुराको अनुभव गर्न चाहन्छु ।
नौ महिना लगातार बच्चालाई पेटमा राखेपछि मलाई त्यो बच्चासँग लगाव हुने हो कि भन्ने पनि डर छ । बच्चासँग आमाको लगाव जन्म अघि नै हुने गर्छ किनभने पेटभित्र बच्चाले आमाको पहिलो आवाज सुनेको हुन्छ ।
एउटा यो पनि कारण हो, म आफ्नो बच्चा जन्माउनुको साटो सरोगेसी चाहन्छु । किनभने जब मेरो पेटमा अरु कसैको बच्चा भए सायद यो मुश्किल स्थिती मलाई आइपर्ने छैन ।
अब म ३० वर्षको भइसकें । म अहिले त्यो उमेरमा पुगेकी छु जब धेरैजसो मानिसहरु बच्चाबारे सोच्ने गर्छन् ।
मेरी एक अति मिल्ने साथी हालै आमा बनेकी छिन् । गर्भावस्थाको ९ महिनामा उनले जतिपनि उतारचढाव देखिन् म पनि तीे सबै अनुभव गर्न चाहन्छु ।
मेरा अर्का एक साथी छन् जो समलिङ्गी हुन् । उनी कोहीसँग सम्बन्धमा छन् । उनीहरुले अहिले बच्चाबारे सोचिरहेका छैनन् तर यदि उनीहरु सरोगेट चाहन्छन् भने म यसका लागि तयार भएको जानकारी दिइसकेकी छु ।
यस्तो सोच भएकी एक्ली महिला होइनः
यस्तो सोच राख्ने म एक्ली महिला भने होइन । इंगल्याण्ड र वेल्समा सरोगेसीको प्रचलन बढिरहेको छ ।
ब्रिटेनमा हरेक वर्ष तीन सय जोडीलाई यसको अनुमती दिइन्छ । १० वर्ष अघि यस्ता ५० घटना हुने गर्थे ।
यस्तो गरेर मैले कसैलाई गुण लगाउन खोजेको होइन । यो दुईतर्फी कुरा हो । म यो सबै कुरा पैसाको लागि पनि गर्ने छैन । ब्रिटनेमा सरोगेसीका लागि पैसा लिनु यसै पनि गैर–कानूनी हो ।
यद्यपी, यो पक्कै हो कि सरोगेट बन्दा मैले केही आर्थिक सहयोग पाउँछु । किनभने गर्भवती हुँदा म काम गर्न सक्दिनँ र मेरो कुनै आम्दानी हुनेछैन । यसका साथै मलाई आवतजावतको खर्च र कपडाका लागि पैसा दिइनेछ । तर म यो सबै पैसाको लागि पक्कै गरिरहेको छैन ।
मेरा लागि ‘वास्तविक भुक्तानी’ त्यतिबेला हुनेछ जब म बच्चालाई आफ्नो पेटमा राख्नेछु र जन्म दिनेछु । यसका लागि मैले सरोगेसीसँग जोडिएका कुनै वेबसाइट वा सोसल मिडियाको मद्दत लिएकी छैन किनभने मैले राम्रोसँग चिनेको जोडीका लागि मात्र म यस्तो गर्न चाहन्छु ।
तर म सरोगेसीको साइट भने हेरिरहन्छु ता कि मैले यसको पूरा प्रक्रिया जान्न सकूँ ।
आमा बन्ने मेरो इच्छालाई म रोक्न सक्दिनँ । म यो जसरी पनि गर्छु । गर्भवती हुने र बच्चा जन्माउने प्रक्रिया म आफैं महसुस गर्न चाहन्छु ।
केही महिना अघिदेखि म डिप्रेशनको औषधी खाइरहेको छु । मैले सुनेको छु कि यस्तो प्रकारको औषधीले गर्भस्थ शिशुलाई नकारात्मक असर पुर्याउँछ ।
मैले यो औषधी खान छोडेपछि मात्र सरोगेट बन्ने निर्णय लिनेछु । म बच्चाको आमा–बुवालाई पहिले नै आफ्नो मानसिक स्थितीबारे जानकारी दिनेछु ।
मैले आफ्नो डाक्टरलाई पनि अहिलेसम्म आफ्नो यो योजनाबारे बताएको छैन तर गर्भवती भएपछि म उनीसँग यसबारे पक्कै जानकारी दिनेछु ता कि सबैकुरा ठिक होस् ।
मेरा धेरैजसो साथीहरुले मेरो यो सोचलाई समर्थन गर्दैनन् । केही साथीहरुले मलाई भन्ने गर्छन्, ‘जब बच्चा नै तिम्रो हुँदैन भने, बेकार आफ्नो शरिरलाई किन खराब गर्न चाहन्छौ ?’ यहाँसम्म कि मेरी आमा पनि मेरो यो कुरा बुझ्नुहुन्न । उहाँलाई लाग्छ कि यस्तो गर्नु मेरो गल्ती हुनेछ ।
तर जसले जे भनेपछि यो मेरो निर्णय हो । मलाई थाहा छ कि गर्भवती भएपछि म के हाँसिल गर्न चाहन्छु । म ठूलो पेट चाहन्छु । म बच्चालाई आफ्नो पेटमा पाल्न, हुर्काउन चाहन्छु । म गर्भवती हुँदाको शारिरिक, मानसिक उतारचढावलाई अनुभव गर्न चाहन्छु । सुत्केरी भएपछि म बच्चालाई आफूसँग राख्न चाहन्नँ, यसमा के गलत छ ?