News Portal

इलाम यातायात कार्यालयमा अनियमितता: परीक्षण विना सवारी जाँचपास, मोटो रकम असुलीको आरोप

३७ पटक

काठमाडौँ-देशभरका सरकारी कार्यालयमा सुधार ल्याउने प्रयास भइरहेका बेला इलामस्थित यातायात व्यवस्था सेवा कार्यालयमा भने गम्भीर अनियमितता भइरहेको खुलासा भएको छ। कार्यालयको प्राविधिक शाखाबाट सवारी साधनको परीक्षण नै नगरी जाँचपास प्रमाणपत्र दिने गरिएको आरोप सार्वजनिक भएको हो।

यातायात व्यवस्था सेवा कार्यालय इलामका प्राविधिक शाखा प्रमुख, मेकानिकल सुपरभाइजर सुरज केसीले लेखापढी व्यवसायीहरूसँग मिलेमतो गरी आर्थिक प्रलोभनमा परेर सवारी साधन परीक्षण नगरी प्रमाणपत्र जारी गर्ने गरेको स्रोतले जनाएको छ।

गत भदौ महिनामा देशभर चलेको ‘जेन जी आन्दोलन’को समयमा समेत ठूलो रकम लिएर विभिन्न सवारी साधनलाई परीक्षण विना जाँचपास गरिएको आरोप छ। प्रदेश १ अन्तर्गतका विभिन्न नम्बर प्लेट भएका ट्रकहरू तथा अन्य सवारी साधन कार्यालयमा उपस्थित नै नगराई प्रमाणपत्र दिइएको बताइएको छ।

त्यस्तै, फागुन २८ गते मात्र पनि केही सवारी साधनलाई ‘सेटिङ’का आधारमा परीक्षण नगरी जाँचपास गरिएको दाबी गरिएको छ। ती सबै प्रमाणहरू सम्बन्धित स्रोतसँग सुरक्षित रहेको जनाइएको छ।

कानुन विपरीत कार्य

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ९० अनुसार सार्वजनिक सवारी साधनको यान्त्रिक अवस्था परीक्षण गरी मात्र जाँचपास प्रमाणपत्र दिनुपर्ने व्यवस्था छ। तर, उक्त कार्यालयमा गाडी अन्यत्र चलिरहेको, बिग्रिएको वा दुर्घटनामा परेको अवस्थामै ‘ठिक’ भन्दै प्रमाणपत्र जारी गरिएको आरोप छ।

स्रोतका अनुसार गाडीधनीसँग कम्तीमा ५ हजार रुपैयाँदेखि बढी रकमसम्म लेखापढी व्यवसायमार्फत असुली गरी परीक्षण विना प्रमाणपत्र दिने गरिएको छ।

कार्यालयभित्रै सेटिङ, न्यून परीक्षण

कार्यालयमा हाल एक मात्र प्राविधिक कर्मचारी भएकाले मनोमानी बढेको बताइएको छ। दैनिक २० देखि ३० वटा सवारी साधनको जाँचपास प्रमाणपत्र जारी हुने गरेकोमा तीमध्ये ७ देखि १० वटा मात्र वास्तविक रूपमा कार्यालयमा उपस्थित हुने गरेका छन्।

अन्तरप्रदेश जाँचपास र रुट परमिटका लागि फाराम लेखापढीमार्फत भराई प्राविधिक शाखामा पुर्‍याइने र बिना परीक्षण हस्ताक्षर गरिने गरेको आरोप छ।

लामो समय एउटै स्थानमा कार्यरत

नियम अनुसार २ वर्षमा सरुवा हुनुपर्ने भए पनि सुरज केसी करिब ८ वर्षदेखि इलाममै कार्यरत छन्। उनी अन्य व्यक्तिको नाममा दर्ता भएको सवारी प्रयोग गर्ने गरेको समेत स्रोतले जनाएको छ।

क्युआरमार्फत घुस लेनदेनको आरोप

केसीले घुस रकम क्युआर कोडमार्फत समेत लिने गरेको आरोप छ। एनआइसी एशिया बैंकमा रहेको सुरेन्द्र कट्टेल नामको खातामार्फत रकम लिने गरिएको बताइएको छ।

त्यस्तै, अवैध आम्दानीबाट विभिन्न ठाउँमा जग्गा-जमिन जोड्नुका साथै मोरङको विराटचोकमा फेन्सी स्टोर सञ्चालन गरेको र झापा क्षेत्रमा रहेका क्यासिनोहरूमा आवतजावत गर्ने गरेको समेत स्रोतको दाबी छ।

आरोप अस्वीकार

यता, मेकानिकल सुपरभाइजर सुरज केसीले भने आफूमाथि लागेको आरोपलाई निराधार बताएका छन्। उनले संक्षिप्त प्रतिक्रिया दिँदै आरोपहरू अस्वीकार गरेका हुन्।

कार्यालय प्रमुख खगेन्द्र मैनालीले प्राविधिक विषयबारे आफूलाई जानकारी नभएको बताएका छन्। “यदि कानुन विपरीत कार्य भएको पुष्टि भए आवश्यक कारबाही गरिनेछ,” उनले भने।

सेवा प्रभावित

पूर्वी पहाडी जिल्लाका नागरिकलाई सहज सेवा दिन स्थापना गरिएको उक्त कार्यालयबाट सवारी चालक अनुमतिपत्र वितरण, नवीकरण, जाँचपास तथा रुट परमिट दिने काम हुँदै आएको छ। तर, अनियमितताका कारण सेवाको विश्वसनीयतामाथि प्रश्न उठेको छ।

प्रतिकृया दिनुहोस्

इलाम यातायात कार्यालयमा अनियमितता: परीक्षण विना सवारी जाँचपास, मोटो रकम असुलीको आरोप

काठमाडौँ-देशभरका सरकारी कार्यालयमा सुधार ल्याउने प्रयास भइरहेका बेला इलामस्थित यातायात व्यवस्था सेवा कार्यालयमा भने गम्भीर...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...